३१ लाखभन्दा कम मूल्यमा चेरी क्यू, नाइमा एक्स्पोमा सार्वजनिक
काठमाडौं । सहरभित्रको दैनिक यात्राका लागि सानो आकार, आरामदायी क्याबिन र व्यावहारिक रेन्ज खोज्ने ग्राहकलाई लक्षित गर्दै नेपाली विद्युतीय सवारी बजारमा अर्को नयाँ विकल्प थपिएको छ । आकर्षक मूल्यमा ल्याइएको यो क्रसओभरले विशेषगरी पहिलोपटक विद्युतीय गाडी किन्ने ग्राहकको ध्यान तान्न सक्ने देखिन्छ ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा चेरी ब्रान्डको नयाँ विद्युतीय क्रसओभर ‘चेरी क्यू’ सार्वजनिक गरिएको हो । नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले यसलाई कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ ।
कम्पनीले कम्फर्ट भेरियन्टको नियमित मूल्य ३४ लाख ४९ हजार र प्रिमियम भेरियन्टको ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । नाइमा एक्स्पो अवधिका लागि भने कम्फर्ट ३० लाख ९९ हजार र प्रिमियम ३२ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने जनाएको छ ।
चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री र ९० किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ । कम्पनीका अनुसार गाडीले एनईडीसी मापदण्डमा एकपटकको पूर्ण चार्जबाट करिब ४०० किलोमिटरसम्म यात्रा गर्न सक्छ ।
पछाडिका पाङ्ग्रामा शक्ति प्रवाह हुने प्रणालीमा आधारित यस गाडीलाई मुख्यतः सहरी प्रयोग सुहाउने गरी तयार गरिएको छ । सफा बाहिरी बनोट, फरक प्रकाश संकेत, सरल तर प्रिमियम देखिने भित्री सजावट र फराकिलो क्याबिन यसको प्रमुख आकर्षण हुन् ।
चेरी क्यूको डिजाइनले सन् २०२५ को रेड डट डिजाइन अवार्ड र सन् २०२६ को आईएफ डिजाइन अवार्डसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय डिजाइन पहिचानसँगै प्रतिस्पर्धी एक्स्पो मूल्यले यसलाई नेपालको प्रवेश तहको विद्युतीय क्रसओभर बजारमा चासोका साथ हेरिने मोडल बनाएको छ ।