Newad1
Featured blog image

अब पूरै ब्याट्री होइन, बिग्रिएको सेल मात्रै फेरे पुग्ने

काठमाडौं । विद्युतीय गाडी किन्नुअघि नेपाली ग्राहकले सबैभन्दा धेरै सोध्ने प्रश्नमध्ये एउटा हो—ब्याट्रीमा समस्या आयो भने मर्मत हुन्छ कि पूरै प्याक नै फेर्नुपर्छ ? यही चिन्तालाई सम्बोधन गर्ने गरी विश्वको ब्याट्री उद्योगमा एउटा महत्त्वपूर्ण परिवर्तन सुरु भएको छ ।

विश्वकै ठूलो ईभी ब्याट्री उत्पादक क्याटलले सन् २०२६ को अन्त्यसम्म विश्वका १०० सहरमा आफ्नै ब्याट्री मर्मत केन्द्र विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । ती केन्द्रमा रोबोटिक अटोमेसन प्रयोग गरी ब्याट्रीको समस्या पहिचान तथा मर्मत गरिनेछ । कम्पनीले अधिकांश मर्मत ७२ घण्टाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

चीनको हाइखोउमा आयोजित ‘निङ डे २०२६’ कार्यक्रममा क्याटलले चीनका आठ स्थानमा प्रत्यक्ष सञ्चालन हुने ‘निङ सर्भिस’ केन्द्र सुरु भइसकेको जनाएको छ । नर्वे र इस्तानबुलमा पनि दुई अन्तर्राष्ट्रिय केन्द्र सञ्चालनमा आएका छन् ।

निङ सर्भिससँग अहिले ८४ देशमा एक हजार ३७६ फ्रेन्चाइज्ड सर्भिस सेन्टर छन् । यसले क्याटलको चोको–एसईबी प्रणालीअन्तर्गत सञ्चालनमा रहेका एक हजार ५०५ ब्याट्री स्वाप स्टेसनलाई समेत प्राविधिक सेवा दिइरहेको छ ।

पूरै प्याक होइन, बिग्रिएको सेल मात्रै मर्मत

विद्युतीय गाडीको ब्याट्रीमा सामान्य चोट, डेन्ट वा बाहिरी क्षति देखिँदा पनि कतिपय अवस्थामा पूरै ब्याट्री प्याक फेर्नुपर्ने अवस्था आउँछ । यसले मर्मत खर्च मात्रै बढाउँदैन, बिमा शुल्कमा समेत असर पार्न सक्छ ।

क्याटलले यही समस्याको विकल्पका रूपमा सेल–टु–प्याक मर्मत प्रणाली अघि बढाएको हो । यसअन्तर्गत पूरै ब्याट्री प्याक फेर्नुको सट्टा समस्या देखिएको सेल वा निश्चित भाग मात्रै परिवर्तन गर्न सकिन्छ ।

कम्पनीले यस्तो प्रविधिबाट ब्याट्री मर्मत खर्च दश गुणासम्म घटाउन सकिने दाबी गरेको छ । उदाहरणका लागि एक लाख युआनसम्म लाग्ने मर्मत खर्च १० हजार युआन हाराहारीमा झार्ने लक्ष्य राखिएको छ । तर, मोडल र समस्याअनुसार लाग्ने वास्तविक शुल्क भने सार्वजनिक गरिएको छैन ।

नयाँ सर्भिस केन्द्रमा जडान गरिएका रोबोटले ब्याट्री प्याक काट्ने, रङ लगाउने तथा एडहेसिभ प्रयोग गर्नेजस्ता काम स्वचालित रूपमा गर्न सक्ने कम्पनीको भनाइ छ । यी केन्द्रले चीनमा बिक्री हुने करिब ७६.८ प्रतिशत नयाँ ऊर्जा सवारीको ब्याट्री मर्मत गर्न सक्ने दाबी गरिएको छ ।

मोबाइल भ्यानबाटै ४८ घण्टामा सेवा

निङ सर्भिसले घटनास्थलमै पुगेर ब्याट्री जाँच तथा सामान्य मर्मत गर्न सक्ने मोबाइल रिपेयर ट्रकसमेत तयार गरेको छ । एकपटकको चार्जमा ८०० किलोमिटरसम्म गुड्ने दाबी गरिएका यी विद्युतीय ट्रकले ३० प्रकारका डायग्नोस्टिक जाँच र ५० किसिमका मर्मत गर्न सक्ने जनाइएको छ ।

कम्पनीका अनुसार गम्भीर प्रकृतिको नभएका करिब ९० प्रतिशत समस्या मोबाइल टोलीबाटै समाधान गर्न सकिनेछ । यस्तो सेवाले सामान्य मर्मतको समय ७२ घण्टाबाट घटाएर ४८ घण्टासम्म ल्याउन सक्ने अपेक्षा गरिएको छ ।

नेपाली ईभी बजारका लागि किन महत्त्वपूर्ण ?

नेपालमा विद्युतीय गाडीको प्रयोग तीव्र गतिमा बढे पनि ब्याट्री मर्मतका लागि पर्याप्त दक्ष जनशक्ति, उपकरण र सेल तहसम्म काम गर्न सक्ने सर्भिस पूर्वाधार अझै सीमित छ । ब्याट्रीमा समस्या आउँदा पूरै मोड्युल वा प्याक परिवर्तन गर्नुपर्ने हो कि भन्ने डरले धेरै ग्राहकको खरिद निर्णयमा समेत प्रभाव पारिरहेको छ ।

क्याटलका ब्याट्री प्रयोग भएका विभिन्न ब्रान्डका गाडी नेपालमा पनि उपलब्ध छन् । त्यसैले सेल तहसम्म मर्मत गर्न सकिने यस्तो प्रणाली नेपालसम्म विस्तार भए ईभी धनीको मर्मत खर्च घटाउन, गाडी लामो समयसम्म चलाउन र प्रयोग भइसकेका ब्याट्रीको अनावश्यक फोहोर कम गर्न सहयोग पुग्न सक्छ ।

क्याटलले १०० सहरको सूची सार्वजनिक गरिसकेको छैन । नेपाल त्यसमा पर्छ वा पर्दैन भन्ने पनि स्पष्ट भएको छैन । तर ब्याट्री उत्पादक स्वयं मर्मत र आफ्टर–सेल्स सेवामा सक्रिय हुन थालेपछि विद्युतीय गाडीको सबैभन्दा महँगो पार्ट पुर्जासँग जोडिएको दीर्घकालीन चिन्ता कम हुने संकेत देखिएको छ ।

footer