नयाँ क्रेटादेखि सानो विद्युतीय एसयूभीसम्म, ह्युन्डाईको ठूलो योजना सार्वजनिक
काठमाडौं । नयाँ गाडी किन्ने योजना बनाइरहेका ग्राहकका लागि आगामी केही वर्ष निकै रोचक बन्ने संकेत देखिएको छ । विशेषगरी मध्यम मूल्य वर्गका एसयूभी रोज्ने ग्राहकलाई लक्षित गर्दै एक चर्चित कम्पनीले एकैपटक तीन फरक प्रकृतिका मोडल तयार गरिरहेको छ । यीमध्ये एउटा पूर्ण रूपमा नयाँ पुस्ताको हुनेछ भने अर्को दुई मोडलले नयाँ ग्राहक समूहलाई लक्षित गर्ने अपेक्षा गरिएको छ ।
भारतीय बजारमा प्रतिस्पर्धा झन् तीव्र बन्दै गएपछि ह्युन्डाई ले आफ्नो एसयूभी पोर्टफोलियोलाई व्यापक रूपमा पुनःसंरचना गर्ने तयारी गरेको हो । आगामी १२ देखि १८ महिनाभित्र कम्पनीले करिब १५ लाख भारतीय रुपैयाँभन्दा कम मूल्य दायरामा पर्ने तीन नयाँ एसयूभी सार्वजनिक गर्ने तयारी गरिरहेको विभिन्न भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सबैभन्दा धेरै चर्चा नयाँ पुस्ताको क्रेटा ले बटुलेको छ । कम्पनीले यसको सडक परीक्षण सुरु गरिसकेको बताइएको छ । सन् २०२७ तिर बजारमा आउने अपेक्षा गरिएको तेस्रो पुस्ताको क्रेटामा अहिलेको भन्दा बढी चौडा र बक्सी डिजाइन, ठाडो अगाडिको भाग तथा नयाँ अनुपातको बडी रहने जनाइएको छ । यसको लम्बाइ करिब साढे चार मिटर पुग्न सक्ने अनुमान गरिएको छ ।
नयाँ क्रेटामा कम्पनीको नयाँ प्लिओस अपरेटिङ प्रणाली प्रयोग गरिने चर्चा छ । यसमार्फत पूर्ण डिजिटल ड्यासबोर्ड, थप कनेक्टेड प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्समा आधारित भ्वाइस नियन्त्रण, ओभर-द-एयर सफ्टवेयर अपडेट तथा अझ उन्नत लेभल–२ चालक सहायता प्रणाली उपलब्ध हुने अपेक्षा गरिएको छ । इन्जिन विकल्पमा पेट्रोल, टर्बो पेट्रोल, डिजेल र पहिलोपटक स्ट्रङ हाइब्रिड प्रणाली समेत समावेश हुन सक्ने बताइएको छ ।
यससँगै कम्पनीले बेयोन नामक नयाँ क्रसओभर पनि भारतीय बजारका लागि तयार गरिरहेको छ । यो मोडल हालको भेन्यु र क्रेटाबीचको स्थानमा राखिनेछ । विदेशमा बिक्री भइरहेको यो मोडललाई भारतीय बजारअनुसार परिमार्जन गरेर ल्याउने तयारी भइरहेको जनाइएको छ ।
बेयोनमा स्प्लिट एलईडी बत्ती, फराकिलो अगाडिको ग्रिल, मस्कुलर ह्विल आर्च, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ठूलो इन्फोटेनमेन्ट स्क्रिन, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामेरा, लेभल–२ चालक सहायता प्रणाली, छवटा एयरब्याग र कनेक्टेड कार प्रविधि रहने अपेक्षा गरिएको छ । यसमा १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन विकल्प उपलब्ध हुने सम्भावना छ ।
तेस्रो मोडल भने कम्पनीको नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी हुनेछ । यो मोडल क्रेटा इलेक्ट्रिकभन्दा तलको सेग्मेन्टमा राखिनेछ र ठूलो ग्राहक वर्गलाई लक्षित गर्ने रणनीति देखिएको छ । स्थानीय उत्पादनका कारण यसको मूल्य प्रतिस्पर्धी रहने अपेक्षा गरिएको छ ।
यो विद्युतीय एसयूभीले एकपटकको पूर्ण चार्जमा ५०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने अनुमान गरिएको छ । साथै, फास्ट चार्जिङ प्रविधि, डिजिटल केबिन, कनेक्टेड सुविधा र आधुनिक सुरक्षा प्रणाली पनि यसमा समावेश हुने सम्भावना छ । बजारमा आएपछि यसले टाटा नेक्सन ईभी, महिन्द्रा एक्सयूभी थ्री एक्स ओ ईभी तथा मारुति सुजुकीका आगामी विद्युतीय मोडलसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
भारतीय बजारमा यी मोडल सार्वजनिक भएपछि नेपाली बजारमा पनि यसको प्रभाव देखिन सक्ने सम्भावना छ । विशेषगरी ह्युन्डाईका अधिकांश लोकप्रिय एसयूभी नेपालमा उपलब्ध रहेकाले नयाँ पुस्ताको क्रेटा, बेयोन तथा सानो विद्युतीय एसयूभीमध्ये केही मोडल भविष्यमा नेपाल आउने सम्भावना बलियो मानिएको छ । त्यसले नेपाली ग्राहकलाई पनि थप आधुनिक प्रविधि र नयाँ विकल्प उपलब्ध गराउन सक्छ ।
एसयूभी बजारमा विद्युतीकरण, स्मार्ट प्रविधि र सुरक्षालाई प्राथमिकता दिने विश्वव्यापी प्रवृत्तिबीच ह्युन्डाईको यो नयाँ रणनीतिले आगामी केही वर्ष भारतीय तथा नेपाली दुवै बजारमा प्रतिस्पर्धालाई थप रोचक बनाउने संकेत दिएको छ ।