Newad1
Featured blog image

भारतमा एसेम्बल भएर आयो बीएमडब्ल्यू आई५, आयातित मोडलभन्दा निकै सस्तो

काठमाडौँ । लक्जरी गाडीमा अगाडिभन्दा पछाडिको सिटमा बसेर यात्रा गर्ने ग्राहकलाई केन्द्रमा राखिएको नयाँ इलेक्ट्रिक सेडान छिमेकी बजारमा आइपुगेको छ । लामो ह्विलबेस, फराकिलो क्याबिन र आरामदायी सस्पेन्सन यसको मुख्य आकर्षण बनेका छन् ।

बीएमडब्ल्यूले भारतमा आई५ लङ ह्विलबेसलाई ७९ लाख ६० हजार भारुको प्रारम्भिक एक्स–शोरुम मूल्यमा सार्वजनिक गरेको हो । चेन्नईस्थित प्लान्टमा एसेम्बल हुने यो भारतमै उत्पादन गरिएको कम्पनीको पहिलो इलेक्ट्रिक सेडान हो ।

यसको बुकिङ यसअघि नै खुलिसकेको थियो भने डेलिभरी पनि सार्वजनिक भएकै दिनबाट सुरु गरिएको छ । नियमित मोडलसँग समान मूल्यमा ल्याइएको ९९ युनिटको सीमित पहिलो संस्करण भने औपचारिक लन्चअघि नै बिक्री भइसकेको छ ।

६६९ किलोमिटर रेन्जको दाबी

भारतीय बजारमा आई५ ईड्राइभ३५एल एम स्पोर्ट भेरियन्टमा उपलब्ध छ । यसमा ८१.६ किलोवाट आवरको ब्याट्री र पछाडिको पाङ्ग्रा चलाउने एउटा इलेक्ट्रिक मोटर छ । मोटरले २६८ हर्सपावर र ४१० न्युटनमिटर टर्क उत्पादन गर्छ ।

गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.७ सेकेन्डमा समात्छ भने अधिकतम गति प्रतिघण्टा १९५ किलोमिटर छ । एमआईडीसी परीक्षणअनुसार यसको अधिकतम रेन्ज ६६९ किलोमिटर दाबी गरिएको छ । वास्तविक रेन्ज भने गति, तापक्रम, बाटो र एयर कन्डिसनिङको प्रयोगअनुसार फरक हुन सक्छ ।

यसले १६० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । उपयुक्त चार्जरबाट ब्याट्री १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३३ मिनेट लाग्ने कम्पनीको दाबी छ । यसमा ११ किलोवाटको एसी चार्जिङ पनि उपलब्ध छ ।

पछाडिका यात्रुलाई बढी ठाउँ

आई५को लम्बाइ पाँच हजार १७५ मिलिमिटर र ह्विलबेस तीन हजार १०५ मिलिमिटर छ । स्ट्यान्डर्ड आई५भन्दा यो ११५ मिलिमिटर लामो छ भने ह्विलबेस ११० मिलिमिटर बढाइएको छ । यसबाट विशेषगरी पछाडिका यात्रुले बढी ठाउँ पाउँछन् ।

भारतीय सडकलाई ध्यानमा राखेर ग्राउन्ड क्लियरेन्स बढाउनुका साथै एडाप्टिभ रियर–एक्सल एयर सस्पेन्सन राखिएको छ । यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले, १४.९ इन्चको टचस्क्रिन, फोर–जोन क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट, प्यानोरमिक ग्लास रुफ तथा १७ स्पिकरको अडियो सिस्टम छन् ।

सुरक्षातर्फ आठ एयरब्याग, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, फ्रन्ट कोलिजन वार्निङ, ३६० डिग्री क्यामेरा र रिमोट पार्किङलगायत सुविधा दिइएको छ ।

भारतमा उत्पादन भएको आई५ आयातित उच्च क्षमताको आई५ एम६० भन्दा करिब ४० लाख भारु सस्तो छ । स्थानीय एसेम्बलीले भविष्यमा नेपालका लागि सोर्सिङ र उपलब्धता सहज बनाउन सक्ने भए पनि नेपाल लन्च वा मूल्यबारे अहिलेसम्म आधिकारिक घोषणा भएको छैन ।

footer