Newad1
Featured blog image

इनड्राइभका चालकले पाएको २० मिनेटको तालिममा के–के सिकाइयो?

काठमाडौं । राइड हेलिङ प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको अनलाइन सडक सुरक्षा तालिम १,५०० भन्दा बढी चालक साझेदारले पूरा गरेका छन् । तालिम पूरा गर्ने चालकलाई कम्पनीले डिजिटल प्रमाणपत्रसमेत उपलब्ध गराएको छ ।

मोबाइलबाट करिब २० मिनेटमा पूरा गर्न सकिने तालिममा सडक सुरक्षा, यात्रुसँगको व्यावसायिक व्यवहार र आपत्कालीन अवस्थामा अपनाउनुपर्ने प्रक्रियालाई समेटिएको छ । इनड्राइभका अनुसार चालकले नियमित कामबाट लामो समय छुट्याउनु नपर्ने गरी पाठ्यक्रम तयार गरिएको हो ।

तालिमलाई तीनवटा मुख्य मोड्युलमा विभाजन गरिएको छ । पहिलो मोड्युलमा प्लेटफर्म प्रयोग गर्दा पालना गर्नुपर्ने सुरक्षा तथा व्यावसायिक सीमा, दोस्रोमा राइड हेलिङ सेवासँग सम्बन्धित आधारभूत सडक सुरक्षा र रक्षात्मक ड्राइभिङ अभ्यास समेटिएका छन् ।

तेस्रो मोड्युलले दुर्घटना वा अन्य आपत्कालीन अवस्थामा अपनाउनुपर्ने प्रक्रिया, घटनाको रिपोर्टिङ र इनड्राइभ एपमा उपलब्ध एसओएस सुविधा प्रयोग गर्ने तरिका सिकाउँछ । बढी ट्राफिक हुने क्षेत्र, अपरिचित स्थान र यात्राका क्रममा उत्पन्न हुन सक्ने विभिन्न परिस्थितिमा चालकले अपनाउनुपर्ने सावधानीलाई पनि तालिममा समेटिएको कम्पनीले जनाएको छ ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईका अनुसार तालिमको उद्देश्य चालकलाई सडकमा अझ सचेत, आत्मविश्वासी र आपत्कालीन परिस्थितिका लागि तयार बनाउनु हो । कम्पनीले चालकको सुरक्षा र व्यावसायिक विकासलाई लक्षित गरी यस्ता प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

footer