कान्ति र कुलेखानी सडकमा बेलुका ७ बजेपछि सवारी आवागमन पूर्ण बन्द
मकवानपुर । भारी वर्षासँगै बाढी र पहिरोको जोखिम बढ्ने पूर्वानुमानपछि कान्ति राजमार्ग तथा भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा रातिको सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज ९ गतेदेखि अर्को सूचना नआएसम्म दुवै सडकमा बेलुका ७ बजेपछि सवारी आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरेको हो ।
प्रशासनका अनुसार कान्ति राजमार्गमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मात्र चौघडाबाट काठमाडौंतर्फ सवारी प्रस्थान गर्न दिइनेछ । भैँसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौं जाने सवारीले पनि यही समयभित्र हेटौँडाको चौकीटोलबाट प्रस्थान गर्नुपर्नेछ ।
उक्त सडकखण्डबाट हेटौँडातर्फ आउने सवारीलाई बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म फाखेलको हुमाने र सिस्नेरीको रामचन्द्रभञ्ज्याङबाट प्रस्थान गर्न दिइने प्रशासनले जनाएको छ । साँझ ५ बजेपछि तोकिएका स्थानबाट नयाँ सवारी प्रस्थान गर्न पाइने छैन भने बेलुका ७ बजेपछि दुवै सडकमा आवागमन पूर्ण बन्द हुनेछ ।
जल तथा मौसम विज्ञान विभागले असोज ५ गते जारी गरेको विशेष मौसमी बुलेटिनमा असोज ९ देखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना औँल्याएको थियो । त्यसबाट सडकमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले असोज ७ गते सवारी सञ्चालनको समय तोकेको हो ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई निर्धारित समयभित्र मात्र यात्रा गर्न र मौसम तथा सडकको अवस्था बुझेर निस्कन आग्रह गरेको छ । रोक अर्को सूचना जारी नभएसम्म कायम रहने भएकाले यो सडक प्रयोग गर्ने यात्रुले प्रस्थान समय मिलाउनुपर्नेछ ।