Newad1
Featured blog image

न चार्जिङ, न बीचमा पेट्रोल : एक ट्याङ्कीमै १,९८० किलोमिटर गुड्यो निसान क्यासकाई

काठमाडौं । बाहिरबाट ब्याट्री चार्ज गर्न नपर्ने, तर पाङ्ग्रा भने विद्युतीय मोटरले मात्रै चलाउने प्रविधिले कति लामो यात्रा गर्न सक्ला ? यही प्रश्नको उत्तर खोज्दै गरिएको तीनदिने यात्राले इन्धन किफायतमा नयाँ कीर्तिमान कायम गरेको छ ।


निसान क्यासकाई ई–पावरले एक ट्याङ्की पेट्रोलका भरमा १ हजार ९८० किलोमिटर दूरी पार गर्दै गिनिज विश्व कीर्तिमान बनाएको हो । बाह्य चार्जिङ वा बीच बाटोमा इन्धन नभरी कुनै पनि गैरप्लग–इन विस्तारित दूरीयुक्त विद्युतीय एसयूभीले पूरा गरेको यो हालसम्मकै लामो यात्रा हो ।

कोलम्बियाको राजधानी बोगोटाबाट क्यारिबियन समुद्री तटसम्म गरिएको यात्रा पूरा हुन तीन दिन लागेको थियो । यात्राका प्रत्येक चरणलाई गिनिज विश्व कीर्तिमानका प्रतिनिधिले स्वतन्त्र रूपमा निगरानी गरेका थिए । विस्तृत परीक्षण र प्रमाणहरूको समीक्षा गरेपछि उक्त उपलब्धिलाई औपचारिक मान्यता दिइएको हो ।

यस यात्रामा क्यासकाईको ५५ लिटर क्षमताको पेट्रोल ट्याङ्की र केवल २.१ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्रयोग भएको थियो । यस आधारमा गाडीले औसत प्रतिलिटर ३६ किलोमिटर माइलेज दिएको देखिन्छ । अर्को हिसाबमा यसले एक सय किलोमिटर यात्रा गर्दा करिब २.७८ लिटर पेट्रोल मात्रै खपत गरेको थियो ।

क्यासकाई ई–पावरमा १.५ लिटर क्षमताको तीन सिलिन्डर भीसी टर्बो पेट्रोल इन्जिन छ । तर परम्परागत पेट्रोल गाडीमा जस्तो उक्त इन्जिनले पाङ्ग्रालाई सीधै शक्ति दिँदैन । यसले विद्युत् उत्पादन गरेर ब्याट्रीमा पठाउँछ र पाङ्ग्रा विद्युतीय मोटरबाट मात्रै चल्छन् ।

यही बनोटका कारण चालकले विद्युतीय गाडीमा जस्तै तत्काल शक्ति र शान्त यात्राको अनुभव पाउँछ । अर्कोतर्फ, ब्याट्री चार्ज गर्न बाहिरी चार्जर खोज्नुपर्दैन । पेट्रोल इन्जिनले आवश्यकताअनुसार आफैँ विद्युत् उत्पादन गर्ने भएकाले निसानले यसलाई आफैँ चार्ज हुने हाइब्रिड प्रविधिका रूपमा प्रस्तुत गर्दै आएको छ ।


निसानका उत्पादन तथा कम्पोनेन्ट रणनीतिसम्बन्धी कर्पोरेट कार्यकारी रिचर्ड क्यान्डलरका अनुसार यो कीर्तिमानले नयाँ पुस्ताको ई–पावर प्रविधिको क्षमता देखाएको छ । उनले क्यासकाई ई–पावरले इन्धन किफायत, आरामदायी यात्रा र विद्युतीय गाडीसरहको चलाउने अनुभवलाई वास्तविक ग्राहकको आवश्यकतासँग जोडेको बताएका छन् ।

नेपालजस्तो चार्जिङ पूर्वाधार विस्तारकै चरणमा रहेको बजारमा यस्तो प्रविधि चासोको विषय बन्न सक्छ । यसले विद्युतीय गाडी चलाउने अनुभव दिनुका साथै लामो यात्रामा चार्जिङ केन्द्र खोज्नुपर्ने चिन्ता घटाउन सक्छ । तर पेट्रोल इन्जिन भएकाले यसलाई पूर्ण विद्युतीय गाडी भने मान्न मिल्दैन ।

निसानले यसअघि बेलायत र अस्ट्रेलियामा पनि ई–पावर गाडीबाट लामो दूरीका यात्रा गरेको थियो । अस्ट्रेलियाको तास्मानियामा क्यासकाई ई–पावरले १ हजार ३०० किलोमिटरभन्दा लामो यात्रा पूरा गरेको थियो ।

यद्यपि, १ हजार ९८० किलोमिटरलाई सामान्य दैनिक प्रयोगमा पाइने नियमित दूरीका रूपमा बुझ्नु हुँदैन । यो विशेष रूपमा नियन्त्रित र इन्धन किफायतलाई प्राथमिकता दिइएको यात्रामा हासिल भएको विश्व कीर्तिमान हो । सडक, गति, मौसम, भार र चलाउने शैलीअनुसार वास्तविक माइलेज फरक पर्न सक्छ ।

footer