कृष्णभीर खुलेको भोलिपल्ट चौकीभीरले रोक्यो पृथ्वी राजमार्ग
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित ज्यामिरेघाटको चौकीभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग शुक्रबार बिहानदेखि दुईतर्फी अवरुद्ध भएको छ । पहिरोका कारण काठमाडौं आउने र बाहिरिने सवारी दुवैतर्फ रोकिएका छन् ।
यसअघि खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि असोज २ गते बिहान करिब ६ः४५ बजे सोही स्थानमा फेरि ठूलो पहिरो खसेको हो । सडक पूरै ढाकिएकाले पहिरो पन्छाउन केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।
अवरुद्ध सडक खुलाउन निर्माणाधीन सडक आयोजनाका उपकरण परिचालन गरिएको छ । जेसीबी र डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको भए पनि सडक सञ्चालन हुने निश्चित समय भने खुलाइएको छैन ।
कृष्णभीरमा नयाँ ट्र्याक तयार भएपछि असोज १ गतेदेखि पृथ्वी राजमार्गमा दुईतर्फी सवारी सञ्चालन भएको थियो । उक्त खण्ड खुलेको भोलिपल्ट नजिकैको चौकीभीरमा पहिरो खसेपछि काठमाडौंसँगको मुख्य सडक सम्पर्क फेरि प्रभावित भएको हो ।
यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्डको १५ किलो क्षेत्रमा माथिबाट लेदो खसेपछि सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन भरतपुरले जनाएको छ । यसले पृथ्वी राजमार्ग हुँदै काठमाडौं आउजाउ गर्ने सवारीको यात्रा थप प्रभावित बनाउन सक्ने देखिएको छ ।
प्रहरीले चौकीभीरको पहिरो पन्छाइएसम्म दुवैतर्फ रोकिएका चालकलाई लेन अनुशासन कायम राख्न र सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।