चीनमा सार्वजनिक भयो बीवाइडी सिल ०८, एकपटक चार्ज र इन्धनमा १,६६० किमीसम्मको रेन्ज
काठमाडौं । विश्वकै अग्रणी विद्युतीय सवारी निर्माता बीवाइडीले आफ्नो ओसन सिरिजअन्तर्गत नयाँ फ्ल्यागशिप लक्जरी सेडान सिल ०८ चीनमा सार्वजनिक गरेको छ । पूर्ण विद्युतीय र प्लग–इन हाइब्रिड दुवै विकल्पमा उपलब्ध यो मोडल अत्याधुनिक प्रविधि, लामो ड्राइभिङ रेन्ज र उच्चस्तरीय कम्फर्टका कारण कम्पनीको प्रिमियम सेडान लाइनअपमा नयाँ आकर्षण बनेको छ ।
बीवाइडीले सिल ०८ को सुरुआती मूल्य १ लाख ९६ हजार ९०० युआन (करिब २८ हजार ९८० अमेरिकी डलर) निर्धारण गरेको छ । कम्पनीले यसलाई स्ट्यान्डर्ड रियर–ह्विल स्टेयरिङ र डुअल–च्याम्बर एयर सस्पेन्सन जस्ता प्रविधिसहित बजारमा उतारेको हो, जसले सहज ह्यान्डलिङसँगै आरामदायी यात्रा अनुभव दिने दाबी गरिएको छ ।
साइजका हिसाबले सिल ०८ को लम्बाइ ५,१५० मिमी, चौडाइ १,९९९ मिमी, उचाइ १,५०५ मिमी तथा ३,०३० मिमी ह्विलबेस रहेको छ । रियर–ह्विल स्टेयरिङका कारण यसको टर्निङ रेडियस ४.९५ मिटर मात्र रहेको कम्पनीले जनाएको छ ।
पूर्ण विद्युतीय संस्करण ८०० भोल्ट हाई–भोल्टेज प्लेटफर्म मा आधारित छ । यसमा बीवाइडीको दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जसले फ्ल्यास चार्जिङ सपोर्ट गर्छ । टप भेरियन्टले ९०५ किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ भने ० देखि १०० किमि प्रतिघण्टाको गति ३.३ सेकेन्डमा लिन सक्ने क्षमता राख्छ ।
प्लग–इन हाइब्रिड संस्करणमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन, दुईवटा विद्युतीय मोटर र ४५.३६ किलोवाट–आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ । यसले केवल विद्युतीय मोडमा ४०० किलोमिटरसम्म यात्रा गर्न सक्ने तथा इन्धन र ब्याट्री दुवै प्रयोग गर्दा १,६६० किलोमिटर सम्मको कुल रेन्ज दिने कम्पनीको दाबी छ ।
क्याबिनतर्फ डुअल जिरो–ग्राभिटी फ्रन्ट सिट, सबै सिटमा भेन्टिलेसन र मसाज, १५.६ इन्च इन्फोटेन्मेन्ट स्क्रिन, १२.३ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र २६ इन्च अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले जस्ता सुविधा समावेश गरिएको छ । साथै लिडारमा आधारित उन्नत ड्राइभिङ सहायक प्रणाली र अटो पार्किङ सुविधा पनि उपलब्ध छ ।
हाल विश्व ईभी बजारमा टेस्लालाई चुनौती दिइरहेको बीवाइडीले ब्याट्री प्रविधि, चार्जिङ क्षमता र नयाँ–नयाँ मोडलमार्फत आफ्नो उपस्थितिलाई निरन्तर विस्तार गरिरहेको छ । सिल ०८ पनि कम्पनीको प्रिमियम सेडान सेग्मेन्टमा प्रतिस्पर्धा थप बलियो बनाउने रणनीतिक उत्पादनका रूपमा हेरिएको छ ।