‘मेहनती हातको विश्वासिलो साथ’ भन्दै चेरी वान्डाले तान्यो व्यावसायिक ग्राहक
काठमाडौँ । यात्रुवाहक व्यावसायिक सवारीलाई विद्युतीय विकल्पमा लैजाने क्रम बढ्दै जाँदा नेपाली बजारमा फरक–फरक सिट क्षमताका भ्यानप्रति ग्राहकको चासो पनि विस्तार हुन थालेको छ । भर्खरै सम्पन्न एक सवारी प्रदर्शनीमा देखिएको व्यावसायिक ग्राहकको उपस्थितिले यही बदलिँदो प्रवृत्तिको संकेत गरेको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा प्रदर्शन गरिएका चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यानले विद्यालय, होटल तथा पर्यटन व्यवसायसँग जोडिएका ग्राहकको ध्यान तानेका हुन् ।
विशेषगरी मन्टेश्वरी तथा विद्यालय सञ्चालकहरूले ११ र १२ सिटे भ्यानमा चासो देखाएको कम्पनीले जनाएको छ । होटल, ट्राभल एजेन्सी र पर्यटक यातायात व्यवसायीको आकर्षण भने बढी सिट क्षमताको १६ सिटे भ्यानमा केन्द्रित भएको थियो ।
चेरी वान्डाको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका अनुसार एक्स्पो अवधिमा विभिन्न मोडलमा उल्लेख्य बुकिङ भएको छ । यद्यपि, कुन मोडलका कति गाडी बुकिङ भए भन्ने विस्तृत विवरण कम्पनीले सार्वजनिक गरेको छैन ।
‘मेहनती हातको विश्वासिलो साथ’ नारासहित एक्स्पोमा सहभागी भएको कम्पनीले व्यावसायिक प्रयोजनका लागि गाडी खरिद गर्न चाहने ग्राहकलाई बिना धितो हायर पर्चेज सुविधा पनि उपलब्ध गराएको थियो । यसले तत्काल ठूलो लगानी जुटाउन कठिन हुने साना तथा मझौला व्यवसायीलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ ।
नेपालमा विद्यालय यातायात, होटल सेवा र पर्यटक ओसारपसारमा परम्परागत इन्धनका भ्यान प्रयोग हुँदै आएका छन् । सञ्चालन खर्च कम गर्ने सम्भावना तथा नियमित छोटो दूरीका लागि उपयुक्त हुने भएकाले यस्ता क्षेत्रमा विद्युतीय भ्यानको प्रयोग विस्तार हुन सक्ने देखिन्छ ।
जगदम्बा मोटर्सले एक्स्पोमा प्राप्त प्रतिक्रियाले व्यावसायिक विद्युतीय सवारीप्रति बजारको चासो बढ्दै गएको देखाएको जनाएको छ । कम्पनीले आगामी दिनमा ग्राहकको आवश्यकता र व्यावसायिक प्रयोगअनुसार भरपर्दा विद्युतीय सवारी उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।