Newad1
Featured blog image

चार लाख सस्तो चेरी क्यू, ई–मास ५सँगको भिडन्तमा कसरी बन्यो बलियो ?

आकार उस्तै छ । ब्याट्री क्षमतामा ठूलो अन्तर छैन । दुवैले पछाडिका चक्का घुमाउँछन् र आधुनिक सुरक्षा सुविधा दिएका छन् । तर शोरुममा तिर्नुपर्ने मूल्यदेखि मोटर पावर, चार्जिङ गति र सुविधासम्म हेर्दा यी दुई इलेक्ट्रिक गाडीबीच सोचिएभन्दा ठूलो अन्तर भेटिन्छ ।

नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालि हो भने प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि हो । यी कम्पनीले बिक्री गरिरहेका चेरी क्यू प्रिमियम र प्रोटोन ई–मास ५ प्रिमियम नेपाली बजारका प्रत्यक्ष प्रतिस्पर्धी बनेका छन् ।

दुवैमा ४० किलोवाट आवरभन्दा ठूलो क्याटल एलएफपी ब्याट्री, रियर–ह्विल ड्राइभ, पछाडि इन्डिपेन्डेन्ट मल्टी–लिंक सस्पेन्सन, ६ एयरब्याग र एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध छन् । हाल सार्वजनिक मूल्यअनुसार चेरी क्यू प्रिमियम चार लाख रुपैयाँ सस्तो छ ।


मूल्यमा चेरीलाई चार लाखको लाभ

चेरी क्यू प्रिमियमको नियमित मूल्य ३५ लाख ९९ हजार रुपैयाँ हो । चेरी नेपालको आधिकारिक प्रचार सामग्रीमा नाडा विशेष अफरअन्तर्गत यो गाडी ३२ लाख ९९ हजार रुपैयाँमा उपलब्ध रहेको उल्लेख छ ।

प्रोटोन नेपालको आधिकारिक वेबसाइटमा ई–मास ५ प्रिमियमको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ उल्लेख गरिएको छ । वेबसाइटले यसलाई विशेष लन्च मूल्यका रूपमा प्रस्तुत गरेको छ ।

यस आधारमा चेरी क्यू प्रिमियम चार लाख रुपैयाँ सस्तो पर्छ । लगभग बराबर क्षमताका ब्याट्री भएका दुई गाडीबीचको यो अन्तर सानो होइन । निश्चित बजेटमा धेरै सुविधा खोज्ने वा पहिलोपटक ईभी किन्ने ग्राहकका लागि मूल्य नै निर्णयको प्रमुख आधार बन्न सक्छ ।

पावर चेरीमा, टर्क प्रोटोनमा बढी

चेरी क्यू प्रिमियममा ४१.२ किलोवाट आवर क्षमताको क्याटल एलएफपी ब्याट्री छ । पछाडिको मोटरले अधिकतम ९० किलोवाट पावर र ११५ एनएम टर्क उत्पादन गर्छ ।

प्रोटोन ई–मास ५ प्रिमियममा ४०.१६ किलोवाट आवरको क्याटल एलएफपी ब्याट्री प्रयोग गरिएको छ । यसको मोटरले ८५ किलोवाट पावर र १५० एनएम टर्क दिन्छ ।

यसअनुसार चेरीको ब्याट्री १.०४ किलोवाट आवर ठूलो र मोटर पाँच किलोवाट शक्तिशाली छ । प्रोटोन भने टर्कमा ३५ एनएम अगाडि छ ।

दुवै गाडीमा अगाडि म्याकफर्सन स्ट्रट र पछाडि इन्डिपेन्डेन्ट मल्टी–लिंक सस्पेन्सन छ ।

रेन्जको सीधा तुलना मिल्दैन

चेरी क्यूको दाबी गरिएको रेन्ज ४०० किलोमिटर हो भने प्रोटोन ई–मास ५ प्रिमियमको रेन्ज ३२५ किलोमिटर छ । तर यी दुई आँकडा फरक परीक्षण मापदण्डबाट निकालिएका हुन् ।

चेरीको ४०० किलोमिटर रेन्ज एनईडीसीमा आधारित छ । प्रोटोनको ३२५ किलोमिटर रेन्ज भने डब्लूएलटीपीअनुसार प्रमाणित गरिएको हो । डब्लूएलटीपीलाई एनईडीसीभन्दा वास्तविक सडक प्रयोगसँग नजिक मानिन्छ ।

