हेलमेटको दुर्गन्ध र जीवाणु हटाउने प्रविधि नेपालमा, फ्रेशपोड मेसिनको औपचारिक सुरुआत
बुटवल, १८ असार । नेपालमा पहिलो पटक हेलमेटको व्यावसायिक क्लीनिंग तथा स्यानिटाइजिङ सेवा सुरु भएको छ । भारतको अत्याधुनिक हेलमेट हाइजिन प्रविधि विकासकर्ता फ्रेशपोड इन्डियाले उत्पादन गरेको हेलमेट स्यानिटाइजिङ मेसिन नेपाल भित्रिएको हो । यस मेसिनको नेपालका लागि आधिकारिक वितरक गैरे फ्रेशपोड प्रालि रहेको कम्पनीले जनाएको छ ।
दैनिक रूपमा मोटरसाइकल तथा स्कुटर प्रयोग गर्ने लाखौं नेपालीका लागि हेलमेट स्वच्छता लामो समयदेखि बेवास्तामा परेको विषय हो । लगातार प्रयोगका कारण हेलमेटभित्र पसिना, धुलो, छालाबाट निस्कने तेल, ब्याक्टेरिया तथा फङ्गस जम्मा हुँदा दुर्गन्ध आउने, टाउको तथा छालासम्बन्धी समस्या देखिने र संक्रमणको जोखिम बढ्ने सम्भावना रहने विज्ञहरू बताउँछन् । यही समस्यालाई लक्षित गर्दै फ्रेशपोडले हेलमेटको भित्री भागलाई छिटो, सुरक्षित र प्रभावकारी रूपमा सफा गर्ने समाधान विकास गरेको हो ।
गैरे प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरेका अनुसार नेपालमा हेलमेट प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढिरहेको भए पनि यसको सरसफाइप्रति पर्याप्त ध्यान पुगेको छैन । यस्तो अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरमा सफल भएको प्रविधि नेपाली बजारमा ल्याइएको उनले बताए ।
उनका अनुसार मेसिनमा क्यूआर (QR) कोडमार्फत डिजिटल भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ । यसले ग्राहकलाई नगद बोक्नुपर्ने झन्झट हटाउनुका साथै सेवा प्रयोगलाई अझ सहज बनाउने विश्वास कम्पनीको छ ।
फ्रेशपोड मेसिनले करिब ५ मिनेटभित्र हेलमेटको भित्री भागमा रहेको धुलो, दुर्गन्ध र जीवाणु हटाउँदै स्यानिटाइज, डिओडोराइज तथा सुगन्धित बनाउने कम्पनीको दाबी छ । मेसिनमा उच्च क्षमताको एयर फ्लो, विशेष स्यानिटाइजिङ प्रणाली तथा सुगन्ध प्रविधि प्रयोग गरिएको छ, जसले हेलमेटलाई प्रयोगका लागि ताजा बनाउने बताइएको छ । कम्पनीका अनुसार मेडिकल ल्याब परीक्षणबाट प्रमाणित यस प्रविधिबाट स्यानिटाइज गरिएको हेलमेट करिब १५ दिनसम्म ताजा र दुर्गन्धरहित रहने दाबी गरिएको छ ।
यो सेवा विशेषगरी राइड–सेयर चालक, डेलिभरी राइडर, ट्राफिक तथा सुरक्षा निकायका कर्मचारी, मोटरसाइकल क्लबका सदस्य तथा दैनिक हेलमेट प्रयोग गर्ने सर्वसाधारणका लागि उपयोगी हुने कम्पनीको विश्वास छ । नियमित रूपमा हेलमेट सफा गर्दा दुर्गन्ध कम हुनुका साथै छालासम्बन्धी संक्रमणको जोखिम समेत घटाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
फ्रेशपोडले छोटो अवधिमै भारतसहित श्रीलंका र अफ्रिकाका विभिन्न मुलुकमा आफ्नो सेवा विस्तार गरिसकेको जनाएको छ । कम्पनीका अनुसार हालसम्म २०० भन्दा बढी मेसिन बिक्री भइसकेका छन् भने ५ लाखभन्दा बढी हेलमेट स्यानिटाइज गरिएका छन् ।
यस प्रविधिको औपचारिक उद्घाटन सन् २०२५ मे ४ मा भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले गरेका थिए । फ्रेशपोडले भारतमा गोल्ड मेडल प्राप्त गर्नुका साथै सर्बिया, थाइल्यान्ड, मलेसिया र चीनमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय इनोभेसन प्रदर्शनीहरूमा समेत सम्मान तथा अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।
गैरे प्रतिष्ठानका निर्देशक प्रवेशराज गैरेका अनुसार कम्पनीले आजदेखि नेपालमा औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको छ । आगामी दिनमा पेट्रोल पम्प, सपिङ कम्प्लेक्स, कलेज, अस्पताल, टू–ह्वीलर डिलर तथा सर्भिस सेन्टरमार्फत देशभर सेवा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।
कम्पनीका अनुसार हेलमेट स्यानिटाइजिङ मेसिनको मूल्य भ्याटसहित ५ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ । मेसिनमा एक वर्षको म्यानुफ्याक्चरिङ वारेन्टी उपलब्ध हुनेछ । यस्तै, एउटा हेलमेट स्यानिटाइज गर्न १७५ रुपैयाँ सेवा शुल्क तोकिएको कम्पनीले जनाएको छ ।
दुई पाङ्ग्रे सवारीको प्रयोग तीव्र रूपमा बढिरहेको नेपालमा हेलमेटको स्वच्छताप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सुरु गरिएको यो सेवा आगामी दिनमा हेलमेट मर्मत तथा सुरक्षा संस्कृतिमा नयाँ अभ्यासको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।