नाडामा फराइजनको १४ सिटे इलेक्ट्रिक भ्यान, यस्ता छन् विशेषता
काठमाडौं । लामो समय चार्जिङमै बिताउनुपर्ने चिन्ता व्यावसायिक इलेक्ट्रिक गाडीका सञ्चालकका लागि अझै ठूलो विषय हो । यही समस्या घटाउने दाबी गरिएको एउटा नयाँ इलेक्ट्रिक भ्यान नाडा अटो शोमा नेपाली बजारका लागि सार्वजनिक भएको छ ।
नेपालका लागि फराइजनको आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले १४ सिट क्षमताको भी७ई इलेक्ट्रिक भ्यान सार्वजनिक गरेको हो । कम्पनीले यसलाई सार्वजनिक तथा पर्यटकीय यातायातमा प्रयोग गर्न सकिने व्यावसायिक गाडीका रूपमा अघि सारेको छ ।
भी७ईमा ५०.२३ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । एकपटकको फुल चार्जमा यसले ३३८ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
यसको मुख्य आकर्षण टु–सी फास्ट चार्जिङ प्रविधि हो । कम्पनीका अनुसार उपयुक्त फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न १२ मिनेट लाग्छ । व्यावसायिक गाडी लामो समय चार्जिङ स्टेसनमा रोक्न नपर्ने भएकाले यो सुविधाले दैनिक सञ्चालन समय बढाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
भ्यानमा स्मार्ट कीलेस इन्ट्री, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, एप्पल कारप्ले र एन्ड्रोइड अटो उपलब्ध छन् । सुरक्षाका लागि फ्रन्ट डुअल एयरब्याग, रेन सेन्सिङ वाइपर, अटो हेडलाइट र हिल होल्ड कन्ट्रोलसमेत दिइएको छ ।
१४ सिट क्षमताका कारण भी७ईलाई होटल, रिसोर्ट, विद्यालय, कलेज, कर्पोरेट कार्यालय, एयरपोर्ट सटल र पर्यटकीय यातायातमा प्रयोग गर्न सकिने शशीला मोटर्सले जनाएको छ ।
इन्धन खर्च घटाउने उद्देश्यले सार्वजनिक तथा संस्थागत यातायातमा इलेक्ट्रिक गाडीप्रतिको चासो बढिरहेका बेला फराइजन भी७ईले नेपाली बजारमा अर्को विकल्प थपेको छ । यसको व्यावहारिकता भने मूल्य, चार्जिङ पूर्वाधार, बिक्रीपछिको सेवा र वास्तविक सडकमा प्राप्त हुने रेन्जले निर्धारण गर्नेछ ।