नाडाको भीडमा चेरी क्यूको बेग्लै चमक, फिचरले भरिएको कम्प्याक्ट ईभी
काठमाडौं । नाडा अटो शोमा राखिएको एउटा फरक डिजाइनको कम्प्याक्ट इलेक्ट्रिक एसयूभीले दर्शकको ध्यान तानिरहेको छ । ‘क्यू’ आकारका लाइट र आकर्षक रङमा सजिएको यो गाडी बाहिरबाट जति फरक देखिन्छ, भित्र उपलब्ध फिचरको सूची पनि उत्तिकै रोचक छ ।
यो गाडी हो, चेरी क्यू । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले चेरी क्यूलाई कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा नाडा अटो शोमा प्रदर्शन गरेको छ ।
चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ । कम्पनीको आधिकारिक ब्रोसरअनुसार यसले एनईडीसी मापदण्डमा एकपटकको पूर्ण चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिन्छ ।
यसको अर्को मुख्य आकर्षण फास्ट चार्जिङ हो । डीसी फास्ट चार्जरबाट ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न १६.५ मिनेट लाग्ने कम्पनीको दाबी छ ।
चेरी क्यूमा पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर प्रयोग गरिएको छ । रियर ह्विल ड्राइभ प्रणालीमा आधारित यसको मोटरले ९० किलोवाट पावर र ११५ न्यूटनमिटर टर्क उत्पादन गर्छ ।
पाँच सिट क्षमताको गाडीको लम्बाइ ४ हजार १९५ मिलिमिटर र ह्विलबेस २ हजार ७०० मिलिमिटर छ । यसमा १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७० लिटरको फ्रङ्क र ३७५ लिटरको बुट स्पेस उपलब्ध छ । पछाडिका सिट फोल्ड गर्दा बुट स्पेसलाई १ हजार ४५० लिटरसम्म विस्तार गर्न सकिन्छ ।
कम्फर्ट भेरियन्टमा १२.८ इन्चको टचस्क्रिन र चारवटा स्पिकर दिइएका छन् । प्रिमियम भेरियन्टमा भने १५.६ इन्चको टचस्क्रिन, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, छवटा स्पिकर, एम्बियन्ट लाइटिङ, वायरलेस चार्जिङ, पावर टेलगेट र सिक्स–वे पावर एडजस्टेबल ड्राइभर सिट उपलब्ध छन् ।
दुवै भेरियन्टमा छवटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, ट्र्याक्सन कन्ट्रोल, हिल असिस्ट कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक र टायर प्रेसर मोनिटरिङ सिस्टमजस्ता सुरक्षा फिचर दिइएका छन् ।
प्रिमियम भेरियन्टलाई थप सुरक्षित बनाउन ५४० डिग्री पानोरामिक क्यामेरा र एडास उपलब्ध गराइएको छ । यसअन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक पार्किङ असिस्ट, लेन किपिङ असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन, फर्वार्ड कोलिजन वार्निङ र अटोमेटिक इमर्जेन्सी ब्रेकिङजस्ता फिचर समावेश छन् ।
कम्प्याक्ट आकार, फराकिलो क्याबिन, फास्ट चार्जिङ र आधुनिक सुरक्षा फिचरको संयोजनले चेरी क्यूलाई नाडा अटो शोका उल्लेखनीय इलेक्ट्रिक गाडीमध्ये एक बनाएको छ । विशेषगरी सहरी यात्राका लागि सहज आकारको फिचरयुक्त इलेक्ट्रिक एसयूभी खोज्ने नेपाली ग्राहकलाई यसले आकर्षित गर्न सक्ने देखिन्छ ।
कम्पनीले चेरी क्यूको कम्फर्ट भेरियन्टको नियमित मूल्य ३४ लाख ४९ हजार र प्रिमियम भेरियन्टको ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । नाडा अटो शो अवधिका लागि भने कम्फर्ट भेरियन्ट ३० लाख ९९ हजार र प्रिमियम भेरियन्ट ३२ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।