फास्ट चार्जिङमा चेरी अगाडि

चेरी क्यूले अधिकतम ८५ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । उपयुक्त चार्जर र अनुकूल ब्याट्री तापक्रममा यसको ब्याट्री ३० देखि ८० प्रतिशतसम्म करिब साढे १६ मिनेटमा चार्ज हुने कम्पनीको दाबी छ ।

प्रोटोन ई–मास ५ प्रिमियमले अधिकतम ७१ किलोवाट डीसी चार्जिङ लिन्छ । यसको ब्याट्री ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन करिब २१ मिनेट लाग्ने आधिकारिक विवरणमा उल्लेख छ ।

चेरीले १४ किलोवाट बढी डीसी चार्जिङ क्षमता दिन्छ । दाबी गरिएको चार्जिङ समय पनि प्रोटोनको तुलनामा करिब साढे चार मिनेट छोटो छ ।

दुवै गाडीमा ६.६ किलोवाटको एसी अनबोर्ड चार्जर र गाडीको ब्याट्रीबाट बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भीटूएल सुविधा उपलब्ध छ । प्रोटोन ई–मास ५ले ३.३ किलोवाटसम्मको भीटूएल आउटपुट दिन्छ ।


आकार र कार्गो स्पेसमा चेरी ठूलो

चेरी क्यू चार हजार १९५ एमएम लामो, एक हजार ८११ एमएम चौडा र एक हजार ५६८ एमएम अग्लो छ । यसको ह्विलबेस दुई हजार ७०० एमएम छ ।

ई–मास ५ चार हजार १३५ एमएम लामो, एक हजार ८०५ एमएम चौडा र एक हजार ५८० एमएम अग्लो छ । यसको ह्विलबेस दुई हजार ६५० एमएम छ ।

प्रोटोनभन्दा चेरी ६० एमएम लामो र ६ एमएम चौडा छ । यसको ह्विलबेस पनि ५० एमएम बढी छ । प्रोटोन भने १२ एमएम अग्लो छ ।

दुवैमा ३७५ लिटरको पछाडिको बुट र ७० लिटरको अगाडिको फ्रङ्क उपलब्ध छ । पछाडिको सिट फोल्ड गरेपछि चेरीमा अधिकतम एक हजार ४५० लिटर र प्रोटोनमा एक हजार ३२० लिटर कार्गो स्पेस पाइन्छ । प्रोटोनको न्यूनतम टर्निङ रेडियस ४.९५ मिटर छ भने चेरीको ५.२ मिटर छ ।

दुवैमा १७५ एमएम, दाबीमा बराबरी

नेपालका खाल्डाखुल्डी र अग्ला स्पिड ब्रेकरले गाडीको ब्रान्ड हेरेर छुट दिँदैनन् । यही चुनौती सामना गर्न चेरी क्यू र प्रोटोन ई–मास ५का आधिकारिक नेपाली विवरणमा दुवै गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम उल्लेख गरिएको छ । कम्तीमा कागजी दाबीमा सडकसँग जुध्ने उचाइमा दुवै बराबर छन् ।

डिजाइनमा चेरीलाई अन्तर्राष्ट्रिय पहिचान

चेरी नेपालको आधिकारिक प्रचार सामग्रीमा क्यूलाई सन् २०२५ को रेड डट विजेता र सन् २०२६ को आईएफ डिजाइन अवार्ड प्राप्त मोडलका रूपमा प्रस्तुत गरिएको छ । दुवै अन्तर्राष्ट्रिय डिजाइन सम्मान भएकाले यसले चेरी क्यूको बाहिरी बनावट, अनुपात र प्रयोगमैत्री डिजाइनको पक्षलाई थप बल दिएको छ ।


सुविधामा चेरीको सूची लामो

चेरी क्यू प्रिमियममा १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन र ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ । यसमा वायर्ड तथा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, ६ स्पिकर, पावर्ड टेलगेट र बाहिर आवाज पठाउन सकिने क्यू टक सुविधा उपलब्ध छन् ।

यसको मुख्य आकर्षण ५४० डिग्री प्यानोरामिक क्यामेरा र अटोमेटिक पार्किङ असिस्ट हो । क्यामेराले गाडीको चारैतिरसँगै अन्डरबडी शैलीको दृश्य देखाएर साँघुरो पार्किङ तथा खराब सडकमा चालकलाई सहयोग गर्छ ।

