३० सिटसम्मको डोङफेङ विद्युतीय बस नाइमामा सार्वजनिक हुँदै
काठमाडौं । नेपालमा विद्युतीय सार्वजनिक यातायातको चर्चा बढिरहँदा बस बजारमा अर्को नयाँ प्रतिस्पर्धी थपिने भएको छ । सहरभित्रको सार्वजनिक यातायातदेखि संस्थागत प्रयोगसम्म लक्षित नयाँ बसको मूल्यसमेत बजारमा उपलब्ध समान क्षमताका विकल्पभन्दा कम हुने संकेत गरिएको छ ।
हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले नाइमा अटो एक्स्पोमार्फत चिनियाँ सवारी उत्पादक डोङफेङका बस औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले एक्स्पोमा दुई मोडल प्रदर्शन गर्ने जनाएको छ ।
सार्वजनिक गर्न लागिएका बस सात दशमलव दुई मिटर लम्बाइका हुनेछन् । तिनमा मोडलअनुसार २६ देखि ३० यात्रुका लागि सिट रहने कम्पनीले जानकारी दिएको छ । सहरी सार्वजनिक यातायात, विद्यालय, कर्मचारी ओसारपसार, होटल तथा पर्यटन व्यवसायलाई लक्षित गर्दै यी बस नेपाल ल्याइएको बताइएको छ ।
कम्पनीले बसको मूल्य भने तत्काल सार्वजनिक गरेको छैन । मूल्य, प्राविधिक विशेषता, ब्याट्री क्षमता, एकपटकको चार्जमा चल्ने दूरी तथा अन्य विवरण एक्स्पोकै अवसरमा घोषणा गरिनेछन् ।
मूल्य नखुलाइए पनि आयाम इन्टरकन्टिनेन्टलले नयाँ बसलाई बजारमा आक्रामक रूपमा प्रस्तुत गर्ने संकेत गरेको छ । नेपालमा हाल उपलब्ध समान प्रकृतिका अन्य बसको तुलनामा डोङफेङका बस कम मूल्यमा उपलब्ध गराइने कम्पनीको दाबी छ । एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटसमेत ल्याउने तयारी गरिएको छ ।
नेपाल सरकारले ठूला विद्युतीय सवारीलाई सार्वजनिक यातायातमा प्रयोग गर्न प्रोत्साहन गर्ने नीति अघि सारिरहेको र यातायात व्यवसायीबाट पनि यस्ता बसको माग बढ्न थालेकाले डोङफेङलाई नेपाल ल्याइएको कम्पनीको भनाइ छ ।
इन्धनको बढ्दो खर्च, सञ्चालन लागत र सहरी प्रदूषणका कारण यातायात व्यवसायीको ध्यान क्रमशः विद्युतीय बसतर्फ मोडिन थालेको छ । तर ठूला विद्युतीय बसको उच्च सुरुवाती मूल्य, चार्जिङ पूर्वाधार, स्पेयर पार्ट्स र बिक्रीपछिको सेवाबारे व्यवसायी अझै सतर्क छन् । यस्तो अवस्थामा मूल्यसँगै भरपर्दो सेवा सञ्जालले नयाँ बसको बजार सम्भावना निर्धारण गर्ने देखिन्छ ।
कम्पनीले बिक्रीपछिको सेवा र स्पेयर पार्ट्स उपलब्धतामा समस्या हुन नदिने प्रतिबद्धता जनाएको छ । हिमालयन अर्गनाइजेसनअन्तर्गतका विभिन्न कम्पनीका शाखा तथा देशका प्रमुख सहरमा रहेका डिलर सञ्जालमार्फत मर्मतसम्भार र पार्ट्स उपलब्ध गराइने बताइएको छ ।
आयाम इन्टरकन्टिनेन्टलले सात दशमलव दुई मिटरका बसबाट बजार प्रवेश गरे पनि आगामी योजना ठूला क्षमताका मोडलसम्म विस्तार गर्ने बनाएको छ । निकट भविष्यमा नौ मिटर लम्बाइको ३८ सिटे र १२ मिटर लम्बाइको ५२ सिटे डोङफेङ बससमेत नेपाल ल्याउने कम्पनीको तयारी छ ।
सन् १९६९ मा स्थापना भएको डोङफेङ चीन सरकारको स्वामित्वमा रहेका ठूला सवारी उत्पादकमध्ये एक हो । कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय गाडी, विशेष प्रयोजनका सवारी र विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ । डोङफेङका उत्पादन एक सयभन्दा बढी देशमा निर्यात भइरहेको कम्पनीले जनाएको छ ।
हिमालयन अर्गनाइजेसनले यसअघि भारतीय फोर्स मोटर्स तथा चीनको एसएआईसी समूहअन्तर्गतको म्याक्ससका सवारी नेपालमा बिक्री गर्दै आएको छ । नेपालमा डोङफेङका कार, ट्रक र माइक्रोबस पहिलेदेखि उपलब्ध भए पनि नयाँ बसले ब्रान्डलाई यात्रुवाहक व्यावसायिक सवारीको अर्को खण्डमा विस्तार गर्नेछ ।
अब मुख्य चासो यसको मूल्यमा रहनेछ । बजारभन्दा कम मूल्यको कम्पनीको दाबी व्यवहारमा कति प्रतिस्पर्धी हुन्छ र ब्याट्री, रेन्ज, वारेन्टी तथा चार्जिङसम्बन्धी सुविधा कस्ता हुन्छन् भन्ने विवरण सार्वजनिक भएपछि मात्रै यसको वास्तविक बजार सम्भावना स्पष्ट हुनेछ ।