प्रिमियम इलेक्ट्रिक सेडान खोज्नेका लागि आयो ईपाइ ००७
काठमाडौं । नेपाली इलेक्ट्रिक गाडी बजारमा एसयूभीको दबदबा बढिरहेका बेला आकर्षक डिजाइन, शक्तिशाली मोटर र सुविधासम्पन्न क्याबिन भएको नयाँ सेडान प्रतिस्पर्धामा उत्रिएको छ ।
नेपालका लागि डोङफेङको आधिकारिक वितरक एमएडब्लू मोटोकर्पले नाडा अटो शो २०२६ बाट ईपाइ ००७ को बिक्री सुरु गरेको हो । कम्पनीले यसको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।
ईपाइ ००७ मा १६० किलोवाटको मोटर दिइएको छ, जसले ३१० एनएम टर्क उत्पादन गर्छ । यसले ६.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्ने कम्पनीको दाबी छ ।
गाडीमा ५६.८३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री उपलब्ध छ । उक्त ब्याट्रीले एकपटकको फुल चार्जमा ५३० किलोमिटरसम्म सीएलटीसी रेन्ज दिने जनाइएको छ । डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न २६ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
ठूलो आकार ईपाइ ००७ को अर्को विशेषता हो । यसको लम्बाइ चार हजार ८८० मिलिमिटर, चौडाइ एक हजार ८९५ मिलिमिटर र ह्विलबेस दुई हजार ९१५ मिलिमिटर छ । लामो ह्विलबेसले क्याबिनभित्र पर्याप्त ठाउँ उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
यसको क्याबिनमा १५.६ इन्चको सेन्टर डिस्प्ले र ८.८ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ । साथै, १९ स्पिकरको अडियो सिस्टम, मल्टिकलर एम्बियन्ट लाइट, वायरलेस मोबाइल चार्जिङ, फोर–जोन क्लाइमेट कन्ट्रोल, एयर प्युरिफिकेसन सिस्टम र इलेक्ट्रिक एड्जस्टेबल सिटजस्ता सुविधा छन् ।
सुरक्षाका लागि ६ एयरब्याग, एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, ब्रेक असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक र अटो होल्ड दिइएको छ । गाडीमा विभिन्न ड्राइभिङ तथा सुरक्षा सुविधा समेटिएको एडास प्याकेजसमेत उपलब्ध छ ।
नेपालमा विद्युतीय एसयूभीको विकल्प फराकिलो बन्दै गए पनि प्रिमियम सेडानको संख्या अझै सीमित छ । यस्तो अवस्थामा मूल्य, मोटर पावर, क्याबिन फिचर र घोषित रेन्जको संयोजनले ईपाइ ००७ लाई फरक बनाउने प्रयास गरेको देखिन्छ ।