बीवाइडीका लोकप्रिय एसयूभी अब किन्न महँगो, नयाँ मूल्य सूची सार्वजनिक

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधनमा कर संरचना परिवर्तन भएपछि नेपाली बजारमा ईभीहरूको मूल्य समायोजन हुने क्रम जारी छ। यही क्रममा बीवाइडीका दुई लोकप्रिय इलेक्ट्रिक एसयूभी एटो टु र एटो थ्री (एड्भान्स भेरियन्ट) को मूल्य पनि वृद्धि गरिएको छ ।

नेपालका लागि बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंक ले एटो टुको मूल्य ३ लाख ४ हजार रुपैयाँ र एटो थ्री एडभान्सको मूल्य २ लाख रुपैयाँ बढाएको जनाएको छ ।

मूल्य संशोधनपछि पहिले ४५ लाख ९५ हजार रुपैयाँ पर्ने एटो टु अब ४८ लाख ९९ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, ५९ लाख ९९ हजार रुपैयाँ मा उपलब्ध एटो थ्री एडभान्स भेरियन्टको नयाँ मूल्य ६१ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

हाल नेपाली बजारमा एटो टु बीवाइडीको सबैभन्दा धेरै बिक्री हुने मोडलमध्ये एक मानिन्छ । आकर्षक डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण यसले छोटो समयमै राम्रो लोकप्रियता हासिल गरेको छ ।

एटो टुमा ५१ किलोवाट-आवर ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार ३४५ किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ । यसमा जडान गरिएको १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर ले सन्तुलित पर्फर्मेन्स उपलब्ध गराउँछ । गाडीको २०० एमएम ग्राउन्ड क्लियरेन्स नेपाली सडक अवस्थाका लागि उपयुक्त मानिन्छ । 

आकारको हिसाबले एटो टुको लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम, उचाइ १६७५ एमएम तथा २६२० एमएम ह्वीलबेस रहेको छ, जसले पर्याप्त केबिन स्पेस उपलब्ध गराउँछ ।

त्यसैगरी, एटो थ्री एडभान्समा ६०.४८ किलोवाट-आवर ब्लेड ब्याट्री र १०० किलोवाट मोटर रहेको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ४२५ किलोमिटर सम्म यात्रा गर्न सक्छ ।

एटो थ्रीको लम्बाइ ४४५५ एमएम, चौडाइ १८७५ एमएम, उचाइ १६१५ एमएम तथा २७२० एमएम ह्वीलबेस रहेको छ। साथै, यसमा ४३४ लिटरको बुट स्पेस उपलब्ध भएकाले पारिवारिक यात्राका लागि पनि उपयोगी मानिन्छ ।

दुवै एसयूभीमा आधुनिक सुरक्षा तथा सुविधा फिचरहरू समावेश छन् । एडास (ADAS), ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, भ्वाइस कन्ट्रोल, एप्पल कारप्ले, एन्ड्रोइड अटो तथा पानोरामिक सनरुफ जस्ता  फिचरले यी मोडललाई आफ्नो वर्गमा प्रतिस्पर्धी बनाएका छन् ।

सरकारले कर दरमा गरेको परिवर्तनपछि नेपाली ईभी बजारमा मूल्य पुनःनिर्धारणको क्रम जारी छ। केही ब्रान्डका मोडलको मूल्य उल्लेख्य रूपमा बढेको छ भने केही कम्पनीहरूले प्रतिस्पर्धात्मक रणनीतिअनुसार निश्चित मोडलमा मूल्य घटाउने निर्णय समेत गरेका छन् । यस्तो अवस्थामा नयाँ गाडी खरिद गर्ने उपभोक्ताले मूल्यसँगै उपलब्ध फिचर, रेन्ज र बिक्रीपछिको सेवा पनि तुलना गरेर निर्णय गर्नु उपयुक्त हुने देखिन्छ ।