बक्स आकारभित्र के छ ? यस्तो छ चेरीको आइकार भी२५
चेरीको आइकार ब्रान्डले नयाँ एसयूभी भी२५ चीनमा सन् २०२६ नोभेम्बर १९ मा औपचारिक रूपमा लन्च गर्ने भएको छ । बक्स आकारको डिजाइनमा तयार भएको यो गाडीमा विद्युतीय मोटरसँगै रेन्ज बढाउन पेट्रोल इन्जिन प्रयोग गरिएको छ । आइकारको दोस्रो रेन्ज एक्सटेन्डेड मोडल भी२५ शोरुममा पुगिसकेको छ ।
गत अक्टोबर १९ देखि प्रि–अर्डर खुलेको भी२५ रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभ गरी चार भेरियन्टमा उपलब्ध हुनेछ । यसको प्रि–अर्डर मूल्य १ लाख ३९ हजार ८०० देखि १ लाख ७५ हजार ८०० चिनियाँ युआनसम्म तोकिएको छ ।
भी२५ को लम्बाइ ४ हजार ६३६ मिलिमिटर,
चौडाइ १ हजार ९२० मिलिमिटर र उचाइ १ हजार ८५५ मिलिमिटर छ । अगाडि र पछाडिका
पाङ्ग्राबीचको दूरी अर्थात् ह्विलबेस २ हजार ८२० मिलिमिटर छ । यो मार्चमा लन्च
भएको आइकार भी२७ भन्दा सानो मोडल हो । ठाडो अगाडिको भाग र बक्स आकारको बडीमार्फत
यसले ब्रान्डको परिचित डिजाइनलाई निरन्तरता दिएको छ ।
गाडीमा ३३.६७ किलोवाट आवर क्षमताको लिथियम
आइरन फस्फेट ब्याट्री र १.५ लिटर टर्बो पेट्रोल इन्जिन छन् । रेन्ज एक्सटेन्डरका
रूपमा प्रयोग हुने इन्जिनको अधिकतम पावर ११५ किलोवाट छ । रियर ह्विल ड्राइभ
भेरियन्टमा १८५ किलोवाटको मोटर छ भने अल ह्विल ड्राइभ भेरियन्टका दुई मोटरको
संयुक्त पावर ३३५ किलोवाट छ । यसरी इन्जिनको पावर र गाडी गुडाउने मोटरको पावर
छुट्टाछुट्टै हुन् ।
ब्याट्रीको ऊर्जाबाट मात्रै चलाउँदा
भी२५ को रेन्ज भेरियन्टअनुसार डब्लुएलटीसी परीक्षणमा १४५ र १५० किलोमिटर छ ।
पेट्रोल र ब्याट्री दुवै प्रयोग गर्दा रियर ह्विल ड्राइभको संयुक्त रेन्ज सीएलटीसी
परीक्षणअनुसार १ हजार २४० किलोमिटर र अल ह्विल ड्राइभको १ हजार २१० किलोमिटर रहेको
कम्पनीको विवरण छ । ब्याट्रीको चार्ज कम भएको अवस्थामा इन्धन खपत भेरियन्टअनुसार
प्रति १०० किलोमिटर ६.९ र ७.१५ लिटर उल्लेख गरिएको छ ।
चालक सहायता सुविधाका लागि भी२५ मा फाल्कन ७०० प्लस प्रणाली उपलब्ध हुने उल्लेख छ । यसमा होराइजन रोबोटिक्सको जर्नी ६पी चिप प्रयोग गरिएको छ, जसको कम्प्युटिङ क्षमता ५६० टप्स छ । कम्पनीले पहिलोपटक अगस्ट १४ मा देखाएको यो मोडल मुख्यतः युवा ग्राहकलाई लक्षित गरेर तयार पारेको हो ।