Newad1
Featured blog image

ईभी कर्जामा सहज नीति, ब्याट्रीको बीमामा भने ५० प्रतिशत मूल्यह्रास

काठमाडौं । गाडी खरिदका लागि आवश्यक रकम जुटाउन पहिलेभन्दा सहज बन्दै गएको छ । बैंक तथा हायर पर्चेज कम्पनीले प्रक्रिया छोट्याउँदै कर्जा विस्तार गरिरहँदा युवा, महिला र उपत्यकाबाहिरका ग्राहकसमेत नयाँ सवारी किन्ने योजनामा जोडिन थालेका छन् ।

तर, कर्जाको पहुँच विस्तारसँगै ऋणीको भुक्तानी क्षमता, बैंकको जोखिम, बीमा दाबीको प्रक्रिया र विद्युतीय गाडीको ब्याट्रीमा हुने मूल्यह्रासबारे पनि बहस चर्किएको छ । अटो फाइनान्सिङलाई सहज बनाउँदा भविष्यमा आउन सक्ने जोखिमलाई बेवास्ता गर्न नहुने सरोकारवालाको धारणा छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा आयोजित ‘वित्त र बीमामार्फत गतिशीलता’ विषयक नाइमा मोबिलिटी संवादमा बैंक, बीमा, नियामक निकाय तथा हायर पर्चेज कम्पनीका प्रतिनिधिले कर्जा विस्तार र जोखिम व्यवस्थापन सँगसँगै अघि बढाउनुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीका अनुसार हाल विद्युतीय सवारीमा मूल्यको ८० प्रतिशत र पेट्रोलियम सवारीमा ६० प्रतिशतसम्म कर्जा लिन सकिने व्यवस्था छ । विद्युतीय सवारीलाई हरित वित्तीय प्रणालीमा समेटिएकाले कर्जाको अनुपात केही सहज बनाइएको उनको भनाइ छ ।

सुवेदीले ब्याजदर बढ्दा ऋणीमाथि थप आर्थिक दबाब पर्ने र किस्ता भुक्तानी प्रभावित हुन सक्ने भएकाले कर्जाको अनुपात नियन्त्रण आवश्यक रहेको बताए । कर्जा चुक्ता नभए ऋणीसँगै बैंक र सवारी आयातकर्ता पनि समस्यामा पर्ने भएकाले जोखिम हेरेर नीति बनाइएको उनले स्पष्ट पारे ।

देशभर बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको करिब ६० खर्ब रुपैयाँ कर्जामध्ये हायर पर्चेजतर्फ १ खर्ब ४२ अर्ब रुपैयाँ लगानी भएको छ । यो कर्जा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्क छ । खराब कर्जाको हिस्सा कम भएकाले बैंकहरू सानो नाफामा समेत सवारी कर्जा दिन इच्छुक देखिएको सुवेदीले बताए ।

हायर पर्चेज कम्पनीहरूले भने नियमित बैंकिङ प्रक्रियामा सहज पहुँच नभएका तथा सानो आकारको कर्जा खोज्ने ग्राहकलाई प्राथमिकता दिइरहेका छन् । हुलास फिनसर्भका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरका अनुसार यस्ता कम्पनीले हालसम्म करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन् ।

पछिल्लो समय प्रवाह भएको हायर पर्चेज कर्जामध्ये करिब ८० प्रतिशत सवारी साधन र बाँकी २० प्रतिशत मोबाइल खरिदमा गएको छ । आवश्यक कागजात पूरा भएका ग्राहकले केही घण्टामै कर्जा पाउन सक्ने भएकाले यस्तो वित्तीय सेवाप्रति आकर्षण बढेको ठाकुरको भनाइ छ ।

अटो कर्जाको ग्राहक संरचना पनि फेरिँदै गएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख बजार अधिकृत राजा अर्यालका अनुसार हाल सवारी कर्जा लिने करिब ६० प्रतिशत ग्राहक ४० वर्षभन्दा कम उमेरका छन् । महिला ग्राहकको सहभागिता बढ्नुका साथै काठमाडौं केन्द्रित कर्जा क्रमशः बाहिरका सहरमा समेत विस्तार भइरहेको छ ।

बीमातर्फ भने दाबी भुक्तानी जटिल हुने आम बुझाइ अझै कायम छ । एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले आवश्यक प्रमाण, क्षतिको सही विवरण र कागजात पूरा भए दाबी फर्छ्योट सहज हुने बताए । दाबी कुन चरणमा पुगेको छ भन्ने जानकारी विद्युतीय विवरण पाटीमार्फत देखाउने व्यवस्था अघि बढाइएको पनि उनले जानकारी दिए ।

विद्युतीय गाडीको बीमामा ब्याट्रीसम्बन्धी व्यवस्था विशेष चासोको विषय बनेको छ । पन्तका अनुसार बीमा दाबी गर्दा ब्याट्रीको मूल्यमा ५० प्रतिशतसम्म मूल्यह्रास कटौती हुन सक्छ । महँगो ब्याट्री भएका विद्युतीय गाडीका ग्राहकले बीमा गराउँदा यससम्बन्धी सर्त स्पष्ट रूपमा बुझ्नुपर्ने देखिन्छ ।

सवारी कर्जाको बजार विस्तारले नयाँ ग्राहकलाई निजी यातायातमा पहुँच दिए पनि सहज कर्जासँगै जिम्मेवार ऋण प्रवाह, स्पष्ट बीमा सर्त र पारदर्शी दाबी प्रक्रिया आवश्यक छ । बैंक, बीमा कम्पनी, सवारी व्यवसायी र ग्राहकबीच समन्वय बलियो हुन सके मात्र अटो फाइनान्सिङको विस्तार दीर्घकालीन र सुरक्षित बन्नेछ ।

footer