पेट्रोल भर्नुभन्दा छिटो चार्ज हुने बिवाइडीको नयाँ सेडान ?
काठमाडौँ । विद्युतीय सवारीसाधनमा रेन्जको चिन्ता अझै धेरै ग्राहकको प्रमुख प्रश्न हो । तर अब एउटा नयाँ सेडानले त्यो प्रश्नलाई नै कमजोर बनाउने दाबी गर्दै बजारमा प्रवेशको तयारी थालेको छ । लामो दूरीको यात्रा गर्ने परिवारदेखि आरामदायी व्यावसायिक यात्राको विकल्प खोज्ने ग्राहकसम्मलाई लक्षित गरी तयार भइरहेको यो मोडलले चार्जिङ समयमै पनि नयाँ बहस सिर्जना गरेको छ ।
चिनियाँ सवारी उत्पादक बिवाइडीले आफ्नो नयाँ फ्ल्यागसिप सेडान ‘दा हान’को प्रारम्भिक झलक सार्वजनिक गरेको हो । कम्पनीको डायनेस्टी सेडान शृङ्खलाको सम्भावित शीर्ष मोडलका रूपमा हेरिएको यो गाडीमा नयाँ पुस्ताको फ्ल्यास चार्जिङ प्रविधि र ठूलो क्षमताको ब्याट्री प्रयोग हुने अपेक्षा गरिएको छ ।
सार्वजनिक डिजाइन स्केचमा नयाँ दा हानको अगाडिको भागलाई अझ चिल्लो र हावाको दबाब कम गर्ने शैलीमा तयार गरिएको देखिन्छ । बोनटको तल्लो भागमा स्पोइलरजस्तो संरचना राखिएको छ । अगाडिको भागमा देखिएको लाइडार युनिटले उन्नत चालक सहायता तथा स्वचालित ड्राइभिङसम्बन्धी सुविधा पाउन सक्ने संकेत गरेको छ ।
बिवाइडीका अनुसार यसमा १०२ किलोवाट घण्टाको लिथियम आइरन फस्फेट आधारित ब्लेड ब्याट्री प्रयोग हुन सक्छ । पछाडिका पांग्रामा शक्ति पठाउने संस्करणले चिनियाँ परीक्षण मापदण्डअनुसार एक हजार आठ किमिसम्म रेन्ज दिन सक्ने दाबी गरिएको छ ।
कम्पनीले यही ब्याट्री र फ्ल्यास चार्जिङ प्रणालीमार्फत पाँच मिनेटमै ब्याट्रीको चार्ज १० देखि ७० प्रतिशतसम्म पुर्याउन सकिने दाबी गरेको छ । त्यस्तै, नौ मिनेटभित्र १० देखि ९७ प्रतिशतसम्म चार्ज गर्न सकिने दाबीले सार्वजनिक चार्जिङ संरचना र लामो यात्राको अनुभवमा ठूलो परिवर्तन ल्याउन सक्ने देखिन्छ ।
प्रारम्भिक विवरणअनुसार एकल मोटर संस्करणमा ३७० किलोवाटको पछाडिचक्का ड्राइभ प्रणाली रहनेछ । दुई मोटर भएको संस्करणको संयुक्त शक्ति ५७० किलोवाटसम्म पुग्ने अपेक्षा छ । करिब ५.२६ मिटर लामो र २,५०० केजीभन्दा बढी तौलको यो सेडानलाई सहज गतिमा चलाउन यस्तो शक्तिशाली प्रणाली आवश्यक पर्ने अनुमान गरिएको छ ।
बिवाइडीले पछिल्ला वर्षमा साना सहरमुखी विद्युतीय कारदेखि अति लक्जरी सात सिटे एसयूभीसम्म आफ्नो मोडल विस्तार गरिरहेको छ । अप्रिलमा सार्वजनिक गरिएको दा ताङ एसयूभीले पहिलो २४ घण्टामै ३० हजारभन्दा बढी अग्रिम बुकिङ पाएको कम्पनीको दाबी थियो । त्यसपछि दा हान सेडानको तयारीले बिवाइडी अब लक्जरी लामो रेन्ज सेडान बजारमा पनि आक्रामक रूपमा उत्रिन लागेको संकेत गर्छ ।
तर एक हजार आठ किमिको रेन्ज चिनियाँ परीक्षण मापदण्डमा आधारित भएकाले वास्तविक प्रयोगमा त्यो दूरी कम हुन सक्छ । विश्वव्यापी परीक्षण मापदण्डमा यसको रेन्ज करिब ७५० किमिभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ ।
बिवाइडीले दा हानलाई आगामी महिना हुने चेङ्दु अटो शोमा पूर्ण रूपमा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । त्यसपछि यसको वास्तविक रेन्ज, मूल्य, सुरक्षा प्रविधि र अन्य बजारमा उपलब्धताको तस्वीर स्पष्ट हुनेछ ।