दिनमै हजारौँ गाडी बनाउने चीनलाई एउटा नयाँ मोडल तयार गर्न किन लाग्छ दुई वर्ष ?
काठमाडौं । चीनका अत्याधुनिक कारखानाबाट दिनमै सयौँदेखि हजारौँ गाडी बाहिरिन्छन् । यो गति देख्दा त्यहाँ एउटा बिल्कुलै नयाँ मोडल केही महिनामै तयार हुन्छ भन्ने लाग्न सक्छ । तर कारखानाको उत्पादन लाइनसम्म पुग्नुअघि एउटै गाडीले पार गर्नुपर्ने लामो यात्रा धेरैको अनुमानभन्दा फरक छ ।
चीनमा नयाँ गाडीको प्रारम्भिक अवधारणा
तयार पार्नेदेखि व्यावसायिक उत्पादन सुरु गर्नेसम्म अहिले औसतमा करिब दुई वर्ष
अर्थात् २४ महिना लाग्छ । यो समय गाडीको एउटै युनिट बनाउन लाग्ने होइन, बजारमा
कहिल्यै नआएको नयाँ मोडल विकास गर्न लाग्ने समग्र अवधि हो ।
तयार भइसकेको मोडललाई कारखानामा ठूलो
संख्यामा बनाउनु उत्पादन हो । त्यसको डिजाइन, प्लेटफर्म, प्रविधि, पार्टपुर्जा र
एसेम्बली प्रक्रिया पहिल्यै निश्चित भइसकेका हुन्छन् । रोबोट र स्वचालित उत्पादन
लाइनबाट त्यसपछि दिनमै हजारौँ गाडी बनाउन सम्भव हुन्छ ।
नयाँ मोडल विकास गर्नु भने बिल्कुलै
फरक प्रक्रिया हो । कस्तो गाडी बनाउने भन्ने बजार अध्ययनबाट यसको सुरुआत हुन्छ ।
त्यसपछि मूल्य र आकार निर्धारण, बाहिरी तथा भित्री डिजाइन, प्लेटफर्म, ब्याट्री वा
इन्जिन, मोटर, इलेक्ट्रिकल सिस्टम र सफ्टवेयरको छनोट गरिन्छ । यी काम पूरा भएपछि
मात्रै परीक्षणका लागि पहिलो नमुना गाडी तयार हुन्छ ।
त्यो नमुनालाई दुर्घटना, खराब सडक,
लामो दूरी, पानी, धुलो तथा अत्यधिक गर्मी र चिसोमा परीक्षण गर्नुपर्छ । कमजोरी
भेटिए डिजाइन वा पार्टपुर्जा परिवर्तन गरेर फेरि परीक्षण गरिन्छ । सरकारी
प्रमाणीकरण, स्पेयर पार्ट्स आपूर्ति र उत्पादन लाइन तयार भएपछि मात्रै ग्राहकका
लागि गाडी बन्न सुरु हुन्छ ।
यही कारण दिनमै हजारौँ गाडी उत्पादन
गर्ने चीनलाई पनि नयाँ मोडल तयार गर्न करिब २४ महिना लागिरहेको हो । यद्यपि यो गति
परम्परागत अन्तर्राष्ट्रिय उत्पादकको तुलनामा निकै तीव्र हो । स्थापित विश्वव्यापी
कम्पनीलाई बिल्कुलै नयाँ मोडल विकास गर्न सामान्यतः तीनदेखि पाँच वर्षसम्म लाग्न
सक्छ ।
अब १८
महिनामा झार्ने तयारी
चीन अब यही २४ महिनाको अवधिलाई थप ६
महिना घटाएर १८ महिनासम्म झार्ने दिशामा अघि बढेको छ । ब्लुमबर्गको रिपोर्टअनुसार
चिनियाँ गाडी डिजाइन तथा इन्जिनियरिङ कम्पनी आईएटी अटोमोबाइल टेक्नोलोजी र
उद्योगसम्बद्ध संस्थाले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगबाट नयाँ मोडल डेढ
वर्षमै तयार गर्न सकिने अनुमान गरेका छन् ।
तर १८ महिना सबै चिनियाँ कम्पनीले
हासिल गरिसकेको अवधि होइन । यो आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग विस्तार भएपछि
सम्भव हुन सक्ने लक्ष्य हो ।
यस प्रविधिले छोटो समयमै डिजाइनका
धेरै विकल्प तयार गर्न, गाडीको एरोडाइनामिक बनावट विश्लेषण गर्न र दुर्घटनाको
सम्भावित प्रभाव कम्प्युटरमै परीक्षण गर्न सक्छ । पार्टपुर्जामा आउन सक्ने कमजोरी
