भारतको अटो बजारमा प्रतिस्पर्धा चर्किँदै, हुन्डाई पछाडि पर्दा टाटा दोस्रो स्थानमा बलियो
काठमाडौं । भारतको प्यासेन्जर कार बजारले सन् २०२६ को जुन महिनामा उल्लेखनीय वृद्धि हासिल गरेको छ । आर्थिक गतिविधिमा आएको सुधार, नयाँ मोडलहरूको आकर्षण तथा विशेषगरी एसयूभीको बढ्दो मागका कारण भारतीय बजारमा कार बिक्रीले उत्साहजनक गति लिएको देखिएको हो । यद्यपि, मे महिनाको तुलनामा बिक्री केही घटेको भए पनि वार्षिक आधारमा भने उद्योगले बलियो पुनरागमन गरेको छ ।
सार्वजनिक तथ्यांकअनुसार जुन २०२६ मा भारतमा कुल ३ लाख ९१ हजार ९६८ वटा प्यासेन्जर सवारी बिक्री भएका छन् । यो संख्या गत वर्षको सोही अवधिको ३ लाख ११ हजार ५५९ युनिटको तुलनामा २५.८ प्रतिशत बढी हो । अर्थात् एक वर्षमै करिब ८० हजारभन्दा बढी अतिरिक्त सवारी बिक्री भएको छ । तर मे २०२६ मा बिक्री भएका ४ लाख ४० हजार ८०८ युनिटको तुलनामा भने जुन महिनामा ११.१ प्रतिशतको गिरावट देखिएको छ ।
बजारमा अझै पनि मारुती सुजुकी सबैभन्दा ठूलो कम्पनीका रूपमा कायम रहेको छ । कम्पनीले जुन महिनामा १ लाख ४७ हजार १८७ वटा सवारी बिक्री गर्दै पहिलो स्थान सुरक्षित गरेको छ । वार्षिक रूपमा २३.८ प्रतिशतले बिक्री बढे पनि कम्पनीको बजार हिस्सा भने अघिल्लो वर्षको तुलनामा केही खुम्चिएको छ । मे महिनाको तुलनामा मारुतीको बिक्री २२.७ प्रतिशतले घटेकाले समग्र उद्योगको मासिक प्रदर्शनमा पनि प्रभाव परेको विश्लेषण गरिएको छ ।
जुन महिनाको सबैभन्दा ठूलो उपलब्धि भने टाटा मोटर्स र महिन्द्रा को प्रदर्शनलाई मानिएको छ । टाटाले ६२ हजार ७६ वटा कार बिक्री गर्दै ६७.४ प्रतिशत वार्षिक वृद्धि हासिल गरेको छ । यससँगै कम्पनी दोस्रो स्थानमा मजबुत बनेको छ । अर्कोतर्फ महिन्द्राले ६० हजार ३९३ युनिट बिक्री गर्दै ४६.९ प्रतिशतको प्रभावशाली वृद्धि दर्ता गरेको छ । महिन्द्राको बजार हिस्सा १३.२ प्रतिशतबाट बढेर १५.४ प्रतिशत पुगेको छ, जसले एसयूभी सेग्मेन्टमा कम्पनीको बलियो उपस्थितिलाई पुष्टि गरेको छ ।
एक समय भारतीय बजारको प्रमुख प्रतिस्पर्धी मानिएको हुन्डाई ले भने जुन महिनामा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । कम्पनीले ३९ हजार ६३५ वटा कार बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशत कम हो । कम्पनीले आफ्ना पार्ट्स आपूर्तिकर्तामध्ये एक उद्योगमा भएको आगलागीका कारण उत्पादन तथा आपूर्तिमा असर परेको जनाएको छ ।
टोयोटा ले २८ हजार ४४१ वटा सवारी बिक्री गर्दै ७.५ प्रतिशत वार्षिक वृद्धि कायम राखेको छ । यद्यपि मे महिनाको तुलनामा कम्पनीको बिक्री ७ प्रतिशतले घटेको छ । किया ले पनि २४ हजार ५५२ युनिट बिक्री गर्दै १९ प्रतिशत वार्षिक वृद्धि गरेको भए पनि मासिक आधारमा ११ प्रतिशतले बिक्री घटेको देखिएको छ ।
