Newad1
Featured blog image

चिनियाँ अटो बजारको अगस्ट नतिजा, कसको बिक्री कति ?

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनीहरूले सन् २०२६ को अगस्टमा हासिल गरेको बिक्री तथा डेलिभरी विवरण सार्वजनिक गरेका छन् । परम्परागत ठूला समूहले लाखौँ युनिटको कारोबार गर्दा नयाँ ऊर्जा सवारी उत्पादक नयाँ कम्पनीबीच पनि तीव्र प्रतिस्पर्धा देखिएको छ ।

अगस्टमा सबैभन्दा धेरै बीवाईडीले कुल ४ लाख ४० हजार २९३ युनिट नयाँ ऊर्जा सवारी बिक्री गरेको छ । यसमध्ये यात्रुवाहक सवारीको संख्या ४ लाख ३३ हजार ३८४ युनिट थियो । कम्पनीले चीनबाहिर १ लाख ८९ हजार ४६६ युनिट गाडी बिक्री गरेको छ ।

चेरी ग्रुपले सोही अवधिमा २ लाख ८० हजार १२८ युनिट गाडी बिक्री गरेको छ । यसमध्ये १ लाख ९६ हजार ९८४ युनिट निर्यात भएका छन् । कम्पनीको नयाँ ऊर्जा सवारी बिक्री भने १ लाख २० हजार ९०९ युनिट रहेको छ ।

गिली अटोको कुल बिक्री २ लाख ७० हजार १९४ युनिट पुगेको छ । यसमा नयाँ ऊर्जा सवारीको संख्या १ लाख ७५ हजार ८७७ युनिट र विदेशी बिक्री १ लाख १० हजार १ सय युनिट रहेको छ ।

एसएआईसी मोटरले अगस्टमा १ लाख ८७ हजार ३७ युनिट नयाँ ऊर्जा सवारी बिक्री गर्दा चाङ्गानको नयाँ ऊर्जा सवारी बिक्री करिब १ लाख ५ हजार युनिट पुगेको छ ।

नयाँ कम्पनीमध्ये लिपमोटरले सबैभन्दा धेरै १ लाख ३ हजार १२९ युनिट गाडी डेलिभरी गरेको छ । कम्पनीले लगातार दोस्रो महिना एक लाख युनिटको आँकडा पार गरेको हो ।

हुवावे समर्थित हिमाले ४२ हजार १०१ युनिट गाडी डेलिभरी गरेको छ । त्यसपछि एक्सपेङले ३९ हजार १०७, ली अटोले ३७ हजार ६७९, जिकरले ३६ हजार ९८१ र नियोले ३५ हजार ८३६ युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरेका छन् ।

साओमीले अगस्टमा ३० हजारभन्दा बढी गाडी डेलिभरी गरेको जानकारी दिए पनि निश्चित संख्या सार्वजनिक गरेको छैन ।

अगस्टको तथ्यांकले ठूला चिनियाँ कम्पनीको कुल बिक्रीसँगै विदेशी बजार विस्तार भइरहेको देखाएको छ । यद्यपि सबै कम्पनीले एउटै आधारमा तथ्यांक सार्वजनिक गरेका छैनन् । कतिपयले पेट्रोल, हाइब्रिड र इलेक्ट्रिकसहित कुल बिक्री दिएका छन् भने केहीले नयाँ ऊर्जा सवारीको बिक्री वा ग्राहकलाई गरिएको डेलिभरी मात्रै उल्लेख गरेका छन् । त्यसैले यी तथ्यांकले कम्पनीको समग्र आकार र बजारको गति देखाए पनि सबैलाई एउटै आधारमा प्रत्यक्ष तुलना गर्न मिल्दैन ।

अगस्टको बिक्री तथा डेलिभरी

बीवाईडी ४ लाख ४० हजार २९३, चेरी ग्रुप २ लाख ८० हजार १२८, गिली अटो २ लाख ७० हजार १९४, एसएआईसी मोटर १ लाख ८७ हजार ३७, चाङ्गान करिब १ लाख ५ हजार, लिपमोटर १ लाख ३ हजार १२९, हिमा ४२ हजार १०१, एक्सपेङ ३९ हजार १०७, ली अटो ३७ हजार ६७९, जिकर ३६ हजार ९८१, नियो ३५ हजार ८३६, साओमी ३० हजारभन्दा बढी । 

footer