Newad1
Featured blog image

बर्दियामा गुड्दै गरेको माइक्रो बसमा आगलागी, चालक र सहचालक सुरक्षित

काठमाडौं । बर्दियामा गुडिरहेको एउटा विद्युतीय माइक्रो बसमा अचानक आगलागी भएको छ । कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको माइक्रो बसमा आइतबार बिहान बर्दिया नगरपालिका–७ रम्तापुरमा आगलागी भएको हो ।

प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ०१–००२ ज ४३३ नम्बरको ईभी माइक्रो बसमा बिहान करिब पौने ७ बजे आगो लागेको थियो । आगलागीका बेला माइक्रो बसमा चालक र सहचालक मात्र थिए ।

माइक्रो बस कैलालीको धनगढी उपमहानगरपालिका–३ निवासी ३८ वर्षीय नरेन्द्र नेगीले चलाइरहेका थिए । आगो लागेको थाहा पाएपछि चालक र सहचालक समयमै गाडीबाट बाहिर निस्किएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

आगलागीबाट माइक्रो बसमा रहेका कागजपत्र र ४२ हजार रुपैयाँ नगदसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी रेशम बोहराले जानकारी दिएका छन् । आगलागीबाट माइक्रो बसमा भएको कुल क्षतिको विवरण भने आइसकेको छैन ।

घटनापछि ठाकुरबाबा नगरपालिकाको दमकल बोलाइएको थियो । दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

माइक्रो बसमा आगो कहाँबाट सुरु भयो र यसको वास्तविक कारण के हो भन्ने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्राविधिक जाँचको प्रतिवेदन नआएसम्म आगलागी ब्याट्री, विद्युतीय प्रणाली वा अन्य कुनै कारणबाट भएको हो भन्ने पुष्टि गर्न सकिँदैन ।

footer