अनुमान गर्न तथा परीक्षणबाट प्राप्त ठूलो परिमाणको तथ्याङ्क विश्लेषण गर्न पनि
यसले समय घटाउँछ ।
तर आर्टिफिसियल इन्टेलिजेन्सले भौतिक
क्र्यास टेस्ट, लामो सडक परीक्षण र वास्तविक वातावरणमा गरिने प्रमाणीकरणलाई पूर्ण
रूपमा प्रतिस्थापन गर्न सक्दैन । विकास अवधि छोट्याउने होडमा यिनै आवश्यक चरण
कमजोर हुन सक्ने चिन्ता अहिले चीनभित्रै बढेको छ ।
गति
बढेसँगै सरकारको निगरानी
नयाँ गाडी छिटो बजारमा ल्याउने
प्रतिस्पर्धाले चिनियाँ कम्पनीलाई डिजाइन, सफ्टवेयर र नयाँ सुविधामा बलियो बनाएको
छ । तर अपर्याप्त परीक्षणका कारण केही समस्या गाडी बिक्री भइसकेपछि मात्र देखिन
सक्ने जोखिम पनि रहन्छ ।
यसैबीच चीनका चार सरकारी निकायले
सवारीसाधनको गुणस्तर र सुरक्षा सुधार गर्न एकवर्षे राष्ट्रव्यापी अभियान सुरु
गरेका छन् । उत्पादकले गाडीको गुणस्तर, विश्वसनीयता, टिकाउपन र नयाँ प्रविधिको
परीक्षण प्रक्रिया आफैँ जाँचेर नियामक निकायमा विवरण बुझाउनुपर्नेछ । कमजोरी भेटिए
आवश्यक सुधार तथा रिकलबारे योजना पेस गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
सरकारी टोलीले कारखानामा
पूर्वसूचनाबिनै स्थलगत इन्स्पेक्सनसमेत गरिरहेको छ । यसको दायरामा उत्पादनको
एकरूपता, चालक–सहायता प्रणाली, अटोमेटेड ड्राइभिङ, डाटा सुरक्षा र सफ्टवेयर
अपडेटको विश्वसनीयता राखिएको छ ।
ईभीको
सडक परीक्षण दोब्बर बनाउने प्रस्ताव
चीनले नयाँ ऊर्जा गाडीको अनिवार्य
टिकाउपन परीक्षण १५ हजारबाट बढाएर ३० हजार किलोमिटर पुर्याउने प्रस्ताव पनि अघि
सारेको छ । यो व्यवस्था लागू भए ईभीले पेट्रोल गाडीसमान परीक्षण दूरी पूरा
गर्नुपर्नेछ ।
नयाँ ऊर्जा सवारी उद्योग प्रारम्भिक
अवस्थामा हुँदा १५ हजार किलोमिटरको सहुलियतपूर्ण मापदण्ड राखिएको थियो । उद्योग
परिपक्व हुँदै गएपछि लामो समय प्रयोग गर्दा देखिने कमजोरी बजारमा जानुअघि नै पत्ता
लगाउन परीक्षण दूरी दोब्बर बनाउने तयारी गरिएको हो ।
आपत्कालीन अवस्थामा प्रयोग हुने ढोका
खोल्ने प्रणालीमा पनि चीनले कडाइ गर्दै छ । सन् २०२७ देखि पूर्ण रूपमा लुक्ने
विद्युतीय डोर ह्यान्डल रोक्ने र ढोकामा भित्र तथा बाहिरबाट चलाउन सकिने मेकानिकल
व्यवस्था अनिवार्य गर्ने नियम ल्याइएको छ ।
नेपालका
लागि किन महत्त्वपूर्ण ?
नेपालमा बिक्री हुने ईभीको ठूलो
हिस्सा चीनबाट आयात हुन्छ । त्यसैले त्यहाँ लागू हुने कडा परीक्षण, गुणस्तर
नियन्त्रण र सुरक्षा मापदण्डको प्रभाव नेपाली बजारमा आउने गाडीमा पनि देखिन सक्छ ।
तर छोटो समयमै सार्वजनिक भएको नयाँ
मोडललाई प्रविधिमा उत्कृष्ट ठान्नु पर्याप्त हुँदैन । नेपाली ग्राहकले क्र्यास
टेस्ट, ब्याट्री सुरक्षा, सफ्टवेयरको विश्वसनीयता, वारेन्टी, स्पेयर पार्ट्स र
बिक्रीपछिको सेवासमेत हेर्नुपर्छ ।
चीनले दिनमै हजारौँ गाडी बनाउन सक्ने
क्षमता प्रमाणित गरिसकेको छ । अब उसको वास्तविक चुनौती २४ महिनाको विकास अवधि १८
महिनामा झार्दा पनि परीक्षण, सुरक्षा र टिकाउपनमा सम्झौता हुँदैन भन्ने विश्वास
कायम गर्नु हो ।