प्लग–इन हाइब्रिड बी५ लिएर नेपाल छिर्यो डेन्जा
काठमाडौं । नेपाली सवारी बजारमा नयाँ प्रविधि र महँगा गाडीबीच प्रतिस्पर्धा बढिरहेका बेला अर्को विलासी चिनियाँ ब्रान्डले प्रवेश गरेको छ । झन्डै तीन करोड रुपैयाँबाट मूल्य सुरु हुने यसका गाडीले नेपालमा उच्च मूल्यका एसयूभी खोज्ने सीमित ग्राहकलाई लक्षित गरेका छन् ।
बीवाईडीको विलासी सवारी ब्रान्ड डेन्जा नाइमा मोबिलिटी एक्स्पोमार्फत औपचारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको हो । नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले डेन्जा बी५ र बी८ सार्वजनिक गर्दै बिक्रीको तयारी अघि बढाएको छ ।
कम्पनीले डेन्जा बी५ को मूल्य दुई करोड ९७ लाख रुपैयाँ तोकेको छ । आकार, सुविधासँगै अझ माथिल्लो श्रेणीमा राखिएको बी८ को मूल्य तीन करोड ८० लाख रुपैयाँ कायम गरिएको छ ।
डेन्जाका गाडी बिक्री तथा ग्राहक सेवा सञ्चालन गर्न काठमाडौंको नक्सालमा ब्रान्डकै छुट्टै बिक्री कक्षसमेत तयार गरिएको छ । यसले डेन्जालाई बीवाईडीका नियमित गाडीभन्दा फरक र विशिष्ट पहिचानमा स्थापित गर्ने कम्पनीको योजना देखाउँछ ।
नेपालमा सार्वजनिक बी५ पेट्रोल र बिजुली दुवै ऊर्जा प्रयोग गर्ने प्लग–इन हाइब्रिड एसयूभी हो । यसमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिनसँगै ३१.८ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ ।
कम्पनीले पेट्रोल र विद्युत् दुवै प्रयोग गर्दा बी५ ले ७८० देखि ८५० किलोमिटरसम्म यात्रा गर्न सक्ने जनाएको छ । यसको प्रिमियम संस्करणमा २० इन्चका पाङ्ग्रासहित विलासी श्रेणीअनुकूल आधुनिक सुविधा समेटिएका छन् ।
डेन्जाको आगमनसँगै नेपालमा बीवाईडीको उपस्थिति आम विद्युतीय गाडीको बजारबाट उच्च मूल्यका विलासी एसयूभीसम्म विस्तार भएको छ । यद्यपि झन्डै तीनदेखि चार करोड रुपैयाँसम्म पर्ने यी गाडीले नेपाली बजारमा कस्तो प्रतिक्रिया पाउँछन् भन्ने कुरा आगामी बिक्रीले देखाउनेछ ।