भारतको ईभी बजार अझै परिपक्व छैन: निसानको स्पष्ट सन्देश
काठमाडौं । विश्वभर विद्युतीय सवारीसाधनको प्रतिस्पर्धा तीव्र बन्दै गएको बेला जापानी अटो निर्माता निसानले भारतका लागि भने फरक रणनीति अपनाउने संकेत दिएको छ । विश्वकै पहिलो सफल मास–मार्केट विद्युतीय कारमध्ये एक निसान लिफ सार्वजनिक गरेर ईभी क्रान्तिको सुरुआती नेतृत्व गरेको कम्पनीले भारतीय बजार अझै पूर्ण रूपमा ईभीका लागि तयार नभएको निष्कर्ष निकाल्दै तत्काल विद्युतीय गाडी नल्याउने नीति लिएको हो ।
कम्पनीका अधिकारीहरूका अनुसार भारतमा अहिले ईभीबारे चर्चा बढे पनि बजारको वास्तविक अवस्था, ग्राहकको माग र आवश्यक पूर्वाधारलाई हेर्दा अझै केही वर्ष पर्खनु उपयुक्त हुने देखिएको छ । यही कारणले निसानले कम्तीमा सन् २०२८ सम्म भारतीय बजारको अवस्था नियाल्ने रणनीति बनाएको जनाएको छ ।
निसानको अफ्रिका, मध्यपूर्व, भारत, युरोप तथा ओसिनिया क्षेत्रका अध्यक्ष मासिमिलियानो मेसिनाका अनुसार कम्पनीसँग अत्याधुनिक ईभी प्रविधि तयार अवस्थामा भए पनि प्रविधि हुनु मात्रै पर्याप्त नहुने बताए । उनका अनुसार ग्राहकको माग, चार्जिङ पूर्वाधार, सरकारी नीति तथा व्यवसायिक सम्भावना सबै पक्ष परिपक्व भएपछि मात्रै सही समयमा ईभी सार्वजनिक गरिनेछ ।
उनको भनाइले अर्को महत्वपूर्ण प्रश्न पनि उठाएको छ । भारतमा अहिले देखिएको ईभी बिक्री वास्तवमै उपभोक्ताको स्वतः रोजाइ हो कि सरकारी नीतिको प्रभाव ? कम्पनीले यही विषयलाई गम्भीर रूपमा अध्ययन गरिरहेको जनाएको छ ।
निसानका प्रमुख कार्यसम्पादन अधिकारी गुइलाम कार्टियरका अनुसार भारतमा अहिले पनि करिब ९३ प्रतिशत सवारी बजार आन्तरिक दहन इन्जिनयुक्त गाडीले ओगटेको छ । विद्युतीय सवारीको हिस्सा करिब ६ प्रतिशत हाराहारी मात्रै रहेको अवस्थामा बजारलाई पूर्ण रूपमा ईभीतर्फ मोडिएको भन्न हतार हुने उनको तर्क छ । कम्पनीले विशेषगरी कर्पोरेट एभरेज फ्युल एफिसिएन्सी (काफे) जस्ता सरकारी मापदण्डले बिक्री बढाएको हो वा ग्राहकको वास्तविक मागले भन्ने विषयलाई प्राथमिकताका साथ विश्लेषण गरिरहेको छ ।
त्यसैले निसानको तत्कालीन लक्ष्य ईभी होइन, भारतमा आफ्नो उपस्थिति बलियो बनाउनु हो । कम्पनीले चालु आर्थिक वर्षभित्र चारवटा एसयूभी मोडलको लाइनअप तयार गर्ने योजना अघि बढाएको छ । भारतमा पहिलोपटक कार खरिद गर्ने ग्राहकको संख्या अझै ठूलो रहेकाले लोकप्रिय एसयूभी सेग्मेन्टमा बलियो स्थान बनाउनु दीर्घकालीन रणनीतिको हिस्सा भएको कम्पनीको विश्वास छ ।
यति मात्र होइन, भारतमा सीएनजी गाडीको बढ्दो मागलाई पनि निसानले अवसरका रूपमा हेरेको छ । कम्पनीले म्याग्नाइटलगायत केही मोडलमा आधिकारिक रेट्रोफिट सीएनजी किट उपलब्ध गराउन थालेको छ भने बीआर१० इन्जिन परिवारको करिब १० प्रतिशत बिक्री अहिले सीएनजी संस्करणले ओगट्न थालेको जनाएको छ । यसले भारतीय ग्राहक अझै कम सञ्चालन खर्च हुने विकल्प रोज्न इच्छुक रहेको संकेत दिएको कम्पनीको बुझाइ छ ।
विश्वका अन्य बजारमा भने निसानसँग हाइब्रिड, प्लग–इन हाइब्रिड तथा ई–पावरजस्ता आधुनिक प्रविधि उपलब्ध छन् । तर भारतीय बजारमा यी प्रविधिको लागत, मूल्य र प्रतिस्पर्धात्मक अवस्थाबारे कम्पनी अझै अध्ययनमै रहेको छ । विशेषगरी प्लग–इन हाइब्रिड प्रविधि महँगो पर्ने भएकाले त्यसलाई तत्काल भारतमा ल्याउने निर्णय भइसकेको छैन ।
निसानको यो रणनीतिले भारतीय अटो उद्योगमा एउटा फरक बहस सुरु गरेको छ । जब धेरै अन्तर्राष्ट्रिय कम्पनीहरू भारतमा नयाँ ईभी सार्वजनिक गर्न प्रतिस्पर्धा गरिरहेका छन्, त्यही बेला ईभी विकासमै अग्रणी मानिने कम्पनीले भने बजार अझै परिपक्व नभएको टिप्पणी गर्नु आफैंमा अर्थपूर्ण मानिएको छ ।
यसको प्रभाव नेपालमा पनि अप्रत्यक्ष रूपमा देखिन सक्छ । नेपालको अटो बजारमा आउने धेरै नयाँ मोडल भारतमार्फत वा भारतीय रणनीतिसँग जोडिएर आउने गरेका छन् । यदि निसानले भारतका लागि ईभी योजना केही वर्ष पछाडि सार्यो भने नेपाली ग्राहकले पनि कम्पनीका नयाँ विद्युतीय मोडल केही ढिलो पाउने सम्भावना रहन्छ । अर्कोतर्फ भारतमा एसयूभी, सीएनजी वा हाइब्रिड मोडल विस्तार भए त्यसको प्रभाव भविष्यमा नेपाली बजारमा पनि देखिन सक्ने अनुमान गरिएको छ ।
हालका लागि निसानले तीनवटा सम्भावना खुला राखेको छ— आफ्नै ईभी सार्वजनिक गर्ने, साझेदारीमार्फत बजारमा प्रवेश गर्ने वा नियामकीय आवश्यकता अनुसार वैकल्पिक रणनीति अपनाउने । तर कम्पनीको अहिलेको प्राथमिकता स्पष्ट छ— पहिले बजार बलियो बनाउने, त्यसपछि मात्रै भारतमा विद्युतीय सवारीको ठूलो खेलमा प्रवेश गर्ने ।