Newad1
Featured blog image

नयाँ सार्वजनिक सवारीमा रोक कायमै, पुराना आयातित गाडी मात्र दर्ता हुने

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधन दर्तामाथि लगाएको रोकमा आंशिक सहजीकरण गरेको छ। विभागले जेठ ८ गतेअघि प्रतितपत्र (एलसी) खोली आयात प्रक्रिया अघि बढाइ नेपाल भित्र्याइसकेका सार्वजनिक सवारीसाधन दर्ता गर्न अनुमति दिएको हो ।

विभागले सोमबार सातै प्रदेश सरकार तथा स्थानीय तहलाई परिपत्र जारी गर्दै रोक्का गर्ने निर्णयअघि नै प्रक्रियामा रहेका सार्वजनिक सवारीसाधनको दर्ता गर्न सकिने स्पष्ट पारेको छ। विभागका अनुसार जेठ ८ गते वा सोभन्दा अघि एलसी खोलेर आयात प्रक्रिया सुरु गरिएका र नेपाल भित्रिसकेका सार्वजनिक सवारीसाधनका कागजात परीक्षणपछि दर्ता गर्न कुनै बाधा हुने छैन ।

यसअघि विभागले वैशाख ७ गते सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेको, बढ्दो वायु प्रदूषण, ट्राफिक जाम तथा सवारी चापलाई कारण देखाउँदै नयाँ सार्वजनिक सवारीसाधन दर्ता स्थगित गर्न प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको थियो ।

विभागका निर्देशक मणिराम भुसालका अनुसार यो निर्णय सबै नयाँ सार्वजनिक सवारीसाधनमा लागू हुने छैन। रोक्का गर्ने निर्णयअघि नेपाल भित्रिएका तथा प्रक्रियामा रहेका सवारीसाधनको हकमा मात्र दर्ता खुला गरिएको हो। जेठ ८ पछाडि आयात गरिएका सार्वजनिक सवारीसाधनबारे भने हालसम्म कुनै नयाँ निर्णय भएको छैन ।

हाल बागमती प्रदेशमा सार्वजनिक सवारी दर्ता नियमित रूपमा भइरहे पनि अन्य प्रदेशमा संघीय सरकारको निर्देशनअनुसार दर्ता रोकिएको अवस्था छ। बागमती प्रदेशले यसअघि नै आफ्ना मातहतका यातायात कार्यालयलाई सार्वजनिक सवारी दर्ता जारी राख्न निर्देशन दिएको थियो ।

विभागले सार्वजनिक यातायात व्यवस्थापन, वायु प्रदूषण नियन्त्रण, इन्धन खर्च न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन दर्ता रोक्का गर्ने नीति अझै कायम रहेको जनाएको छ ।

footer