Newad1
Featured blog image

चीनको कार बजारमा नयाँ मोड, सर्वाधिक बिक्ने सूचीबाट पेट्रोल गाडी गायब

­काठमाडौं । कुनै समय पेट्रोल गाडीको बिक्रीले दिशा दिने संसारकै ठूलो अटो बजारमा अहिले एउटा अनौठो दृश्य देखिएको छ । सर्वाधिक रोजिएका कारको सूची हेर्दा पेट्रोल इन्जिन भेटिँदैन । सहरमा गुड्ने सानो ह्याचब्याकदेखि महँगा सेडान र एसयूभीसम्म ग्राहकको रोजाइ ब्याट्रीबाट चल्ने गाडीतर्फ सरेको छ ।

अगस्ट २०२६ मा चीनमा सर्वाधिक बिक्री भएका १० यात्रुवाहक कारमध्ये नौवटा पूर्ण विद्युतीय मोडल परेका छन् । चौथो स्थानको फाङ चेङ बाओ टीआई७ मात्र पूर्ण विद्युतीय र प्लग–इन हाइब्रिड दुवै संस्करणमा उपलब्ध छ । अगस्टमा बिक्री भएका टीआई७ मध्ये ५५ प्रतिशत पूर्ण विद्युतीय भएकाले शीर्ष सूचीमा ईभीले ‘साढे नौ स्थान’ ओगटेको व्याख्या गरिएको छ ।

गिली ईएक्स२ अर्थात् चिनियाँ बजारको सिङयुआन ३९ हजार ६५१ युनिटसहित पहिलो बनेको छ । लिपमोटर ए१०ले ३० हजार ६५२ युनिट बिक्री गर्दै दोस्रो स्थान लिँदा टेस्ला मोडल वाई २९ हजार २६० युनिटसहित तेस्रो भएको छ । फाङ चेङ बाओ टीआई७को बिक्री २३ हजार ४७१ र बीवाईडी एट्टो २को २२ हजार ९५८ युनिट रह्यो ।

छैटौँ स्थानको टेस्ला मोडल ३ले २० हजार ७८७ युनिट बिक्री गरेको छ । त्यसपछि चांगान नेभो क्यू०५को १७ हजार ३४९, ली अटो आई६को १६ हजार ९७९, बीवाईडी डल्फिनको १६ हजार ८२९ र साओमी एसयू७को १६ हजार ५१८ युनिट बिक्री भएको छ । शीर्ष १० मा दुई मोडल राख्ने एउटै कम्पनी टेस्ला बनेको छ भने जुलाईमा चौथो रहेको साओमी एसयू७ अगस्टमा दसौँ स्थानमा झरेको छ ।

चीन प्यासेन्जर कार एसोसिएसनको खुद्रा बिक्री तथ्याङ्कमा आधारित विवरणअनुसार पेट्रोल इन्जिन र सामान्य हाइब्रिडतर्फको पहिलो गाडी टोयोटा कोरोला क्रस हो, जुन १४ हजार ६७५ युनिटसहित १३औँ स्थानमा छ । गिली स्टाररे १४औँ, फक्सवागन लाभिडा १५औँ र टोयोटा आरएभी४ १६औँ स्थानमा छन् । कुनै समय नियमित रूपमा शीर्ष पाँचमा पर्ने लाभिडा १४ हजार २२६ युनिटमा सीमित हुँदा निसान सिल्फी १२ हजार २२७ युनिटसहित २३औँ स्थानमा झरेको छ ।

चिनियाँ बजारमा देखिएको यो फेरबदल नेपालका लागि पनि टाढाको विषय होइन । सूचीमा पाँचौँ रहेको बीवाईडी एट्टो २ र सातौँ रहेको दीपल नेभो क्यू०५ नेपालमा बिक्री भइरहेका छन् । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले नेपालमा एट्टो १, एट्टो २, एट्टो ३, डल्फिन, सिल, एम६ र सीलायन ७ बिक्री गर्दै आएको छ । दीपलको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले नेभो क्यू०५सँगै एस०५, एस०७ र एल०७ उपलब्ध गराएको छ । गिलीका लागि एलआरआर मोटर्सले ईएक्स५ प्रो र म्याक्स तथा लिपमोटरका लागि सांग्रिला मोटर्सले बी०३एक्स, बी१० र सी१० बिक्री गरिरहेका छन् ।

जनवरीदेखि अगस्टसम्मको बिक्रीमा पनि गिली ईएक्स२ दुई लाख ६६ हजार १६६ युनिटसहित चीनको सर्वाधिक बिक्री हुने विद्युतीय कार बनेको छ । टेस्ला मोडल वाई दुई लाख २६ हजार ९३१ युनिटसहित दोस्रो र ली अटो आई६ एक लाख ५२ हजार ८४५ युनिटसहित तेस्रो स्थानमा छन् । बीवाईडीका एट्टो २, सङ अल्ट्रा, सङ प्रो र सीलायन ६ शीर्ष २० भित्र छन् भने फाङ चेङ बाओसमेत जोड्दा बीवाईडी समूहका पाँच मोडल उक्त सूचीमा पर्छन् ।

शीर्ष १० बाट पेट्रोल गाडी बाहिरिनुको अर्थ चीनको सम्पूर्ण बजारबाट त्यस्ता गाडी हराइसकेको भने होइन । तर सस्तो सहरिया कारदेखि प्रिमियम एसयूभीसम्म विद्युतीय विकल्पले एकैपटक ग्राहक तान्न थालेपछि पुराना बिक्री महारथीको स्थान साँघुरिएको छ । नेपालमा आउने धेरै चिनियाँ मोडल यही तीव्र प्रतिस्पर्धाबाट छानिएर आउने भएकाले ग्राहकले नयाँ प्रविधि र बढी सुविधा पाउन सक्छन् । सँगै बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स र रिसेल भ्यालुमा वितरकको क्षमता जाँचेर मात्र निर्णय गर्नुपर्ने दबाब पनि बढ्नेछ ।

footer