४५.५ प्रतिशत थर्मल दक्षतासहित डोङफेङको नयाँ २.० टर्बो हाइब्रिड इन्जिन सार्वजनिक

काठमाडौं: चिनियाँ अटो निर्माता Dongfeng Motor ले आफ्नो नयाँ पुस्ताको २.० लिटर टर्बो हाइब्रिड इन्जिन सार्वजनिक गरेको छ । कम्पनीको आरएन्डडी इन्स्टिच्युटले विकास गरेको ‘माच पावर २.०टी’ हाइब्रिड इन्जिनले ४५.५ प्रतिशत थर्मल दक्षता हासिल गर्दै नयाँ मापदण्ड स्थापित गरेको जनाएको छ ।

चीनको परीक्षण तथा प्रमाणीकरण निकाय CATARC Huacheng ले मे २२ मा उक्त इन्जिनको दक्षता प्रमाणित गरेको हो । हालसम्म अधिकांश हाइब्रिड प्रविधि १.५ लिटर इन्जिनमा केन्द्रित रहेकामा डोङफेङले २.० लिटर क्षमताको इन्जिनमा यस्तो उपलब्धि हासिल गरेको हो ।

कम्पनीका अनुसार नयाँ इन्जिनमा MAKC (High-efficiency Anti-Knock Rapid Combustion Technology) प्रयोग गरिएको छ । लामो स्ट्रोक डिजाइन, ३५० बार प्रत्यक्ष इन्धन इन्जेक्सन प्रणाली तथा उच्च क्षमताको इग्निसन प्रणालीले इन्धन दहनलाई अझ प्रभावकारी बनाएको छ ।

इन्जिनमा जडान गरिएको कूल्ड लो-प्रेसर ईजीआर (EGR) प्रणालीले दहन तापक्रम नियन्त्रण गरी इन्धन खपत ३ देखि १० प्रतिशतसम्म घटाउन मद्दत गर्ने दाबी गरिएको छ । साथै, भेरिएबल डिस्प्लेसमेन्ट आयल पम्प र डीएलसी (Diamond-Like Carbon) कोटिङ प्रयोग गरी घर्षण तथा ऊर्जा क्षति पनि न्यून बनाइएको छ ।

डोङफेङले यो इन्जिन विशेषगरी हाइब्रिड एसयूभी र उच्च भार बोक्ने सवारीका लागि विकास गरेको जनाएको छ । भेरिएबल-जियोमेट्री टर्बोचार्जर प्रयोग गरिएकाले २,५०० मिटर उचाइसम्मको पहाडी क्षेत्रमा समेत उच्च प्रदर्शन दिन सक्ने कम्पनीको दाबी छ ।

हाल चीनको हाइब्रिड एसयूभी बजारमा ४५.५ प्रतिशत थर्मल दक्षता नयाँ बेन्चमार्कको रूपमा स्थापित भइरहेको छ । यसअघि Chery को कुनपेङ C-DM-O २.०टी प्रणालीले पनि यस्तै स्तरको दक्षता हासिल गरेको थियो । यता Geely ले हालै आफ्नो i-HEV प्रविधिमा ४८.४ प्रतिशत थर्मल दक्षता दाबी गरेको छ ।

डोङफेङका विभिन्न ब्रान्डमध्ये प्लग-इन हाइब्रिड मोडल L7 र L8 हाल सबैभन्दा धेरै बिक्री हुने सवारी बनेका छन्, जसले चीनमा उच्च दक्षता भएका हाइब्रिड पावरट्रेनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको संकेत गरेको छ ।