Newad1
Featured blog image

नेक्स्ट-जेन प्रविधि र ९१९ किमी रेन्ज: लग्जरी ईभी बजारमा बीएमडब्ल्यूको ठूलो धमाका

काठमाडौं । अटोमोबाइल बजारमा इलेक्ट्रिक गाडीहरूको प्रतिस्पर्धा उत्कर्षमा पुगेका बेला एउटा यस्तो नयाँ मोडल सार्वजनिक भएको छ, जसले रेन्ज र स्पीड चार्जिङको दायरालाई अर्कै उचाइमा पुर्‍याइदिएको छ ।

एकपटकको पूर्ण चार्जमा हजार किलोमिटर नजिकको दूरी तय गर्न सक्ने र मिनेटभरको चार्जिङमै सयौँ किलोमिटर हुइँकिन सक्ने यो नयाँ प्रविधिले ईभी पारखीहरूमाझ ठूलो कौतूहल जगाएको छ ।

अझ रोचक कुरा त के छ भने, यस गाडीमा अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली र भविष्यमुखी डिजाइनको यस्तो दुर्लभ मिश्रण गरिएको छ, जसले डिजिटल ड्राइभिङको अनुभवलाई पूर्ण रूपमा बदलिदिने दाबी गरिएको छ ।

९१९ किलोमिटरको अविश्वसनीय रेन्ज

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले भर्खरै सार्वजनिक गरेको ऊर्जा खपत विवरण अनुसार यो नयाँ मोडलले सीएलटीसी मापदण्ड अनुसार एकपटकको फुल चार्जमा ९१९ किलोमिटरको रेन्ज दिन्छ।

यसको ऊर्जा खपत दर प्रति १०० किलोमिटरमा जम्मा १३.६ किलोवाट आवर मात्र रहेको छ। गाडीमा ८०० भोल्टको हाइ-भोल्टेज आर्किटेक्चर प्रयोग गरिएको छ ।

यसमा ठूला सिलिन्ड्रिकल ब्याट्री र सेल-टु-प्याक (सीटीपी) प्रविधि अपनाइएको छ, जसले गर्दा अघिल्लो मोडलको तुलनामा:

  • ऊर्जा घनत्व २० प्रतिशतले बढेको छ ।

  • रेन्जमा ३० प्रतिशतको वृद्धि भएको छ ।

  • चार्जिङ दक्षता ३० प्रतिशतले सुधारिएको छ ।

यो गाडीले जम्मा १० मिनेटको फास्ट चार्जिङमै ४०० किलोमिटरसम्मको रेन्ज पुनः प्राप्त गर्न सक्छ। यसको कुल पावर आउटपुट ३५१ किलोवाट (४७७ हार्सपावर) रहेको छ ।


एआई र आधुनिक इन्फोटेनमेन्टको संगम

यस मोडलको सबैभन्दा ठूलो आकर्षण यसको इन्टेरियर र डिजिटल प्रविधि हो। गाडीको ड्यासबोर्डमा १७.९ इन्चको हाई-डेफिनेसन टचस्क्रीन राखिएको छ, जुन चालकतिर १७.५ डिग्री ढल्किएको छ ।

गाडीको विन्डस्किनमा अल्ट्रा-सर्ट-थ्रो प्रोजेक्सन प्रविधिमार्फत ४० इन्च बराबरको ४K हाई-डेफिनेसन 'प्यानोरमिक भिजुअल ब्रिज' र ३डी हेड-अप डिस्प्ले देखिन्छ ।

यसमा प्रयोग गरिएको एआई र सफ्टवेयरका मुख्य विशेषताहरू यस प्रकार छन्:

  • आर्टिफिसियल इन्टेलिजेन्स: अलिबाबाको एआई मोडल र दीपसीकको तर्क क्षमता (रिजनिङ) एकीकृत गरिएको छ ।

  • स्मार्ट कनेक्टिभिटी: हुवावे हाइकार र एप्पल कारप्ले दुवैलाई पूर्ण रूपमा सपोर्ट गर्छ ।

  • स्वायत्त ड्राइभिङ: मोमेन्टासँगको सहकार्यमा निर्मित एन्ड-टु-एन्ड एआई मोडलले सहर तथा राजमार्गका जटिल सडक परिस्थितिमा सहजै काम गर्छ ।

जर्मन इन्जिनियरिङमा 'न्यु क्लास' डिजाइन

जर्मन अटोमोबाइल निर्माता कम्पनी बीएमडब्ल्यूले आफ्नो 'नोए क्लासे' (न्यु क्लास) डिजाइन ल्याङ्ग्वेजमा आधारित रहेर यो 'iX3 लङ-ह्विलबेस' मोडल तयार पारेको हो ।

गाडीको लम्बाई ४,८८५ एमएम, चौडाई १,८९५ एमएम, उचाइ १,६३५ एमएम र ह्विलबेस ३,००५ एमएम रहेको छ। यसमा ३डी इल्युमिनेटेड ग्रिल र 'एन्जेल आई' डिजिटल लाइट प्रयोग गरिएको छ ।

साथै, सुरक्षाका लागि डिजिटल र फिजिकल गरी दुवै मोडलबाट खुल्ने सेमी-हिडन ढोका र ट्रिपल-सेफ्टी प्रणाली जडान गरिएको छ ।


भित्री बनावट र सामान राख्ने क्षमता

यात्रीको आरामका लागि अगाडिको सिटमा इलेक्ट्रोनिक लेग-रेस्ट र पछाडिको सिटलाई अझ मोटो र लामो बनाइएको छ ।

सामान राख्नका लागि अगाडि र पछाडिको ट्रंक गरी कुल १,९०० लिटरसम्मको विशाल स्पेस उपलब्ध गराइएको छ ।

कम्पनीका अनुसार यो नयाँ ईभीको प्रि-सेल्स अगस्टमा हुने चेङ्दु अटो शोबाट सुरु हुनेछ भने यसको औपचारिक डेलिभरी यसै वर्षको चौथो त्रैमासिक (फोर्थ क्वार्टर) बाट सुरु हुनेछ ।


footer