बाढीले टुटाएको सडक सम्बन्ध जोड्न सेना, प्रहरी र सशस्त्र मैदानमा
काठमाडौं । भोटेकोशीमा आएको बाढीले रसुवादेखि चितवनसम्मको सडक करिडोरमा रहेका ६३ मध्ये ४१ वटा सवारीयोग्य पुल नष्ट गरेपछि प्रभावित क्षेत्रमा अस्थायी सडक सम्पर्क पुनःस्थापना गर्न तीनवटै सुरक्षा निकाय परिचालित भएका छन् ।
सरकारले भदौ ३० गते सार्वजनिक
गरेको विवरणअनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले सडक तथा पुलको
सम्पर्क टुटेका स्थानमा अस्थायी ट्र्याक खोल्ने, आवतजावत सहज बनाउने र आवश्यक
उपकरण पुर्याउने काममा सहयोग गरिरहेका छन् । बाढीले चारवटा पुलमा थप क्षति पुर्याएको
छ भने करिडोरका १८ वटा पुल मात्र सुरक्षित रहेको सडक विभागको तथ्याङ्क छ ।
अगस्ट २६ अर्थात् भदौ १० गते आएको
बाढीले रसुवा, नुवाकोट र धादिङसहित तल्लो तटीय क्षेत्रमा सडक तथा पुल बगाएको थियो
। यसबाट जिल्लाबीचको आवागमनसँगै रसुवागढी नाका जोड्ने प्रमुख व्यापारिक मार्गसमेत
अवरुद्ध भएको छ ।
सडक विभागले क्षतिग्रस्त सडकमा
नयाँ ट्र्याक खोल्ने र अस्थायी पुल जडान गर्न सकिने स्थानसम्म पहुँच पुर्याउने
काम गरिरहेको छ । नेपाली सेनाले नुवाकोटको देवीघाटमा अस्थायी स्टिल पुल जडान गर्ने
जिम्मेवारी लिएको छ भने अन्य स्थानमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ ।
ठाउँ–ठाउँमा सडक नै बगेकाले
बेलिब्रिज र निर्माण उपकरण क्षतिग्रस्त स्थानसम्म पुर्याउन समस्या भइरहेको सरकारी
अधिकारीहरूले बताएका छन् । तत्कालको प्राथमिकता स्थायी पुल निर्माणभन्दा अस्थायी
ट्र्याक र पुलबाट स्थानीय आवागमन तथा राहत ढुवानी सञ्चालन गर्नु रहेको छ ।
रसुवागढी नाकासम्म नियमित रूपमा
मालवाहक सवारी पुग्ने अवस्था तयार हुन भने अझै समय लाग्ने देखिन्छ । अस्थायी
संरचनाबाट सम्पर्क जोडिए पनि बाढीले क्षति पुर्याएका सडक र पुलको स्थायी
पुनर्निर्माणपछि मात्रै यो व्यापारिक मार्ग पूर्ण रूपमा सामान्य हुन सक्नेछ ।