सिगलभन्दा ठूलो र शक्तिशाली नयाँ ह्याचब्याक ल्याउँदै बीवाईडी
काठमाडौं । साना विद्युतीय ह्याचब्याकमा आक्रामक रूपमा विस्तार भइरहेको बजारमा अब आकारमा केही ठूलो तर डल्फिनभन्दा पहुँचयोग्य अर्को विकल्प थपिने भएको छ । आकर्षक रेन्ज, बढी क्याबिन स्पेस र आधुनिक ड्राइभिङ असिस्टेन्स फिचरमा केन्द्रित यो गाडी यसै वर्ष सार्वजनिक गर्ने तयारी छ ।
बीवाईडीले चीनमा
नयाँ विद्युतीय ह्याचब्याक ‘ग्रेट सिगल’ सार्वजनिक गर्ने भएको हो । कम्पनीको ओसन
नेटवर्क बिक्री विभागका महाप्रबन्धक झाङ झुओले चेङ्दु अटो शोका क्रममा यो मोडल सन्
२०२६ भित्रै चिनियाँ बजारमा आउने जानकारी दिएका छन् ।
ग्रेट सिगललाई
हाल बिक्री भइरहेको सिगल र डल्फिनको बीचमा राखिनेछ । यसको लम्बाइ ४ हजार २०५
मिलिमिटर, चौडाइ १ हजार ८१० मिलिमिटर र उचाइ १ हजार ५७० मिलिमिटर छ । ह्विलबेस २
हजार ६५० मिलिमिटर रहेको यो गाडी पाँच सिट क्षमतामा आउनेछ ।
नयाँ मोडल
अहिलेको सिगलभन्दा ४२५ मिलिमिटर लामो छ । यसको ह्विलबेससमेत १५० मिलिमिटरले बढेको
छ । आकारका हिसाबले यो डल्फिनभन्दा केवल ६५ मिलिमिटर छोटो छ । त्यसैले नाम सिगलसँग
जोडिए पनि यसको क्याबिन स्पेस र बजारमा रहने स्थान फरक हुने देखिन्छ ।
यसमा ९५ किलोवाट
अर्थात् १२७ हर्सपावर क्षमताको सिङ्गल इलेक्ट्रिक मोटर रहनेछ । अधिकतम गति
प्रतिघण्टा १५० किलोमिटर तोकिएको छ । गाडीको तौल भेरियन्टअनुसार १ हजार १८० देखि १
हजार २५५ किलोग्रामसम्म रहनेछ ।
ग्रेट सिगलमा
फिनड्रिम्सले उत्पादन गरेको २९.९९ र ३९.२३ किलोवाट आवर क्षमताका दुई एलएफपी
ब्याट्री विकल्प उपलब्ध हुने चिनियाँ नियामक निकायमा बुझाइएको विवरणले देखाउँछ ।
यी ब्याट्रीले क्रमशः ३२० र ४२० किलोमिटर सीएलटीसी रेन्ज दिनेछन् । गाडीमा १६
इन्चको ह्विल र २०५/६० आकारको टायर प्रयोग गरिएको छ ।
परीक्षणका
क्रममा देखिएको उच्च भेरियन्टको छतमा लाइडार सेन्सर राखिएको छ । यो बीवाईडीको
डाइपाइलट ३०० अर्थात् ‘गड्स आई बी’ ड्राइभिङ असिस्टेन्स सिस्टमसँग जोडिने बताइएको
छ । यसले राजमार्ग तथा सहरी सडकमा नेभिगेट अन अटोपाइलटजस्ता सुविधा दिन सक्नेछ ।
यद्यपि यस्तो सिस्टम सबै भेरियन्टमा रहने वा विकल्पका रूपमा मात्रै उपलब्ध हुने
विषय औपचारिक सार्वजनिक कार्यक्रममा स्पष्ट हुनेछ ।
यसअघि सार्वजनिक
भएका क्याबिन तस्बिरमा फ्लोटिङ सेन्ट्रल स्क्रिन, स्टेयरिङ पछाडि राखिएको गियर
सेलेक्टर र ठूलो सेन्टर कन्सोल देखिएको थियो । आकार र मोटर क्षमताका आधारमा ग्रेट
सिगलले जिली सिङयुआन र जीएसी आइअन यूटीजस्ता विद्युतीय ह्याचब्याकसँग प्रतिस्पर्धा
गर्ने अनुमान गरिएको छ ।
बीवाईडीले यसको
मूल्य तथा विस्तृत फिचर सूची सार्वजनिक गरेको छैन । डल्फिनको कम शक्तिशाली
सुरुवाती भेरियन्टलाई यसले विस्थापित गर्न सक्ने चर्चा भए पनि कम्पनीले त्यस्तो
निर्णय पुष्टि गरेको छैन ।
नेपाली बजारमा सिगलको अन्तर्राष्ट्रिय संस्करण एट्टो १ नामबाट परिचित भइसकेको अवस्थामा यो ठूलो मोडलले पनि चासो पाउन सक्छ । तर ग्रेट सिगल चीनबाहिर कुन नामबाट बिक्री हुनेछ र नेपाल आउनेछ वा आउनेछैन भन्ने विषयमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन ।