Newad1
Featured blog image

लागत घटाउन होन्डाको नयाँ रणनीति, टाटा टेक्नोलोजिजसँग गाडी विकास

काठमाडौं । होन्डाले भारतीय बजारका लागि नयाँ गाडी विकास गर्न टाटा टेक्नोलोजिजसँग सहकार्य गर्दै लागत र समय घटाउने लक्ष्य राखेको छ । रोयटर्सले सम्बन्धित स्रोतलाई उद्धृत गर्दै विकास समय आधा र लागत २० प्रतिशतसम्म घटाउने योजना रहेको जनाएको छ ।

यस सहकार्यमा विकास भइरहेको पहिलो गाडी चार मिटरभन्दा छोटो एसयूभी हुने र सन् २०२८ मा ल्याउने लक्ष्य रहेको रिपोर्टमा उल्लेख छ । प्रविधि र गुणस्तरको निगरानी होन्डाले गर्नेछ ।

होन्डाले मूल्यअनुसार उपयोगी उत्पादनको छनोट पर्याप्त दिन नसकेको स्वीकार्दै भारतीय बजारका लागि आफ्नो प्रस्ताव पुनःनिर्धारण गरिरहेको बताएको छ । कम्पनीले गुणस्तर र मूल्यबीच सन्तुलन भएका गाडी ल्याउने जनाएको छ । तर आपूर्तिकर्ता छनोटमा जापानी र भारतीय व्यवस्थापनबीच मतभेद भएको रिपोर्टको दाबी भने अस्वीकार गरेको छ ।

यो कदम होन्डाको बाह्य स्रोत उपयोग गर्ने व्यापक रणनीतिसँग पनि जोडिन्छ । कम्पनीले यसअघि नै भारत र चीनका स्थानीय व्यवसायको लागत प्रतिस्पर्धा र काम गर्ने गति उपयोग गर्दै गाडी विकासलाई थप प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको थियो ।

footer