Newad1
Featured blog image

रसुवा नाकाको क्षतिपछि भन्सार सहजीकरण माग्दै नाडा प्रतिनिधिमण्डल

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रसुवाको बाढीबाट प्रभावित सवारी आयातकर्तालाई राहत तथा सहुलियत उपलब्ध गराउन भन्सार विभागसँग आग्रह गरेको छ । नाडाका अनुसार चीन सीमा क्षेत्रका भन्सार नखुल्दा पाँच सयभन्दा बढी सवारी साधन रोकिएका छन् ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले असोज ७ गते भन्सार विभागका महानिर्देशक यमलाल भुसालसँग भेट गरी बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको असरबारे छलफल गरेको हो । अध्यक्ष उप्रेतीले भदौ १० गते रसुवा र टिमुरेलगायत क्षेत्रमा आएको बाढीले चीनबाट आयात गरिएका धेरै सवारी रसुवा नाकामा बगाएको जानकारी गराउँदै पीडित आयातकर्ताका लागि सरकारबाट उपलब्ध हुने राहत छिटो कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

नाडाका महासचिव मिलनबाबु मल्लले चीन सीमा क्षेत्रमा पाँच सयभन्दा बढी सवारी रोकिएको उल्लेख गर्दै ती सवारीको भन्सार तथा आयात प्रक्रियामा सहजीकरण गर्न अनुरोध गरेका छन् । उनले ११ सिटे विद्युतीय माइक्रोबसहरू अहिलेसम्म भन्सारबाट नछुटेको जानकारी दिँदै त्यसमा पनि पहल गर्न आग्रह गरे ।

भन्सार विभागका महानिर्देशक भुसालले बाढीपीडित व्यवसायीलाई कस्तो सुविधा र सहुलियत दिने भन्ने मोडालिटीबारे अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयबीच गृहकार्य भइरहेको जानकारी दिएका छन् । राहतको स्वरूप, कार्यान्वयन विधि र समयसीमाबारे भने विज्ञप्तिमा थप विवरण दिइएको छैन ।

छलफलमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति र विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल तथा सचिव मेघराज पौडेल सहभागी थिए ।

footer