Newad1
Featured blog image

चेरीको नयाँ उडान: हरेक १६ सेकेन्डमा एक गाडी विदेशतर्फ, एक महिनामै दुई लाख निर्यात

काठमाडौं । विश्व बजारमा चिनियाँ गाडी ब्रान्डहरूको उपस्थिति तीव्र रूपमा बढिरहेका बेला एउटा कम्पनीले जुलाईमा बनाएको नयाँ आँकडाले प्रतिस्पर्धाको दिशा नै फेरिने संकेत दिएको छ । खासगरी युरोप, अफ्रिका र उदीयमान बजारमा विस्तार गरिरहेको यो ब्रान्डको गति अहिले केवल बिक्री वृद्धिमा सीमित छैन ।

चेरी समूहले जुलाई महिनामा दुई लाख दुई हजार पाँच सय ३३ वटा गाडी विदेश निर्यात गरेको छ । एकै महिनामा दुई लाखभन्दा बढी गाडी निर्यात गर्ने चेरी पहिलो चिनियाँ अटोमोबाइल कम्पनी बनेको हो ।

कम्पनीका अनुसार यो संख्या अघिल्लो वर्षको जुलाईको तुलनामा ७० दशमलव १ प्रतिशतले बढी हो । लगातार पाँचौं महिनासम्म चेरीले चिनियाँ अटोमोबाइल कम्पनीमध्ये मासिक निर्यातको नयाँ कीर्तिमान कायम गरेको जनाएको छ । यस हिसाबले औसतमा हरेक १६ सेकेन्डमा एउटा चेरी गाडी विदेश बजारतर्फ पठाइएको कम्पनीको दाबी छ ।

जुलाईमा चेरी समूहले विश्वभर दुई लाख ७६ हजार आठ सय २० वटा गाडी बिक्री गरेको थियो । यो अघिल्लो वर्षको सोही महिनाभन्दा २३ दशमलव ३ प्रतिशतले बढी हो । यसमध्ये नयाँ ऊर्जा सवारीसाधनको बिक्री एक लाख २९ हजार ६७ पुगेको छ, जुन वार्षिक आधारमा ९७ दशमलव ५ प्रतिशतको वृद्धि हो ।

तर, यो वृद्धिको मुख्य आधार घरेलु बजार नभई विदेश बनेको देखिन्छ । जुलाईको कुल बिक्रीमा निर्यातको हिस्सा झन्डै ७३ प्रतिशत पुगेको छ । एक वर्षअघि यस्तो हिस्सा ५३ प्रतिशत मात्र थियो । यसले चेरीको व्यापारिक विस्तारमा अन्तर्राष्ट्रिय बजारको भूमिका कति निर्णायक बन्दै गएको छ भन्ने देखाउँछ ।

जनवरीदेखि जुलाईसम्म चेरी समूहले १६ लाख ३४ हजार तीन सय ५३ वटा गाडी बिक्री गरेको छ । यस अवधिमा विदेश पठाइएका गाडीको संख्या ११ लाख ४६ हजार तीन सय ५० पुगेको छ । सो निर्यात अघिल्लो वर्षको तुलनामा ७१ दशमलव २ प्रतिशतले बढेको हो ।

युरोप चेरीको सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको क्षेत्रमध्ये एक बनेको छ । जनवरीदेखि जुनसम्म कम्पनीले युरोपका २४ देशमा एक लाख ७४ हजार गाडी बिक्री गरेको जनाएको छ । त्यसमध्ये नयाँ ऊर्जा सवारीसाधनको संख्या ८६ हजार रहेको छ ।

चेरीले केवल गाडी पठाउने रणनीतिमा मात्र नअडिई विदेशमै उत्पादन र स्थानीय रोजगारीसँग जोडिने बाटो पनि अपनाएको छ । दक्षिण अफ्रिकामा निसानबाट अधिग्रहण गरिएको रोज्लिन कारखाना जुलाई ३ देखि सञ्चालनमा आएको छ । कम्पनीले त्यहाँका सबै ६९२ कर्मचारीलाई निरन्तरता दिएको र आपूर्ति शृंखलामा करिब तीन हजार रोजगारीलाई सहयोग पुग्ने अपेक्षा गरेको छ ।

नेपालका लागि पनि चेरीको यो विस्तार चासोको विषय हो । यहाँ चेरी, ओमोडा र आईकौरजस्ता चिनियाँ ब्रान्डप्रति बढ्दो रुचि देखिएको छ । विश्व बजारमा उत्पादन, प्रविधि, आपूर्ति शृंखला र बिक्री नेटवर्क बलियो बनाउँदै गएको चेरीले भविष्यमा नेपालमा मोडलको विकल्प, सेवा पूर्वाधार र मूल्य प्रतिस्पर्धामा समेत प्रभाव पार्न सक्छ ।

जुलाईसम्म चेरी समूहका विश्वभर दुई करोड १६ लाखभन्दा बढी ग्राहक पुगेका छन् । तीमध्ये झन्डै ७० लाख ग्राहक विदेशमा रहेका छन् । विश्व बजारमा बीस लाख होइन, दुई करोड गाडी बिक्रीको सीमा पार गर्नु कम्पनीका लागि अर्को महत्त्वपूर्ण उपलब्धि बनेको छ ।

footer