हिरो एक्सपल्स २१०: दैनिक कम्युटदेखि अफ-रोडसम्म उत्कृष्ट, तर यी कमजोरी पनि भेटिए
काठमाडौं । Hero MotoCorp ले नेपालमा आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल Hero Xpulse 210 आधिकारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले यसलाई रु. ५ लाख ९९ हजार को प्रारम्भिक मूल्यमा बिक्री सुरु गरेको हो ।
भक्तपुरको सल्लाघारीमा आयोजित "210 Xperience" कार्यक्रममार्फत सार्वजनिक गरिएको Xpulse 210 ले अफ-रोड ट्रेल, एड्भेन्चर राइडिङ तथा दैनिक प्रयोगका लागि आफूलाई सक्षम विकल्पका रूपमा प्रस्तुत गरेको छ ।
नेपालमा सार्वजनिक भएसँगै भारतमा गरिएको ३,६०० किलोमिटरको लङ-टर्म प्रयोग अनुभव ले पनि यस मोटरसाइकलका वास्तविक क्षमता र केही कमजोरीहरू उजागर गरेको छ ।
दैनिक प्रयोग र खराब सडकका लागि उत्कृष्ट
२१० सीसी लिक्विड-कुल्ड इन्जिनको दमदार प्रदर्शन
राजमार्गमा १०० किमि प्रतिघण्टासम्म सहज
माइलेज पनि सन्तोषजनक
अफ-रोड क्षमतामा अझै बलियो
आधुनिक फिचरले बनायो प्रिमियम
केही कमजोरी पनि देखिए
नेपाली बजारमा बलियो विकल्प
लङ-टर्म रिभ्युअनुसार Xpulse 210 को सबैभन्दा ठूलो विशेषता यसको लङ-ट्राभल सस्पेन्सन हो, जसले खराब सडक र खाल्डाखुल्डी सहजै पार गरिदिन्छ । आरामदायी राइडिङ पोजिसनका कारण लामो दूरीको यात्रा र दैनिक आवतजावत दुवै सहज अनुभव हुने बताइएको छ ।
Xpulse 210 मा रहेको २१० सीसी सिंगल सिलिन्डर, लिक्विड-कुल्ड, ४-भल्भ इन्जिन ले २४.६ बीएचपी पावर र २०.७ एनएम टर्क उत्पादन गर्छ । यसमा ६-स्पिड गियरबक्स उपलब्ध छ, जसले सहरभित्रको ट्राफिकदेखि राजमार्गसम्म सहज प्रदर्शन दिन्छ ।
रिभ्युमा इन्जिनको थ्रोटल रिस्पोन्स, स्मुथ पावर डेलिभरी र लो-स्पिड फ्लेक्सिबिलिटीको विशेष प्रशंसा गरिएको छ । छोटो गियरिङका कारण ट्राफिकमा दोस्रो वा तेस्रो गियरमै सहज रूपमा चलाउन सकिने उल्लेख गरिएको छ ।
लामो दूरीको यात्रामा मोटरसाइकलले करिब १०० किलोमिटर प्रतिघण्टाको गति मा सबैभन्दा सहज अनुभव दिने रिभ्युमा उल्लेख छ । त्यसभन्दा माथिको गतिमा भने छोटो गियरिङका कारण इन्जिनको आरपीएम धेरै हुने अनुभव गरिएको छ ।
प्रयोगकर्ताको अनुभवअनुसार Xpulse 210 ले राजमार्गमा करिब ३४ किलोमिटर प्रतिलिटर माइलेज दिएको छ भने सहरभित्र २७ देखि ३० किलोमिटर प्रतिलिटर सम्मको माइलेज प्राप्त भएको उल्लेख गरिएको छ ।
Hero ले Xpulse 210 लाई एड्भेन्चर र अफ-रोड केन्द्रित मोटरसाइकलका रूपमा विकास गरेको छ । यसमा अगाडि २१० मिमी ट्राभल भएको टेलिस्कोपिक फोर्क र पछाडि २०५ मिमी ट्राभल भएको मोनोसक दिइएको छ ।
साथै २१ इन्च अगाडिको र १८ इन्च पछाडिको स्पोक ह्वील, ब्लक-प्याटर्न ट्युब्ड टायर तथा डुअल-च्यानल ABS सहितका डिस्क ब्रेकले कठिन सडक र ट्रेलमा पनि राम्रो नियन्त्रण प्रदान गर्ने अपेक्षा गरिएको छ ।
Xpulse 210 मा फुल LED लाइटिङ सिस्टम, ४.२ इन्च TFT डिजिटल डिस्प्ले, स्मार्टफोन कनेक्टिभिटी, गियर पोजिसन इन्डिकेटर, टाकोमिटर तथा विभिन्न राइडिङ जानकारी उपलब्ध गराउने आधुनिक इन्स्ट्रुमेन्ट क्लस्टर समावेश गरिएको छ ।
लङ-टर्म प्रयोगका क्रममा केही कमजोरी पनि देखिएका छन् । रिभ्युअनुसार रेडियटर फ्यानबाट निस्कने तातो हावा चालकको बायाँ खुट्टामा महसुस हुन सक्छ ।
त्यसैगरी केही प्रयोगकर्ताले इन्जिनसँग सम्बन्धित Check Engine Light पटक–पटक बल्ने समस्या अनुभव गरेको उल्लेख गरेका छन् । यद्यपि परीक्षण गरिएको मोटरसाइकलमा गम्भीर मेकानिकल समस्या भने देखिएको छैन ।
अघिल्लो Xpulse 200 4V ले नेपालमा किफायती तथा भरपर्दो अफ-रोड मोटरसाइकलको पहिचान बनाएको थियो । नयाँ Xpulse 210 ले थप शक्तिशाली इन्जिन, आधुनिक प्रविधि र सुधारिएको कम्फर्टसँगै त्यो विरासतलाई अझ अगाडि बढाउने अपेक्षा गरिएको छ ।
दैनिक कम्युट, लामो दूरीको यात्रा तथा अफ-रोड एड्भेन्चर तीनै उद्देश्यका लागि एउटा बहुउपयोगी मोटरसाइकल खोजिरहेका नेपाली ग्राहकका लागि Hero Xpulse 210 आकर्षक विकल्प बन्न सक्ने देखिन्छ ।