चीनको एनईभी बिक्रीमा लिपमोटरको एकछत्र राज, हाइमा र नियो शीर्ष तीनमा
काठमाडौं । चीनको नयाँ ऊर्जा सवारीसाधन (एनईभी) बजारमा जुन २०२६ मा लिपमोटर (Leapmotor) सर्वाधिक बिक्री गर्ने ब्रान्ड बनेको छ । कम्पनीले एकै महिनामा ९३ हजार ३७६ वटा सवारी ग्राहकलाई हस्तान्तरण गर्दै अहिलेसम्मकै उच्च मासिक बिक्री रेकर्ड कायम गरेको हो ।
स्टेलान्टिस (Stellantis) को लगानी रहेको लिपमोटरले गत वर्षको सोही अवधिको तुलनामा ९५ प्रतिशत बिक्री वृद्धि हासिल गरेको छ । कम्पनीले जनवरीदेखि जुनसम्मको पहिलो छ महिनामा ३ लाख ५६ हजार ४८७ वटा सवारी बिक्री गरिसकेको छ। लिपमोटरले सन् २०२६ मा १० लाख सवारी बिक्री गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरिसकेको छ । कम्पनीले सन् २०२५ मै पूर्ण वार्षिक नाफा कमाउन सफल भएको थियो ।
दोस्रो स्थानमा हुवावे (Huawei) को स्मार्ट मोबिलिटी बिक्री नेटवर्क हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी अलायन्स (HIMA) रहेको छ । एइटो (Aito), लक्सिड (Luxeed), स्टेलाटो (Stelato), माएक्स्ट्रो (Maextro) र साइकको साङ्जी (Shangjie) ब्रान्ड समेटिएको हाइमाले जुनमा ५० हजार ६२४ सवारी बिक्री गरेको छ, जुन अघिल्लो महिनाको तुलनामा ९.७ प्रतिशत बढी हो । चालु वर्षको पहिलो छ महिनामा हाइमाको कुल बिक्री २ लाख ४० हजारभन्दा बढी पुगेको छ ।
तेस्रो स्थानमा रहेको नियो (Nio) ले जुनमा ४० हजार ५९७ सवारी ग्राहकलाई हस्तान्तरण गरेको छ, जुन वार्षिक आधारमा ६२.९ प्रतिशत वृद्धि हो । यसमा नियो ब्रान्डका २१ हजार ९०८, अन्भो (Onvo) का ११ हजार ७४३ र फायरफ्लाइ (Firefly) का ६ हजार ९४६ सवारी समावेश छन् । कम्पनीको जनवरीदेखि जुनसम्मको कुल बिक्री १ लाख ९१ हजार १२३ पुगेको छ, जुन गत वर्षको तुलनामा ६७.४ प्रतिशत बढी हो ।
चौथो स्थानमा रहेको एक्सपेङ (Xpeng) ले जुनमा ४० हजार १२६ सवारी बिक्री गर्दै वार्षिक रूपमा १५.९ प्रतिशत वृद्धि दर्ता गरेको छ । कम्पनीले दोस्रो त्रैमासिकमा मात्रै १ लाख ३ हजार २९५ सवारी बिक्री गरेको जनाएको छ ।
जिली (Geely) को प्रिमियम ब्रान्ड जिकर (Zeekr) पाँचौं स्थानमा रह्यो । कम्पनीले जुनमा ३५ हजार १६९ सवारी बिक्री गर्दै वार्षिक रूपमा १११ प्रतिशत वृद्धि हासिल गरेको छ । पहिलो छ महिनामा जिकरको कुल बिक्री १ लाख ७८ हजार ३७० पुगेको छ, जुन गत वर्षको तुलनामा ९७ प्रतिशत बढी हो। यस वृद्धिमा विशेषगरी जिकर ९एक्स (Zeekr 9X) प्लग-इन हाइब्रिड एसयूभीको उल्लेखनीय योगदान रहेको बताइएको छ ।
छैटौं स्थानमा रहेको जीएसी (GAC) को हाइपटेक (Hyptec) तथा एयोन (Aion) ब्रान्डले संयुक्त रूपमा ३३ हजार ६८२ सवारी बिक्री गर्दै २१ प्रतिशत वार्षिक वृद्धि दर्ता गरेका छन् ।
सातौं स्थानमा रहेको ली अटो (Li Auto) ले जुनमा ३० हजार ८९५ सवारी बिक्री गरेको छ । यद्यपि कम्पनीको बिक्री वार्षिक रूपमा १४.८४ प्रतिशत घटेको छ। कम्पनीको नयाँ ब्याट्री इलेक्ट्रिक क्रसओभर आई६ (i6) ले मात्र १५ हजारभन्दा बढी बिक्री हासिल गरेपछि ग्राहकहरू एक्सटेन्डेड रेन्ज इलेक्ट्रिक भेहिकल (EREV) भन्दा शुद्ध ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV) रोज्न थालेको संकेत देखिएको छ। कम्पनीको हालसम्मको कुल बिक्री १७ लाख ३३ हजार ६८७ पुगेको छ ।
साओमी अटो (Xiaomi Auto) ले पनि जुन महिनामा ३० हजारभन्दा बढी सवारी बिक्री गरेको जनाएको छ। यद्यपि कम्पनीले विस्तृत तथ्यांक सार्वजनिक गरेको छैन ।
यसैगरी डोङफेङ (Dongfeng) को प्रिमियम ब्रान्ड भोयाह (Voyah) ले जुनमा १४ हजार २२३ सवारी बिक्री गर्दै ४१ प्रतिशत वार्षिक वृद्धि हासिल गरेको छ। कम्पनीको पहिलो छ महिनाको बिक्री ७६ हजार २६४ पुगेको छ, जुन ३६ प्रतिशत बढी हो ।
शीर्ष १० को सूचीमा रहेको रोक्स मोटर (Rox Motor) ले जुनमा २ हजार ५१२ सवारी बिक्री गर्दै ९९.५ प्रतिशत वार्षिक वृद्धि दर्ता गरेको छ ।
यो तथ्यांकले चीनको एनईभी बजारमा प्रतिस्पर्धा अझ तीव्र बन्दै गएको देखाएको छ । विशेषगरी शुद्ध ब्याट्री इलेक्ट्रिक सवारी (BEV) तर्फ उपभोक्ताको आकर्षण बढ्दै जाँदा नयाँ मोडल र प्रविधिमा केन्द्रित कम्पनीहरूले उल्लेखनीय बिक्री वृद्धि हासिल गरिरहेका छन् ।