विद्युतीय युगमा बेन्टलीको प्रवेश, पहिलो ईभी एसयूभी ‘टोर्कल’ सेप्टेम्बरमा अनावरण हुने
बेलायती लक्जरी अटोमोबाइल निर्माता बेन्टली ले आफ्नो पहिलो पूर्ण विद्युतीय उत्पादन मोडलको नाम सार्वजनिक गरेको छ । कम्पनीले नयाँ इलेक्ट्रिक एसयूभीको नाम ‘टोर्कल’ राखेको हो, जसको विश्वव्यापी अनावरण आगामी सेप्टेम्बर २३ मा लन्डनमा हुनेछ । यो मोडललाई बेन्टलीको १०६ वर्षे इतिहासको सबैभन्दा महत्वपूर्ण परियोजनामध्ये एक मानिएको छ ।
टोर्कल बेन्टलीको चौथो मुख्य मोडल लाइन हुनेछ । हाल कम्पनीको पोर्टफोलियोमा बेन्टायगा, कन्टिनेन्टल जीटी र फ्लाइङ स्पर रहेका छन् । नयाँ मोडलमार्फत कम्पनीले विद्युतीय सवारीको युगमा औपचारिक प्रवेश गर्दै आफ्नो परम्परागत लक्जरी, हस्तकला र उच्च प्रदर्शनलाई आधुनिक विद्युतीय प्रविधिसँग जोड्ने तयारी गरेको हो ।
कम्पनीका अनुसार टोर्कललाई ठूलो आकारको बेन्टायगाभन्दा सानो ‘लक्जरी अर्बन एसयूभी’ का रूपमा विकास गरिएको छ । यसले शहरभित्र सहज रूपमा चलाउन मिल्ने आकार, प्रिमियम सुविधा र बेन्टलीको विशिष्ट डिजाइनलाई एकैसाथ समेट्नेछ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टोर्कलको लम्बाइ पाँच मिटरभन्दा कम हुनेछ, जसले यसलाई बेन्टलीकै सबैभन्दा सानो एसयूभी बनाउनेछ । यसले प्रिमियम विद्युतीय एसयूभी बजारमा पोर्शे, मर्सिडिज–बेन्जलगायतका प्रतिस्पर्धी ब्रान्डसँग सीधा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
‘टोर्कल’ नाम स्पेनको दक्षिणी क्षेत्रमा रहेको प्रसिद्ध प्राकृतिक चट्टानी क्षेत्र एल टोर्कल डे आन्टेकेरा बाट प्रेरित भएर राखिएको कम्पनीले जनाएको छ । साथै, यसको नाम ल्याटिन शब्द ‘टोर्क्वेरे’ बाट पनि प्रभावित रहेको बताइएको छ, जसको अर्थ घुमाउनु वा मोड्नु हो । कम्पनीका अनुसार यसले विद्युतीय मोटरबाट तुरुन्त प्राप्त हुने उच्च टर्क लाई समेत संकेत गर्छ ।
यद्यपि कम्पनीले विस्तृत प्राविधिक विवरण सार्वजनिक गरेको छैन, उद्योग स्रोतका अनुसार टोर्कल फक्सवागेन समूहको प्रिमियम प्लेटफर्म इलेक्ट्रिक (पीपीई) प्लेटफर्ममा आधारित हुनेछ । आगामी पोर्शे कायेन इलेक्ट्रिक सँग यसको केही इन्जिनियरिङ प्रविधि साझा हुने अपेक्षा गरिएको छ ।
यसमा ८०० भोल्ट विद्युतीय प्रणाली, अल्ट्रा–फास्ट चार्जिङ, एक पटकको चार्जमा ४८० किलोमिटरभन्दा बढी रेन्ज, नयाँ पुस्ताको डिजिटल ककपिट तथा परम्परागत हस्तनिर्मित लक्जरी इन्टेरियर उपलब्ध हुने अनुमान गरिएको छ । मोटरको क्षमता, पावर आउटपुट र अन्य प्राविधिक विवरण भने सेप्टेम्बरमा हुने औपचारिक अनावरणकै क्रममा सार्वजनिक गरिनेछ ।
टोर्कल केवल नयाँ मोडल मात्र नभई बेन्टलीको विद्युतीय भविष्यतर्फको पहिलो ठोस कदम पनि हो । कम्पनीले यसअघि सन् २०३५ सम्म पूर्ण रूपमा विद्युतीय ब्रान्ड बन्ने लक्ष्य सार्वजनिक गरिसकेको छ । यही रणनीतिअन्तर्गत आगामी वर्षहरूमा थप विद्युतीय मोडलहरू बजारमा ल्याउने योजना पनि कम्पनीको छ ।
विश्वभर प्रिमियम विद्युतीय एसयूभीको माग तीव्र रूपमा बढिरहेका बेला टोर्कलले बेन्टलीलाई नयाँ ग्राहक समूहसम्म पुग्न मद्दत गर्ने अपेक्षा गरिएको छ । नेपालजस्ता बजारमा यस्ता अति–लक्जरी मोडल सीमित ग्राहकका लागि मात्र उपयुक्त भए पनि यसले विश्व अटोमोबाइल उद्योग कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने स्पष्ट संकेत भने दिनेछ ।