डोङफेङ बस किन्ने पहिलो ५० ग्राहकलाई पाँच लाख रुपैयाँ छुट
काठमाडौं । सार्वजनिक यातायातका लागि ठूलो क्षमताको विद्युतीय सवारी खोजिरहेका व्यवसायीले नेपाली बजारमा अर्को नयाँ विकल्प पाएका छन् । सञ्चालन खर्च घटाउने र यात्रुलाई सुविधाजनक सेवा दिने लक्ष्यसहित दुई फरक स्वरूपका बस सार्वजनिक गरिएका हुन् ।
आयाम इन्टरकन्टिनेन्टलले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चिनियाँ सवारी उत्पादक डोङफेङका दुई विद्युतीय बस सार्वजनिक गरेको हो । दुवै बस ७ दशमलव २ मिटर लम्बाइका छन् ।
कम्पनीका अनुसार कम्फर्ट बसमा चालकसहित २६ र सिटी बसमा चालकसहित २८ सिट छन् । यी बसको सुरुवाती मूल्य एक करोड १४ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
एक्स्पो अवधिमा बुकिङ गर्ने पहिलो ५० ग्राहकले पाँच लाख रुपैयाँ विशेष छुट पाउने कम्पनीले जनाएको छ । बसमा पाँच वर्ष वा दुई लाख किलोमिटरसम्मको वारेन्टी दिइएको छ । ग्राहकले थप तीन वर्षको विस्तारित वारेन्टीसमेत खरिद गर्न सक्नेछन् ।
हाल सार्वजनिक बसमा वातानुकूलन प्रणाली समावेश छैन । ग्राहकको आवश्यकताअनुसार वातानुकूलन प्रणाली र विलासी सिट थप गर्न सकिने व्यवस्था गरिएको छ । बसमा एक वा दुईवटा प्रवेशद्वार राख्न सकिने भए पनि दुईवटा द्वार छनोट गर्दा दुई सिट घट्नेछन् ।
कम्पनीले निकट भविष्यमा ७ दशमलव २ मिटरको विद्यालय बससँगै नौ मिटरको ३८ सिटे र १२ मिटरको ५२ सिटे बस पनि नेपाल ल्याउने तयारी गरेको छ । ती बसको मूल्य र विस्तृत विवरण भने पछि सार्वजनिक गरिने जनाइएको छ ।
नेपालका विभिन्न सहरमा रहेका हिमालयन अर्गनाइजेसनका शाखा तथा विक्रेता सञ्जालमार्फत बिक्रीपछिको सेवा र आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराइने कम्पनीको भनाइ छ ।
ठूला विद्युतीय सवारीको प्रारम्भिक खरिद मूल्य महँगो भए पनि नियमित सार्वजनिक यातायातमा इन्धन र मर्मत खर्च घटाउन सक्ने सम्भावना हुन्छ । डोङफेङका नयाँ बसले व्यवसायीलाई सिट क्षमता, सुविधा र सञ्चालन लागतका आधारमा थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ ।