चाङआनको प्रिमियम ईभी ब्रान्ड एभाटरले पायो एल३ परीक्षण अनुमति
चीनमा स्मार्ट तथा अटोनोमस ड्राइभिङ प्रविधिको विकास तीव्र गतिमा अघि बढिरहेका बेला चाङआन अटोमोबाइलको प्रिमियम इलेक्ट्रिक सवारी ब्रान्ड एभाटरले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । कम्पनीले एल३ (Level 3) अटोनोमस ड्राइभिङ परीक्षणका लागि आधिकारिक अनुमति प्राप्त गरेको छ । यससँगै कम्पनीले हङकङ स्टक एक्सचेन्ज मा सूचीकृत (आईपीओ) हुन आवेदन समेत दर्ता गरेको छ ।
एल३ अटोनोमस ड्राइभिङ प्रविधिले निश्चित सडक तथा ट्राफिक अवस्थाहरूमा सवारी आफैं सञ्चालन गर्न सक्षम हुन्छ । उदाहरणका लागि ट्राफिक जामजस्ता परिस्थितिमा चालकले स्टेयरिङ समातिरहनु नपर्ने र केही समय सडकबाट ध्यान हटाउन सक्ने सुविधा यस प्रविधिले प्रदान गर्छ । तर आवश्यक पर्दा प्रणालीले चालकलाई पुनः नियन्त्रण लिन अनुरोध गर्नेछ ।
यसअघि चाङआनकै डीपल एसएल०३ (Deepal SL03) ले पनि चीनको चोङछिङका केही निश्चित सडक खण्डमा एल३ परीक्षण अनुमति प्राप्त गरिसकेको थियो । यद्यपि एभाटरले यसपटक कुन मोडलले परीक्षण अनुमति पाएको हो भन्ने औपचारिक रूपमा खुलाएको छैन ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार यो अनुमति यसै वर्ष सार्वजनिक हुने तयारीमा रहेको एभाटर ०७एलका लागि हुन सक्ने अनुमान गरिएको छ । तर कम्पनीले यसबारे कुनै आधिकारिक पुष्टि गरेको छैन ।
कम्पनीका अनुसार हाल विभिन्न सडक तथा ट्राफिक अवस्थाहरूमा बहुपरिदृश्य परीक्षण सफलतापूर्वक अघि बढिरहेको छ । एभाटर चीनमा एल३ अटोनोमस ड्राइभिङ परीक्षण अनुमति प्राप्त गर्ने सुरुआती कम्पनीहरूमध्ये एक हो । सन् २०२३ मै कम्पनीको एभाटर ११ इलेक्ट्रिक क्रसओभरले चोङछिङका राजमार्गमा करिब ५,००० किलोमिटर परीक्षण पूरा गरेको थियो । उक्त परीक्षणमा सवारीले ० देखि ८० किलोमिटर प्रतिघण्टा सम्मको गतिमा अटोनोमस ड्राइभिङ क्षमता प्रदर्शन गरेको थियो ।
त्यसपछि कम्पनीले चाइना अटोमोटिभ टेक्नोलोजी एन्ड रिसर्च सेन्टर (CATARC) बाट सम्बन्धित प्रमाणपत्र समेत प्राप्त गरेको थियो ।
चाङआनले यसअघि आफ्ना एल३ स्वीकृति प्राप्त सवारीहरूमा ४डी मिलिमिटर–वेभ राडार प्रयोग गरिएको जानकारी दिएको थियो । कम्पनीका अनुसार यो प्रणालीले पाँच प्रमुख श्रेणीअन्तर्गत १७ वटा फरक–फरक ड्राइभिङ अवस्थाहरूमा उत्कृष्ट कार्यसम्पादन गर्न सक्षम छ ।
यस्तै, हेसाइले एल३ अटोनोमस ड्राइभिङका लागि विशेष रूपमा विकास गरिएको FTX LiDAR सेन्सर सार्वजनिक गरिसकेको छ, जसको १८० डिग्री दृश्य क्षेत्र (Viewing Angle) रहेको छ । यही सेन्सर डीपल एसएल०३ मा पनि प्रयोग गरिएको बताइएको छ । त्यसैले एल३ परीक्षण अनुमति प्राप्त गरेको एभाटरको नयाँ मोडलमा पनि यही FTX LiDAR प्रविधि प्रयोग गरिएको हुन सक्ने अनुमान गरिएको छ, यद्यपि कम्पनीले यसबारे औपचारिक पुष्टि गरेको छैन ।