१ हजार ६५० किलोमिटर संयुक्त रेन्ज दिने सिलायन ०८ सार्वजनिक
काठमाडौं । लामो दूरीको यात्रा, ठूलो परिवार र प्रिमियम सुविधालाई एउटै गाडीमा खोज्ने ग्राहकका लागि नयाँ विकल्प थपिएको छ । तीव्र चार्जिङ, फराकिलो क्याबिन र शक्तिशाली मोटरको संयोजनले यो गाडीलाई सामान्य पारिवारिक एसयूभीभन्दा माथिल्लो तहमा उभ्याएको छ ।
बीवाईडीले चीनमा
आफ्नो ओसन सिरिजअन्तर्गतको नयाँ फ्ल्यागसिप एसयूभी सिलायन ०८ सार्वजनिक गरेको हो ।
पाँच र छ सिटको लेआउटमा उपलब्ध यो गाडी ब्याट्री इलेक्ट्रिक र डीएम–आई प्लग–इन
हाइब्रिड गरी दुई पावरट्रेनमा ल्याइएको छ ।
कुल आठ
भेरियन्टमा उपलब्ध सिलायन ०८ को मूल्य २२ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार युआनसम्म
तोकिएको छ । प्लग–इन हाइब्रिड भेरियन्टको मूल्य २२ लाख ९९ हजार युआनबाट र पूर्ण
इलेक्ट्रिक भेरियन्टको मूल्य २३ लाख ९९ हजार युआनबाट सुरु हुन्छ ।
पूर्ण
इलेक्ट्रिक सिलायन ०८ को रियर ह्विल ड्राइभ भेरियन्टले सीएलटीसी मापदण्डअनुसार ९००
किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । अल ह्विल ड्राइभ भेरियन्टको दाबी गरिएको
रेन्ज ८०० किलोमिटर छ ।
यसमा ११५.०७२
किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । रियर ह्विल ड्राइभ मोडलको मोटरले अधिकतम
३७० किलोवाट अर्थात् करिब ४९६ हर्सपावर उत्पादन गर्छ । अल ह्विल ड्राइभ मोडलमा
अगाडिको मोटरले २१५ किलोवाट र पछाडिको मोटरले ३७० किलोवाटसम्म शक्ति दिन्छ ।
प्लग–इन
हाइब्रिड भेरियन्टमा ५५.८४३ किलोवाट आवरको ब्याट्री छ । यसले भेरियन्टअनुसार ३५०
देखि ४०० किलोमिटरसम्मको सीएलटीसी इलेक्ट्रिक रेन्ज दिने जनाइएको छ । इन्धन
ट्याङ्की र ब्याट्री पूर्ण हुँदा संयुक्त रेन्ज १ हजार ६५० किलोमिटरसम्म पुग्ने
कम्पनीको दाबी छ ।
सिलायन ०८ को
प्रमुख आकर्षण फ्ल्यास चार्जिङ हो । दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रयोग गरिएको
यो गाडीलाई पाँच मिनेटमा १० देखि ७० प्रतिशत र नौ मिनेटमा १० देखि ९७ प्रतिशतसम्म
चार्ज गर्न सकिने बीवाईडीले जनाएको छ ।
गाडीको लम्बाइ ५
हजार ११५ मिलिमिटर, चौडाइ १ हजार ९९९ मिलिमिटर र उचाइ १ हजार ८०० मिलिमिटर छ ।
यसको ह्विलबेस ३ हजार ३० मिलिमिटर रहेको छ । ठूलो आकार र पाँच वा छ सिट रोज्न
मिल्ने व्यवस्थाले यसलाई पारिवारिक प्रयोगका लागि लक्षित प्रिमियम एसयूभीका रूपमा
प्रस्तुत गरेको छ ।
सवारी आराम र
नियन्त्रणका लागि डाइसस–ए इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, डुअल–चेम्बर एयर
सस्पेन्सन र एक्टिभ रियर ह्विल स्टेयरिङ दिइएको छ । ठूलो आकारका बाबजुद यसको
न्यूनतम टर्निङ रेडियस ४.९५ मिटर रहेको कम्पनीले जनाएको छ ।
सुरक्षातर्फ
गड्स आई बी ड्राइभर असिस्टेन्स सिस्टम प्रयोग गरिएको छ । गड्स आई ५.० प्रविधिमा
आधारित यो सिस्टमले सहरी सडकमा नेभिगेसन असिस्टेड ड्राइभिङ तथा विभिन्न अटोमेटेड
पार्किङ सुविधा उपलब्ध गराउँछ ।
क्याबिनमा १७.३
इन्चको सेन्ट्रल डिस्प्ले, २६ इन्चको अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले र
पछाडिका यात्रुका लागि २१.४ इन्चको इन्टरटेनमेन्ट स्क्रिन राखिएको छ । पाँच सिटको
भेरियन्टमा ९४३ लिटरको बुट स्पेस र अगाडि २०१ लिटरको पावर्ड फ्रङ्क उपलब्ध छ ।
नेपालमा
बीवाईडीका विद्युतीय गाडीले बलियो बजार बनाइरहेका कारण सिलायन ०८ जस्तो लामो रेन्ज
र ठूलो क्याबिन भएको मोडलप्रति चासो रहन सक्छ ।
सिलायन सिरिजको मासिक बिक्री वृद्धिमा देखिएको दबाबबीच नयाँ मोडल सार्वजनिक गरिएको हो । यो एसयूभीमार्फत बीवाईडीले आफ्नो मुख्य ब्रान्डलाई महँगो मूल्य समूहमा विस्तार गर्दै प्रिमियम पारिवारिक एसयूभी बजारमा उपस्थिति बलियो बनाउने प्रयास गरेको देखिन्छ ।