Newad1
Featured blog image

अब नागढुंगा जामको अन्त्य ? सोमबारदेखि सञ्चालनमा आउँदै सुरुङमार्ग

काठमाडौं । करिब ८० महिनाको लामो प्रतीक्षा अन्त्य गर्दै नेपालको पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । सुरुङमार्ग प्रारम्भिक चरणमा परीक्षण तथा सुरक्षालाई प्राथमिकतामा राख्दै चरणबद्ध रूपमा खुला गरिनेछ भने पहिलो दिन आपत्कालीन सेवाका सवारीसाधनलाई मात्रै आवतजावतको अनुमति दिइने भएको हो ।

सुरुवाती चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनले मात्रै सुरुङमार्ग प्रयोग गर्न पाउनेछन् । त्यसपछि सञ्चालनको अवस्था, सुरक्षा परीक्षण र व्यवस्थापनको मूल्याङ्कन गर्दै निजी सवारी, भ्यान, मिनीबस, बस तथा मालवाहक सवारीलाई क्रमशः प्रवेश अनुमति दिइनेछ । सुरुङमार्ग भने चौबीसै घण्टा सञ्चालनमा रहने व्यवस्था मिलाइएको छ ।

नेपालमै पहिलोपटक निर्माण सम्पन्न भएको यो आधुनिक सुरुङमार्गको मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर लामो छ भने आपत्कालीन सुरुङ २ हजार ५ सय ५७ मिटर लम्बाइको छ । सुरुङ सञ्चालनमा आएपछि वर्षौंदेखि नागढुंगा क्षेत्रमा हुने ट्राफिक जाम, घुमाउरो सडक र लामो प्रतीक्षाबाट यात्रुले ठूलो राहत पाउने विश्वास गरिएको छ । विशेषगरी काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने सवारीको यात्रा समय उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ ।

सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी युसिन–एआरटी जेभीले पाँच वर्षका लागि पाएको छ । कम्पनीले सुरुङभित्रको ट्राफिक व्यवस्थापन, मर्मतसम्भार, भेन्टिलेसन प्रणाली, प्रकाश व्यवस्था, आपत्कालीन उद्धार सेवा, टोल सङ्कलन तथा काठमाडौं र धादिङतर्फका पहुँच सडकको नियमित रेखदेख गर्नेछ । यसका लागि करिब १५० जना कर्मचारी चौबीसै घण्टा सिफ्ट प्रणालीमा परिचालन हुनेछन् ।

सुरुङमार्गमा डिजिटल टोल प्रणाली लागू गरिएको छ । सवारीसाधनको अगाडिको सिसामा आरएफआईडी प्रविधिमा आधारित ‘एन–ट्याग’ टाँसिनेछ, जसलाई टोल गेटमा रहेको रिडरले पहिचान गरेपछि करिब ३० सेकेन्डभित्र स्वचालित रूपमा गेट खुल्ने व्यवस्था गरिएको छ ।

सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार प्रारम्भिक चरणमा एन–ट्याग नभएका सवारीले नगदमार्फत पनि शुल्क तिर्न सक्नेछन् । तर आगामी दिनमा क्रमशः डिजिटल भुक्तानीलाई अनिवार्य बनाइने तयारी गरिएको छ । हाल कुमारी, नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र सानिमा बैंकमार्फत एन–ट्याग उपलब्ध हुनेछ । एक हजार, दुई हजार र पाँच हजार रुपैयाँ रिचार्ज गरेर एन–ट्याग प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ । भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि भने तत्काल नगद भुक्तानीकै विकल्प कायम रहने बताइएको छ ।

सरकारले सुरुङमार्गको टोल शुल्कसमेत निर्धारण गरिसकेको छ । कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनीबस, ट्रक तथा टिपरले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ । त्यसैगरी बस र ट्रकले उपत्यका प्रवेश गर्दा २६० रुपैयाँ तथा बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । ठूला लरी तथा हेभी सवारीले काठमाडौं छिर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

सुरुङमार्गमा सबै सवारीसाधन भने सञ्चालन गर्न पाइने छैन । पैदलयात्री, साइकल, मोटरसाइकल, स्कुटर, तीनपांग्रे सवारी तथा अन्य गैर–मोटरयुक्त साधनलाई सुरुङभित्र प्रवेश निषेध गरिएको छ । त्यस्तै डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई पनि सुरुङ प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ । यस्ता सवारीले पुरानै नागढुंगा सडक प्रयोग गर्नुपर्नेछ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेका थिए । निर्माण सुरु हुँदा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी, प्राविधिक चुनौती, स्थानीय अवरोध तथा निर्माण जटिलताका कारण परियोजना पटक–पटक प्रभावित हुँदै करिब ८० महिनापछि सञ्चालनको चरणमा पुगेको हो ।

जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले निर्माण सम्पन्न गरेको यो परियोजनामा जापान सरकारको करिब २१ अर्ब ५० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानी रहेको छ । निर्माण कम्पनीले परियोजना हस्तान्तरण गरे पनि सम्झौताअनुसार आगामी एक वर्षसम्म कुनै प्राविधिक समस्या देखिए त्यसको मर्मतसम्भारको जिम्मेवारी पनि कम्पनीकै हुनेछ ।

नेपालको सडक पूर्वाधारमा कोशेढुङ्गाका रूपमा हेरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि राजधानीको मुख्य प्रवेशद्वार थप व्यवस्थित, सुरक्षित र छरितो बन्ने अपेक्षा गरिएको छ । यसले काठमाडौं र देशका पश्चिमी जिल्लाबीचको आवागमनलाई सहज बनाउनुका साथै ट्राफिक जाम, इन्धनको खपत र यात्राको समय घटाएर समग्र यातायात प्रणालीलाई नयाँ स्तरमा पुर्‍याउने विश्वास गरिएको छ ।

footer