Newad1
Featured blog image

लक्जरी ईभी बजारमा होङछीको प्रवेश, ५८ लाखमै ईएचएस ४

काठमाडौं । नेपाली विद्युतीय सवारी बजारमा अर्को प्रतिष्ठित चिनियाँ ब्रान्डको प्रवेश भएको छ । आकर्षक बनावट, सुविधासम्पन्न क्याबिन र लामो रेन्जसहित आएको नयाँ मोडलले मध्यम मूल्यको प्रिमियम विद्युतीय एसयूभी बजारमा प्रतिस्पर्धा बढाउने देखिएको छ ।

विशाल ग्रुपअन्तर्गतको एड्भान्स अटोमोबाइल्स प्रालिले नाइमा मोबिलिटी एक्स्पोमार्फत होङछी ब्रान्डको ईएचएस ४ सार्वजनिक गरेको हो । यसको नियमित मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । एक्स्पो अवधिका लागि भने गाडी ५७ लाख ९९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

होङछी चीनको सरकारी स्वामित्वमा रहेको प्रतिष्ठित अटोमोबाइल ब्रान्ड हो । चिनियाँ राष्ट्रपतिसहित उच्चपदस्थ अधिकारीका औपचारिक सवारीमा समेत यही ब्रान्डका विशेष गाडी प्रयोग हुँदै आएका छन् । लक्जरी पहिचान बोकेको होङछीले ईएचएस ४ मार्फत नेपालमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेको हो ।

ईएचएस ४ मा १६० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ, जसले २४० न्युटन मिटर टर्क उत्पादन गर्छ । यसको ६७.१ किलोवाट आवर ब्याट्रीले डब्लूएलटीपी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ४६० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

आईपी ६७ मापदण्डको ब्याट्रीलाई डीसी द्रुत चार्जरबाट २० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने जनाइएको छ । लामो रेन्ज र छिटो चार्ज हुने क्षमताले यसलाई दैनिक सहरी प्रयोगसँगै लामो यात्राका लागि पनि उपयोगी बनाउने अपेक्षा गरिएको छ ।

गाडीको क्याबिनमा ८.८ इन्चको डिजिटल उपकरण पटल र १४.६ इन्चको केन्द्रीय टचस्क्रिन दिइएको छ । अगाडिका हावादार सिट, ६४ रङको परिवेश प्रकाश, ताप पम्प, स्वचालित तापक्रम नियन्त्रण, प्यानोरामिक सिसाको छाना र विद्युतीय पछाडिको ढोका यसका प्रमुख सुविधा हुन् ।

यसमा सामान्य अवस्थामा ३९३ लिटरको सामान राख्ने ठाउँ पाइन्छ । पछाडिको सिट पट्याउँदा उक्त क्षमता एक हजार ३०० लिटरसम्म विस्तार गर्न सकिन्छ ।

सुरक्षाका लागि ६ वटा एयरब्याग, चार क्यामेरामा आधारित चारैतर्फको दृश्य प्रणाली, एडप्टिभ क्रुज कन्ट्रोल, लेन सेन्टरिङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन किपिङ असिस्ट र स्वचालित आपत्कालीन ब्रेकिङलगायत सुविधा समावेश छन् ।

पछिल्लो समय नेपाली बजारमा ५० देखि ६० लाख रुपैयाँको विद्युतीय एसयूभी खण्डमा नयाँ मोडल थपिने क्रम तीव्र छ । यही मूल्य क्षेत्रमा लक्जरी पहिचान, ४६० किलोमिटरको दाबी गरिएको रेन्ज र आधुनिक सुरक्षा प्रविधिसहित आएको ईएचएस ४ ले होङछीका लागि नेपालमा छुट्टै ग्राहक आधार तयार गर्न सक्ने देखिन्छ ।

footer