विद्युतीय तथा नयाँ प्रविधिका सवारीतर्फ सक्रिय एमजी मोटर ले पनि सकारात्मक नतिजा दिएको छ । कम्पनीले ७ हजार ५६८ युनिट बिक्री गर्दै वार्षिक २९.८ प्रतिशत तथा मासिक २५.१ प्रतिशतको वृद्धि हासिल गरेको छ । स्कोडा ले ६ हजार २२० युनिट बिक्री गर्दै २४.१ प्रतिशत वार्षिक वृद्धि गरेको छ भने होन्डा ले ५ हजार २४३ युनिट बिक्री गर्दै १३.५ प्रतिशतको वृद्धि कायम राखेको छ ।
यस अवधिमा रेनो ले ५४.८ प्रतिशतको प्रभावशाली वार्षिक वृद्धि हासिल गर्दै ४ हजार ६३ वटा कार बिक्री गरेको छ । तर सबैभन्दा उल्लेखनीय छलाङ भने निसान ले मारेको छ । कम्पनीले एक वर्षअघि १ हजार ३१३ युनिट मात्र बिक्री गरेकोमा यस वर्ष ३ हजार ६ युनिट बिक्री गर्दै १२८.९ प्रतिशतको सर्वाधिक वार्षिक वृद्धि दर्ता गरेको छ ।
यसको विपरीत फक्सवागन र जिप का लागि भने जुन महिना अपेक्षाअनुसार रहेन । फक्सवागनको बिक्री २०.१ प्रतिशतले घटेर २ हजार ४६७ युनिटमा सीमित रह्यो भने जिपको बिक्री पनि सामान्य रूपमा घटेको छ । सिट्रोएन ले भने सानो बजार हिस्सा भए पनि ४३.८ प्रतिशत वार्षिक तथा ६७ प्रतिशत मासिक वृद्धि गर्दै सुधारको संकेत दिएको छ ।
समग्र तथ्यांकले भारतीय अटोमोबाइल बजारमा परम्परागत शक्ति सन्तुलन क्रमशः परिवर्तन हुँदै गएको देखाउँछ । लामो समयदेखि एकल प्रभुत्व कायम गर्दै आएको मारुती सुजुकी अझै शीर्ष स्थानमा भए पनि टाटा र महिन्द्राको तीव्र विस्तारले प्रतिस्पर्धालाई नयाँ चरणमा पुर्याएको छ । यी दुई कम्पनीले संयुक्त रूपमा जुन महिनामा मात्रै ३१ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेका छन् ।
विशेषगरी एसयूभीप्रतिको उपभोक्ता आकर्षण, नयाँ मोडलहरूको निरन्तर आगमन तथा स्वदेशी ब्रान्डप्रति बढ्दो विश्वासले टाटा र महिन्द्राको वृद्धिलाई बल दिएको विश्लेषण गरिएको छ । अर्कोतर्फ, उत्पादन अवरोध, आपूर्ति शृङ्खलाको समस्या र बढ्दो प्रतिस्पर्धाले केही स्थापित अन्तर्राष्ट्रिय ब्रान्डहरू दबाबमा परेको देखिन्छ ।
नेपालका लागि यसको अर्थ के ?
भारत नेपालको सबैभन्दा ठूलो सवारीसाधन आपूर्ति बजार हो । भारतीय बजारमा कुन कम्पनीको उत्पादन बढ्छ, कुन ब्रान्डले नयाँ मोडल ल्याउँछ वा कुन कम्पनीले बजार हिस्सा विस्तार गर्छ भन्ने विषयले केही महिनापछि नेपाली बजारमा पनि प्रत्यक्ष प्रभाव पार्ने गर्छ । विशेषगरी मारुती सुजुकी, टाटा, महिन्द्रा, हुन्डाई, किया, टोयोटा र एमजीका नयाँ मोडलहरू नेपालमा पनि क्रमशः भित्रिने भएकाले भारतीय बजारको यस्तो प्रवृत्ति नेपाली उपभोक्ता र आयातकर्ताका लागि समेत महत्त्वपूर्ण संकेत मानिन्छ ।
विशेषज्ञहरूका अनुसार भारतमा एसयूभी र विद्युतीय सवारीको लोकप्रियता निरन्तर बढिरहेकाले आगामी महिनाहरूमा नयाँ उत्पादन, आकर्षक प्रविधि तथा मूल्य प्रतिस्पर्धा अझ तीव्र हुने सम्भावना छ । त्यसको प्रभाव नेपालजस्ता भारतीय उत्पादनमा निर्भर बजारमा पनि देखिने अपेक्षा गरिएको छ ।