मार्चमा बेइजिङ, अप्रिलमा सांघाई—सन् २०२७ मा चीनका दुई अटो शो
बेइजिङ । विश्व अटो उद्योगको ध्यान तान्ने चीनका दुई ठूला प्रदर्शनीको आगामी कार्यतालिकाबारे महिनौँदेखि चलेको अन्योल अन्ततः हटेको छ । लगातार दुई वर्ष प्रदर्शनी हुने भए पनि यसको स्वरूप भने पहिले अनुमान गरिएजस्तो नहुने भएको हो ।
सन् २०२६ को अप्रिलमा पूर्ण आकारको अटो शो आयोजना गरेको बेइजिङले सन् २०२७ को मार्चमा फेरि प्रदर्शनी गर्नेछ । तर आगामी कार्यक्रम नियमित पूर्ण आकारको अटो शो नभई निश्चित विषयमा केन्द्रित विशेष थिमको प्रदर्शनी हुनेछ ।
बेइजिङको पूर्ण आकारको अटो शो वार्षिक हुने छैन । यसअघिकै व्यवस्थाअनुसार जोर वर्षमा बेइजिङ र बिजोर वर्षमा सांघाईले पूर्ण आकारको अन्तर्राष्ट्रिय अटो शो आयोजना गर्नेछन् । त्यसअनुसार सन् २०२७ को मुख्य प्रदर्शनी सांघाईमै हुनेछ ।
सांघाई काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेडको अटोमोटिभ शाखाबीच सेप्टेम्बर ३ मा भएको समन्वय बैठकले यस्तो सहमति गरेको हो । दुवै पक्षले विभिन्न चरणको छलफलपछि प्रदर्शनी नजुधाउने र उद्योगका स्रोतसाधन व्यवस्थित रूपमा परिचालन गर्ने निर्णय गरेका छन् ।
सीएनईभीपोस्टले सार्वजनिक गरेको विवरण अनुसार सन् २०२७ को बेइजिङ प्रदर्शनीको निश्चित थिम, आकार र विस्तृत कार्यतालिका भने अझै सार्वजनिक गरिएको छैन ।
यसअघि सामाजिक सञ्जालमा फैलिएको एउटा कार्यतालिकामा बेइजिङ अटो शो मार्च २७ देखि अप्रिल ५ सम्म सञ्चालन हुने र अबदेखि वार्षिक रूपमा आयोजना गरिने उल्लेख थियो । त्यसपछि विभिन्न सञ्चारमाध्यमले समेत बेइजिङ र सांघाईका पूर्ण आकारका अटो शो एउटै वर्ष हुने समाचार प्रकाशित गरेका थिए ।
पछिल्लो सहमतिले त्यस्तो अनुमानलाई असत्य साबित गरेको छ । बेइजिङमा सन् २०२७ मा प्रदर्शनी अवश्य हुनेछ, तर यसलाई पूर्ण आकारको नियमित अटो शो मानिने छैन ।
बेइजिङ र सांघाई अटो शो सन् २००३ देखि पालैपालो हुँदै आएका छन् । सांघाईले बिजोर वर्ष र बेइजिङले जोर वर्षमा आयोजना गर्ने व्यवस्थाका कारण विश्वका ठूला गाडी उत्पादकले आफ्ना नयाँ मोडल, कन्सेप्ट र प्रविधि प्रदर्शन गर्न फरक–फरक वर्षमा यी मञ्च प्रयोग गर्दै आएका छन् ।
चीनमा सार्वजनिक हुने नयाँ गाडी छोटो समयमै नेपाली बजारमा समेत आउन थालेकाले यी प्रदर्शनी नेपालका लागि पनि महत्त्वपूर्ण छन् । नेपाली बजारमा सक्रिय चिनियाँ ब्रान्डका आगामी मोडल, ब्याट्री प्रविधि, स्मार्ट ड्राइभिङ फिचर तथा नयाँ प्लेटफर्मबारे प्रारम्भिक संकेत प्रायः यिनै अटो शोबाट पाइन्छ ।
विशेष थिममा आधारित बेइजिङ प्रदर्शनीले कुनै निश्चित प्रविधि वा अटो उद्योगको क्षेत्रलाई प्राथमिकता दिन सक्ने भए पनि त्यसको औपचारिक विवरण आउन बाँकी छ । पूर्ण आकारका प्रदर्शनीको पुरानै पालो कायम रहँदा कम्पनीहरूले एउटै वर्ष दुई ठूला प्रदर्शनीमा गर्नुपर्ने भारी खर्च र तयारीको दबाबसमेत टरेको छ ।