बाढीले बगाएका व्यावसायिक गाडी पुनः आयात गर्दा भन्सार छुट, नाडाले गर्यो स्वागत
काठमाडौँ । भोटेकोशी बाढीबाट ठूलो क्षति बेहोरेका व्यवसायीलाई फेरि कारोबारमा फर्काउने गरी सरकारले अघि सारेको विशेष प्याकेजले अटोमोबाइल तथा ढुवानी क्षेत्रमा राहतको आशा जगाएको छ । क्षतिग्रस्त गाडी र उपकरण प्रतिस्थापनदेखि कर्जाको दबाब घटाउनेसम्मका व्यवस्था प्याकेजमा समेटिएका छन् ।
सरकारले बाढी प्रभावित उद्योग, व्यापार तथा व्यवसायका लागि भन्सार र कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजमा सहुलियत, थप कर्जा र बिमा दाबी भुक्तानी सहजीकरण गर्ने निर्णय गरेको हो ।
पूर्ण रूपमा क्षतिग्रस्त वा बाढीले बगाएका व्यावसायिक सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिको अर्को साधन आयात गर्दा भन्सार महसुल छुट दिने व्यवस्था गरिएको छ । क्षति पुगेका मेसिनरी तथा उपकरण पुनः आयात गर्दा पनि सहुलियत उपलब्ध गराइनेछ ।
सरकारको निर्णयप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्वागत जनाएको छ । भन्सार छुटको व्यवस्थाले बाढीबाट गाडी गुमाएका अटोमोबाइल तथा ढुवानी व्यवसायीलाई कारोबार पुनः सञ्चालन गर्न ठूलो राहत पुग्ने नाडाको विश्वास छ ।
कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण र ब्याजमा दिइने सहुलियतले प्रभावित व्यवसायीमाथिको तत्कालीन वित्तीय दबाब घटाउने अपेक्षा गरिएको छ । क्षतिग्रस्त सवारी तथा उपकरण पुनः खरिद गर्न थप कर्जा उपलब्ध गराउने व्यवस्थाले व्यवसायको निरन्तरतामा सहयोग पुग्ने नाडाले जनाएको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपद्पछि निजी क्षेत्रलाई पुनः उभ्याउन कर, भन्सार, कर्जा, ब्याज र बिमालाई एकीकृत रूपमा सम्बोधन गर्ने निर्णय सकारात्मक रहेको बताएका छन् । उनका अनुसार यो प्याकेजले प्रभावित व्यवसायीलाई पुनः कारोबारमा फर्किने आधार तयार गर्नेछ ।
नाडाले घोषित सुविधा कागजी निर्णयमा सीमित नराखी शीघ्र, सरल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । वास्तविक क्षतिको विस्तृत अध्ययनपछि आवश्यकता देखिए दोस्रो चरणको पुनरुत्थान प्याकेजसमेत ल्याउनुपर्ने नाडाको माग छ ।