बीवाईडीको नयाँ हाइब्रिड एसयूभी, १२०० किमीभन्दा बढी रेन्ज दाबी
चिनियाँ इलेक्ट्रिक गाडी निर्माता BYD ले आफ्नो नयाँ प्लग-इन हाइब्रिड एसयूभी BYD Seal U (Sealion 6) भारतमा ल्याउने तयारी गरेको छ । कम्पनीले यो मोडेललाई यसै वर्षभित्र बजारमा सार्वजनिक गर्ने पुष्टि गरेको छ ।
यो ५ सिट क्षमताको एसयूभी BYD को DM-i Super Plug-in Hybrid प्रविधिमा आधारित छ, जसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग दुईवटा इलेक्ट्रिक मोटर र १८.३ kWh ब्याट्री प्याक जडान गरिएको छ ।
कम्पनीका अनुसार यसको पेट्रोल इन्जिनले ४३.०४% सम्मको विश्वकै उत्कृष्ट थर्मल दक्षता दिने दाबी गरिएको छ भने इलेक्ट्रिक मोटरको दक्षता ९७.५% सम्म रहेको छ । यसले २०.८० किलोमिटर प्रति लिटर माइलेज दिन सक्ने बताइएको छ ।
यो हाइब्रिड प्रणाली “Electric-First” अवधारणामा आधारित छ, जसले मुख्य रूपमा इलेक्ट्रिक मोटरलाई प्राथमिकता दिन्छ भने पेट्रोल इन्जिनले आवश्यक परे ब्याट्री चार्ज गर्न र पावर सपोर्ट गर्न प्रयोग हुन्छ । यसले Pure EV, Series Hybrid र Parallel Hybrid मोडहरूमा स्वतः स्विच गर्न सक्छ ।
यो एसयूभी फ्रन्ट-ह्विल ड्राइभ र अल-ह्विल ड्राइभ दुवै विकल्पमा उपलब्ध हुनेछ । यसको कुल पावर ३१९ बीएचपी र ५५० एनएम टर्क रहेको छ, जसले ०–१०० किमी/घण्टा मात्र ५.९ सेकेन्डमा पूरा गर्न सक्छ ।
पूर्ण चार्ज र फुल ट्याङ्कमा यसको कुल रेन्ज १,२०० किलोमिटरभन्दा बढी पुग्ने दाबी गरिएको छ, जसले लामो दूरीको यात्रामा अझ उपयोगी बनाउने अपेक्षा गरिएको छ ।