प्रोटोन ई–मास ५ प्रिमियममा १४.६ इन्चको फुल एचडी इन्फोटेन्मेन्ट डिस्प्ले र ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ । यसमा एटलस अटो अपरेटिङ सिस्टम, ६ स्पिकर, लेदरेट सिट, रियर एसी भेन्ट र पावर्ड टेलगेट उपलब्ध छन् ।

प्रोटोनमा ३६० डिग्री थ्रीडी क्यामेरा, भ्वाइस कमान्ड, अनलाइन नेभिगेसन र इन्टिग्रेटेड लाइभ चार्जिङ म्याप पनि दिइएको छ ।

सुरक्षामा दुवैको बलियो दाबी

दुवै प्रिमियम भेरियन्टमा ६ एयरब्याग, एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, हिल असिस्ट र टायर प्रेसर मोनिटरिङ सिस्टम उपलब्ध छन् ।

चेरी क्यू प्रिमियममा २१ वटा एड्भान्स्ड ड्राइभर असिस्टेन्स फङ्सन रहेको कम्पनीले जनाएको छ । अटोमेटिक पार्किङ असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किपिङ असिस्ट र ब्लाइन्ड स्पट डिटेक्सन यसका मुख्य सुविधा हुन् ।

प्रोटोन ई–मास ५ प्रिमियममा १२ वटा एड्भान्स्ड ड्राइभर असिस्टेन्स फङ्सन छन् । एडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फर्वार्ड कोलिजन वार्निङ, लेन डिपार्चर वार्निङ, ट्राफिक साइन रिकग्निसन, ब्लाइन्ड स्पट डिटेक्सन र रियर क्रस–ट्राफिक अलर्ट यसमा समावेश छन् ।

वारेन्टीमा फरक प्रस्ताव

प्रोटोनले ई–मास ५मा ६ वर्षको अनलिमिटेड माइलेज गाडी वारेन्टी दिएको छ । यसको हाई–भोल्टेज ब्याट्री तथा सम्बन्धित कम्पोनेन्टमा आठ वर्ष वा एक लाख ६० हजार किलोमिटर वारेन्टी उपलब्ध छ ।

चेरीले क्यूमा ११ वर्ष वा दुई लाख ४० हजार किलोमिटरसम्मको एक्सटेन्डेड वारेन्टी प्रचार गरेको छ । कम्पनीको हालको प्रस्तावमा सात किलोवाटको वाल चार्जर र अटो प्लस इन्स्योरेन्स पनि समावेश छन् ।

समग्र मूल्याङ्कन

हाल सार्वजनिक मूल्य र उपलब्ध सुविधाको संयुक्त हिसाब गर्दा चेरी क्यू प्रिमियमको प्याकेज बलियो देखिन्छ । प्रोटोन ई–मास ५ प्रिमियमभन्दा चार लाख रुपैयाँ सस्तो मूल्यमा यसले केही ठूलो ब्याट्री, बढी मोटर पावर, छिटो डीसी चार्जिङ, ठूलो स्क्रिन, ५४० डिग्री क्यामेरा, अटोमेटिक पार्किङ र बढी कार्गो स्पेस दिन्छ ।

प्रोटोन ई–मास ५ प्रिमियम टर्क, सानो टर्निङ रेडियस, डब्लूएलटीपी रेन्ज र स्पष्ट स्ट्यान्डर्ड वारेन्टीमा अगाडि छ । सहरी सडकमा सहज मोडाइ र व्यवस्थित कनेक्टेड सुविधालाई प्राथमिकता दिने ग्राहकका लागि प्रोटोन आकर्षक विकल्प बन्न सक्छ ।

मूल्य, पावर, चार्जिङ र उपलब्ध सुविधालाई मुख्य आधार मान्दा अहिले चेरी क्यू प्रिमियमको दाबी बलियो देखिन्छ । तर फरक परीक्षण मापदण्डमा निकालिएको रेन्ज, टेस्ट ड्राइभ अनुभव, सर्भिस नेटवर्क र वारेन्टीका लिखित सर्त नहेरी एउटालाई सबै पक्षमा उत्कृष्ट भन्न मिल्दैन ।


footer