बीवाईडीको नयाँ इलेक्ट्रिक एसयूभीमा ३०० किलोवाट मोटर, एकपटक चार्जमा ८०० किमिको दाबी
काठमाडौं । विश्वकै अग्रणी विद्युतीय सवारी निर्माता बीवाईडीले आफ्नो नयाँ ८ सिरिज टाङ इलेक्ट्रिक एसयूभीको उत्पादन संस्करण पहिलोपटक सार्वजनिक गरेको छ । कम्पनीको ‘डाइनास्टी’ सिरिजअन्तर्गत समावेश हुने यो नयाँ मोडलले डिजाइन, प्रदर्शन र रेन्जका हिसाबले विद्यमान टाङ परिवारलाई थप फराकिलो बनाएको छ ।
कम्पनीका डाइनास्टी सिरिजका महाप्रबन्धक लु तियानले सार्वजनिक गरेका आधिकारिक तस्बिरसँगै यस एसयूभीबारे थप जानकारी बाहिरिएको हो । केही दिनअघि चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) मा दर्ता भएको विवरणले यसको आकार, सिट व्यवस्थापन र विद्युतीय पावरट्रेनसम्बन्धी जानकारी पनि पुष्टि गरेको थियो ।
बीवाईडीले नयाँ ८ सिरिज टाङलाई मध्यमदेखि ठूलो आकारको पारिवारिक एसयूभीका रूपमा विकास गरेको जनाएको छ । कम्पनीले यसलाई मुख्य रूपमा पाँच सिटे मोडलका रूपमा प्रस्तुत गरे पनि नियामक निकायमा दर्ता भएका विवरणअनुसार केही संस्करणमा सात सिटको विकल्प समेत उपलब्ध हुनेछ ।
आकारका हिसाबले यो एसयूभी ५,०४५ मिमि लामो, १,९८० मिमि चौडा र अधिकतम १,७६० मिमि अग्लो रहेको छ । यसको ह्विलबेस २,९५० मिमि रहेको छ, जसले फराकिलो केबिन र आरामदायी यात्राको संकेत गर्छ ।
प्रदर्शनतर्फ, नयाँ ८ सिरिज टाङमा बीवाईडीको टीजेड२०५क्यूवाइडी स्थायी चुम्बकीय सिन्क्रोनस इलेक्ट्रिक मोटर जडान गरिएको छ । यस मोटरले अधिकतम ३०० किलोवाट शक्ति उत्पादन गर्ने कम्पनीले जनाएको छ भने निरन्तर उत्पादन क्षमता १५० किलोवाट रहेको छ । यसको अधिकतम गति २५० किलोमिटर प्रतिघण्टा पुग्ने दाबी गरिएको छ ।
ब्याट्रीको क्षमताबारे कम्पनीले अहिलेसम्म कुनै आधिकारिक विवरण सार्वजनिक गरेको छैन । तर दुवै संस्करणमा लिथियम–आइरन–फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको पुष्टि भएको छ ।
बीवाईडीले यो नयाँ एसयूभीले एकपटक पूर्ण चार्जमा ८०० किलोमिटरभन्दा बढी यात्रा गर्न सक्ने दाबी गरेको छ । यद्यपि यो दूरी कुन परीक्षण मापदण्डमा प्राप्त गरिएको हो वा यसको स्वतन्त्र प्रमाणीकरण भएको छ भन्नेबारे कम्पनीले विस्तृत जानकारी दिएको छैन ।
चिनियाँ सञ्चारमाध्यमहरूले यो मोडलमा दोस्रो पुस्ताको ब्लेड ब्याट्री, फ्ल्यास चार्जिङ प्रविधि तथा डाइसस–ए इन्टेलिजेन्ट बडी कन्ट्रोल प्रणालीसँगै डुअल–चेम्बर एयर सस्पेन्सन उपलब्ध हुन सक्ने उल्लेख गरेका छन् । तर यी सबै सुविधा कम्पनीले अझै आधिकारिक रूपमा पुष्टि गरेको छैन ।
नयाँ ८ सिरिज टाङ सार्वजनिक भएसँगै बीवाईडीको टाङ परिवारको संरचनाबारे पनि नयाँ बहस सुरु भएको छ । हाल कम्पनीसँग टाङ एल र अझ ठूलो ९ सिरिज दा टाङ जस्ता मोडल बजारमा छन् । यस्तो अवस्थामा नयाँ मोडलले टाङ एललाई प्रतिस्थापन गर्ने हो वा छुट्टै स्थानमा बिक्री हुने हो भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।
उपलब्ध बिक्री तथ्यांकअनुसार टाङ एलको चीनमा बिक्री पछिल्लो समय घट्दो क्रममा देखिए पनि त्यसकै आधारमा नयाँ ८ सिरिज टाङलाई प्रत्यक्ष प्रतिस्थापनका रूपमा लिन मिल्ने अवस्था छैन ।
बीवाईडीले हालसम्म यसको मूल्य, बजारमा आउने मिति वा विभिन्न संस्करणबारे औपचारिक घोषणा गरेको छैन । तर उद्योग स्रोतहरूले यो एसयूभी सन् २०२६ को दोस्रो छामाही भित्र बजारमा आउने अपेक्षा गरेका छन् । त्यसपछि मात्रै टाङ परिवारमा यसको वास्तविक भूमिका स्पष्ट हुने अनुमान गरिएको छ ।