Newad1
Featured blog image

४ लाख १९ हजार गाडी बेचेर बीवाईडीले बनायो वर्षकै बलियो महिना

काठमाडौं । वर्षको सुरुआती महिनामा उत्पादन र आपूर्तिसम्बन्धी दबाब झेलेको चिनियाँ विद्युतीय सवारी उत्पादक बीवाईडीले जुलाईमा भने आफ्नो गति फेरि बलियो बनाएको छ । कम्पनीको पछिल्लो बिक्री विवरणले घरेलु बजारभन्दा बाहिरको माग अहिले यसको सबैभन्दा ठूलो सहारा बन्दै गएको संकेत गरेको छ ।

बीवाईडीले जुलाईमा कुल ४ लाख १९ हजार २११ नयाँ ऊर्जा सवारीसाधन बिक्री गरेको छ । यो गत वर्षको सोही महिनाभन्दा २१ दशमलव ७६ प्रतिशत बढी हो । जुनसम्म वार्षिक बिक्री वृद्धिदर कमजोर देखिएको कम्पनीले जुलाईमा लगातार तेस्रो महिना सकारात्मक वृद्धि कायम गरेको हो ।

जुलाईको परिणाम यस वर्षकै सबैभन्दा उच्च मासिक बिक्री हो । कम्पनीले जुनको तुलनामा पनि ३ दशमलव ९ प्रतिशत बढी गाडी बिक्री गरेको जनाएको छ ।

यो वृद्धिको मुख्य आधार भने विदेश बजार बनेको छ । बीवाईडीका यात्रुवाहक गाडी र पिकअपको विदेश बिक्री जुलाईमा १ लाख ७९ हजार ८४१ युनिट पुगेको छ । यो एक वर्षअघिको तुलनामा १ सय २४ दशमलव ३ प्रतिशत बढी हो । अर्थात्, जुलाईमा बेचिएका प्रत्येक १० मध्ये करिब चार गाडी चीनबाहिरका ग्राहकसम्म पुगेका छन् ।

यही आधारमा कम्पनीको चीनभित्रको बिक्री करिब २ लाख ३९ हजार ३७० युनिट रहेको देखिन्छ, जुन अघिल्लो वर्षभन्दा करिब ९ प्रतिशत कम हो । यद्यपि, पछिल्ला महिनाको तुलनामा घरेलु बजारको गिरावट केही खुम्चिएको छ ।

बीवाईडीको मुख्य डाइनास्टी र ओसन लाइनअपले जुलाईमा ३ लाख ५० हजार १७८ युनिट बिक्री गरेको छ । अफरोड ब्रान्ड फाङ चेङ बाओले ४१ हजार २१३ युनिट बिक्री गर्दै आफ्नो मासिक रेकर्ड बनाएको छ भने डेन्जाले १९ हजार १९६ युनिट बिक्री गरेको छ ।

कम्पनीका अनुसार फ्ल्यास चार्जिङ क्षमतासहितको दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रयोग भएका मोडलप्रति चीनमा पनि माग बलियो छ । तर ब्याट्री उत्पादन क्षमता अझै मागअनुसार पुग्न नसक्दा केही मोडलको आपूर्तिमा दबाब देखिएको छ । विदेशतर्फ भने गाडी ढुवानी गर्ने जहाजको सीमित क्षमताले बिक्री विस्तारलाई प्रभावित गरिरहेको कम्पनीको भनाइ छ ।

जनवरीदेखि जुलाईसम्म बीवाईडीले २२ लाख २७ हजार ७२२ नयाँ ऊर्जा सवारीसाधन बिक्री गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिभन्दा १० दशमलव ५४ प्रतिशत कम भए पनि अर्धवार्षिक अवधिसम्म देखिएको गिरावटभन्दा सुधार हो । यही अवधिमा विदेशमा ९ लाख ६९ हजार २०८ यात्रुवाहक गाडी र पिकअप बिक्री भएका छन् ।

नेपालमा पनि एटो १, एटो २, एटो ३, सिलायन तथा अन्य मोडलमार्फत बीवाईडीले आफ्नो उपस्थिति विस्तार गरिरहेको छ । विश्व बजारमा विदेश बिक्रीको बढ्दो हिस्साले कम्पनीको नयाँ मोडल, आपूर्ति क्षमता र मूल्य रणनीतिले नेपाली बजारलाई समेत अप्रत्यक्ष असर पार्न सक्ने देखिन्छ ।

footer