कम मूल्य कि लामो रेन्ज ? बजाज चेतकका दुई नयाँ विकल्प सार्वजनिक
काठमाडौं । विद्युतीय स्कुटर किन्ने तयारीमा रहेका ग्राहकका लागि नेपाली बजारमा मूल्य र यात्राको आवश्यकताअनुसार रोज्न मिल्ने दुई नयाँ विकल्प थपिएका छन् । एउटाले सहरभित्रको दैनिक यात्रालाई प्राथमिकता दिएको छ भने अर्कोले लामो रेन्ज र बढी भण्डारण क्षमतामा जोड दिएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा बजाज चेतकका सी२५०१ र सी३५०३ मोडल सार्वजनिक गरिएको हो । नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारीको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दुवै स्कुटरको बिक्री मूल्यसमेत घोषणा गरेको छ ।
चेतक सी२५०१ को मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ राखिएको छ । यसमा २.५ किलोवाट घण्टा क्षमताको ब्याट्री छ, जसले प्रमाणित आईडीसी मापदण्डअनुसार एकपटकको चार्जमा ११३ किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर छ ।
यो स्कुटरको ब्याट्री शून्यदेखि ८० प्रतिशतसम्म चार्ज हुन २ घण्टा २५ मिनेट लाग्ने कम्पनीले जनाएको छ । यसमा रङ्गीन एलसीडी पर्दा, ब्लुटुथ जडान, सङ्गीत नियन्त्रण, पछाडि चलाउने सुविधा र सिटमुनि २५ लिटरको भण्डारण स्थान दिइएको छ ।
लामो दूरी र बढी व्यावहारिकता खोज्ने ग्राहकका लागि ल्याइएको चेतक सी३५०३ को मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यसको ३.५ किलोवाट घण्टा क्षमताको ब्याट्रीले एकपटकको चार्जमा १५१ किलोमिटरसम्मको यात्रा गर्न सक्ने दाबी गरिएको छ । स्कुटरको अधिकतम गति प्रतिघण्टा ७० किलोमिटर छ ।
सी३५०३ मा डिजिटल एलसीडी पर्दा, ब्लुटुथ जडान तथा फोन र सन्देशको सूचना देखाउने सुविधा पाइन्छ । सिटमुनि ३५ लिटरको भण्डारण क्षमता भएकाले दैनिक यात्रासँगै सामान बोक्नुपर्ने प्रयोगकर्ताका लागि यो मोडल उपयोगी देखिन्छ ।
हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले गत वर्ष चेतकले पाएको प्रतिक्रियापछि फरक आवश्यकता भएका ग्राहकलाई लक्षित गर्दै नयाँ मोडल ल्याइएको बताएका छन् ।
नेपालमा विद्युतीय स्कुटरको बजार विस्तार भइरहेका बेला चेतकका यी दुई मोडलले ग्राहकलाई मूल्य, रेन्ज र सुविधाका आधारमा छुट्टाछुट्टै विकल्प दिएका छन् । दुवै स्कुटर छनोट गरिएका बजाज विक्रेतामार्फत बुकिङका लागि उपलब्ध गराइएको छ ।