Newad1
Featured blog image

उही लोकप्रिय भेन्यू, टर्बो इन्जिनसहित एन लाइन नेपाल आउँदै

काठमाडौँ । गाडी किन्दा धेरैको चाहना एउटै हुन्छ—दैनिक चलाउन सहज होस्, परिवारलाई पनि सुहाओस् र सडकमा देखिँदा अलि फरक पनि लागोस् । यही चाहनालाई ध्यानमा राखेर हुन्डाईले आफ्नो परिचित कम्प्याक्ट एसयूभीलाई थप स्पोर्टी पहिचानमा उतार्ने तयारी गरेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ जेनेरेशन हुन्डाई भेन्यू एन लाइनलाई नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा पहिलो पटक सार्वजनिक गर्ने भएको छ । नेपाली बजारमा रुचाइएको भेन्यूको यो संस्करण टर्बो पेट्रोल इन्जिन, फरक डिजाइन र आधुनिक सुरक्षा प्रविधिसहित आउनेछ ।


भेन्यू एन लाइन सामान्य संस्करणभन्दा बाहिरी रूपमै भिन्न देखिन्छ । यसमा डार्क क्रोम ग्रिल, एन लाइन ब्याज, रातो हाइलाइट भएको बम्पर, १७ इन्च डायमन्ड कट अलोय ह्विल, ट्विन–टिप एक्जस्ट र स्पोइलर दिइएको छ । क्वाड–बिम एलईडी हेडल्याम्प र एलईडी टेलल्याम्पले पनि यसको उपस्थितिलाई थप आकर्षक बनाउँछन् ।

भारतका लागि सार्वजनिक विवरणअनुसार यसमा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिन छ । उक्त इन्जिनले १२० पीएस पावर र १७२ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड म्यानुअल र ७ स्पिड डुअल क्लच ट्रान्समिसनको विकल्प छ । नेपालमा कुन भेरियन्ट र गियरबक्स ल्याइनेछ भन्ने जानकारी भने एक्स्पोसँगै खुल्ने अपेक्षा गरिएको छ ।

केबिनमा ब्ल्याक र रातो रङको संयोजन, एन ब्रान्डिङ भएको स्टेयरिङ ह्विल र गियर नब, स्पोर्टी सिट तथा मेटल पेडल दिइएको छ । टप भेरियन्टमा दुई १२.३ इन्च स्क्रिन, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, बोस अडियो, सनरुफ, भेन्टिलेटेड अगाडिका सिट तथा वायरलेस चार्जरजस्ता सुविधा छन् ।

सुरक्षामा छ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल–स्टार्ट असिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम र चारै चक्कामा डिस्क ब्रेक छन् । माथिल्लो भेरियन्टमा लेभल–२ एडास, फर्वार्ड कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ब्लाइन्ड स्पट वार्निङ, स्मार्ट क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामरा तथा रियर क्रस–ट्राफिक असिस्टजस्ता फिचर उपलब्ध छन् ।

भेन्यू नेपालमा केवल आयातित मोडलको रूपमा मात्र सीमित छैन । लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीको रामग्राम, परासीस्थित आफ्नो एसेम्बली प्लान्टमा भेन्यूको स्थानीय उत्पादन गर्दै आएको छ । नेपालकै पहिलो चारपांग्रे सवारी एसेम्बली उद्योगका रूपमा स्थापित उक्त प्लान्टबाट ‘मेड इन नेपाल’ भेन्यू उत्पादन सुरु भएको थियो ।

यही स्थानीय उत्पादन, हुन्डाईप्रतिको भरोसा र बिक्रीपछिको सेवा सञ्जालले भेन्यूलाई नेपाली ग्राहकबीच परिचित बनाएको छ । अब एन लाइनले त्यही नामभित्र थप स्टाइल, टर्बो पावर र उच्च प्रविधि खोज्ने ग्राहकलाई आकर्षित गर्ने देखिन्छ ।

विशेषगरी सहरमा सहज चलाउन मिल्ने तर देखिँदा सामान्य कम्प्याक्ट एसयूभीभन्दा फरक चाहने युवा व्यवसायी, नयाँ पुस्ताका ग्राहक तथा स्पोर्टी डिजाइन मन पराउने परिवारका लागि भेन्यू एन लाइन चासोको मोडल बन्न सक्छ । यसको मूल्य र नेपाली स्पेसिफिकेसन भने नाइमा एक्स्पोमा सार्वजनिक भएपछि मात्र स्पष्ट हुनेछ ।

footer